बागलुङ जिल्लामा नत कोरोना घट्यो न चहलपहल

बागलुङ जिल्लामा नत कोरोना घट्यो न चहलपहल
२०७८ असार १८ गते शुक्रबार १२:५७

कोरोना संक्रमित २ सयभन्दा कम नभएसम्म जिल्ला तहमा निषेधाज्ञा लगाइरहने सिसिएमसीको निर्णय अनुसार बागलुङ बैसाख २१ गतेदेखि निरन्तर लकडाउनमा छ । जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने बाहना संख्यामै खोज्छ । बुधबारसम्म बागलुङमा २ सय...

कोरोना संक्रमित २ सयभन्दा कम नभएसम्म जिल्ला तहमा निषेधाज्ञा लगाइरहने सिसिएमसीको निर्णय अनुसार बागलुङ बैसाख २१ गतेदेखि निरन्तर लकडाउनमा छ । जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने बाहना संख्यामै खोज्छ ।
बुधबारसम्म बागलुङमा २ सय ६७ जना सक्रिय संक्रमित थिए । त्यो क्रम घट्नु पर्नेमा केही दिनदेखि फेरि उकालो लाग्ने क्रममा छ । सदरमुकामको खोलाखेत र खहरेमा पछिल्लो समय घर घरमा संक्रमित देखिएका छन् । तमानखोलामा पनि एक्काुस् संक्रमित बढेका छन् । स्वास्थ्यकर्मी समेत संक्रमणमा परेपछि फेरि जोखिम बढेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । तमानखोलामा मात्रै ४९ जना सक्रिय संक्रमित पुगेका छन् । संक्रमित अधिकांश बोङगादोभान बजारका छन् ।पछिल्लो समय कुनै गाउँ विशेषमा बढी संक्रमित देखिएका छन् । त्यसरी देखिनुमा आन्तरिक चहलपहल बढी हुनु प्रमुख कारण भएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताउनुभयो। ‘केही स्थानमा बाहिरबाट मानिस आएका पनि होलान्, तर आन्तरिक संक्रमण बढी छ,’ गुरौले भन्नुभयो, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नेभन्दा लापरवाहीगर्ने क्रम बढी छ ।’
मापदण्डमा बस्दा केही दिनमै संक्रमण शुन्य बनाउन सकिने उहाँले बताउनुभयो । ‘समूहमा संक्रमण देखिने र लक्षण सहितका कोरोना संक्रमित धेरै हुनुलाई बागलुङमा नयाँ प्रकारको भेटिएन्ट भएको अनुमान गर्न सकिन्छ,’ गुरौले भन्नुभयो ‘परीक्षण नगरिएकोले कुन ठाउँमा कुन भेरिएन्ट भन्ने यकिन छैन ।’ बिरामी हुने दर र संक्रमण छिटो भएको देखिंदा नयाँ भेरिएण्ट सक्रिय छन् भन्ने आधार भने देखिएको उहाँले बताउनुभयो ।सक्रिय संक्रमितमध्ये गलकोट नगर क्षेत्र, ढोरपाटन नगरपालिका , बागलुङकै विभिन्न वडामा पनि छन् । ताराखोला गाउँपालिका शुन्य संक्रमित भएको छ । तर गलकोट सिमानाका एक जना संक्रमित भएर गलकोटमै उपचाररत रहेको बताइएको छ । आन्तरिक चहलपहल भएका, बिबाह भोज लगायतका उत्सव मनाइएका स्थानमा संक्रमित बढेको भेटिएको स्वासथ्य शाखाका प्रमुखहरुले बताएका छन् ।
निशेधाज्ञा बढाए पनि सदरमुकाम लगायत जिल्लाका प्राय बजार क्षेत्रहरुमा बिहानै देखि चहल पहल बढि देखिन्छ । जसको कारण संक्रमण फैलने खतरा बढेको छ । अत्यावस्यक काम भने पनि जोसुकैले खुला रुपमा डुल्ने क्रम बढी छ । जोर बिजोर प्रणाली लागू भएको छैन । प्रहरीले चेक गर्दा अधिकांस पहुँचको भरमा सडकमा डुल्ने बढी भेटिएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । ‘अत्यावस्यक कामभन्दा निशेधाज्ञा तोडेको देखाउन खोज्नेहरु धेरै छन’ उहाँले भन्नुभयो, ‘कतिपयले नक्कली परिचयपत्र बनाउने र कामभन्दा घुम्न निस्कने गरेका छन् ।’ त्यस्ता क्रियाकलापले कोरोना संक्रमण फेरी बढ्ने खतरा झनै बढेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७८ असार १८ गते शुक्रबार १२:५७
प्रतिक्रिया दिनुहोस्