ट्राफिक प्रहरीले सवारी साधनमा टाँसिएका स्टीकर हटाउने काम सुरु गरेको छ । अव्यवस्थित रुपमा सवारीमा टाँसिएका स्टीकरका कारण दुर्घटना बढेको भन्दै प्रहरीले स्टीकर हटाउने अभियान थालेको हो ।
चालकको आँखाअघि पर्नेगरी राखिएका स्टीकर, माला, पोते लगायतका अनाश्यक बस्तुहरु हटाउन थालिएको ट्राफिक प्रहरी प्रमुख बद्रि शर्मा तिमिल्सिनाले बताए । ‘दुर्घटनका स–साना कारणहरु छन् तर हामीले त्यसको बेवास्ता गरिरहेका छौं’ उनले भने ‘स्टीकर, भुल्लरी जस्ता अनावश्यक बस्तुहरु सवारीमा हुनु पनि दुर्घटनाको कारण हुनसक्छन् ।’
साना–ठुला सबै सवारीमा सडक नै नदेखिने गरी टाँसिने स्टीकरहरुले चालकलाई सहज बनाउने उनको बुझाई छ । प्रहरीले चालक सुरक्षित रहेमा मात्रै दुर्घटनाको जोखिम कम हुने भन्दै अभियान चलाएको हो । चर्को आवाज दिने स्पिकरहरु समेत सवारी नराख्न अनुरोध गरिएको तिमिल्सनाले बताए ।
सवारी चालक अनुमतिपत्र बिना सावरी चलाउने र सवारीको नम्बर प्लेट स्पस्ट नदेखिने सवारीमा पनि कडाई गरेको ट्राफिक प्रहरी कार्यलय बागलुङका प्रमुख बद्रिनाथ शर्माले बताए । जिल्ला सदरमुकाम बागलुङ बजारमा ठूलो मालबाहक ट्रक, बस, ट्रिपर, ट्याक्टर, भ्यान जस्ता साधनहरुले मनपरी रुपमा पार्किङ गर्ने तथा रुट बिना सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि बजार क्षेत्रमा सक्रियता बढाएको छ । ट्राफिक प्रहरीको सक्रियताले दुर्घटना न्युनीकराण हुने भएकोले यसलाई निरन्तरता दिन स्थानीयले सुझाव दिएका छन् ।










