नगरको समपुरक कोषमा ७ लाख ५० हजार, वडागत वजेट २५ लाख मात्र...
ढोरपाटन नगरपालिकाको नवौं नगरसभाद्धारा आर्थिक वर्ष २०७८-०७९को नीति कार्यक्रम तथा बजेट पारित भएको छ ।
गत असार १० गते नगरप्रमुखले नगरसभामा पेश गरेको नीति कार्यक्रम र उपप्रमुख कर्मती पुनले पेश गर्नुभएको बजेट सभाबाट पारित गरिएको हो । वडा स्तरमा वडा समिति, नगर कार्यापालिकामा समेत छलफल गरि ल्याइएको नीति कार्यक्रम र बजेट आज पुनः दोस्रोपटक नगरसभामा पेश गरि छलफल गरिएको थियो । नगरसभा सदस्यहरुको आवश्यक परामर्श र छलफलबाट ढोरपाटन नगरपालिकाको ४४ करोड ६५ लाख १० हजार रुपैयाँ विभिन्न शीर्षकमा विनियोजन भई पारित भएको हो ।
नगरपालिकाका उपप्रमुख कर्मती पुनले सभामा पेश गर्नुभएको वजेट अनुसार, आय तर्फ संघीय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ रु. १० करोड, ३२ लाख, संघीय सरकारको राजश्व बाँडफाँड तर्फको रु. ८ करोड ७८ लाख ४ हजार, संघीय सरकारको सशर्त अनुदान तर्फको रु. २२ करोड ३८ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान १ करोड १६ लाख ६८ हजार, प्रदेश सरकारकै समपूरक अनुदान तर्फको ५० लाख रुपैयाँ, प्रदेश सरकारको सशर्त अनुदान ५० लाख रुपैयाँ र आन्तरिक श्रोत तर्फको ४० लाख गरि कुल ४४ करोड ६५ लाख १० हजार रुपैयाँ बजेट सभामा पेश गर्नुभएको हो ।
उक्त बजेट नगर कार्यपालिकामा भएको छलफल अनुसार उपप्रमुख पुनले सभामा पेश गर्नुभएको थियो । जस अनुसार संघीय सरकारको सशर्त अनुदान तर्फको रु. २२ करोड ३८ लाख वजेट सम्बन्धित ठाउँमा खर्च हुने भएकाले त्यसलाई चलाइएको छैन । यस्तै प्रदेश सरकारको सशर्त तर्फको ५० लाख रुपैयाँ पनि जस्ताको तस्ते पेश गरिएको छ । नगरपालिकाको चालु खर्चमा ७ करोड ५६ लाख ४५ हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ । नगर शिक्षा तर्फ रु. ३ करोड ९५ लाख ६५ हजार रुपैयाँ विनियोजन भएको छ । समपुरक अनुदानमा ५० लाख र वडागत बिनियोजन तर्फ ९ वटा वडामा २५ लाख रुपैयाँका दरले २ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यता नगरको समपुरक कोषमा एकमुष्ट ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पुनले बजेट पढेर सभामा सुनाउनुभएको थियो ।
नगरसभामा पेशगरिएको वजेट तथा नीति कार्यक्रम उपर नगरका वडा अध्यक्षहरु चित्रबहादुर भण्डारी, युवराज महत, हेमेन्द्र घर्तिमगर, तिलक पुन, लक्ष्मण पुन, जीवन पुन, दीपक थापा, नन्दे सुनार र हरीबहादुर घर्तिमगरले आफ्ना राय तथा धारणा राख्नुभएको थियो । नगरपालिकाले आफ्नो पद्धती, प्रणालीको विकास र अभ्यास गर्न नपाउँदै कार्यकाल सकिएको प्रति जिम्मेवार ढंगले समिक्षा गरिनुपर्ने उहाँहरुको साझा धारणा थियो । यस्तै वजेट वडामा कम जानुको कारण र समयमा नगरका विषयगत समितिका बैठकहरु नबस्नुका कारणहरु नगरसभा सदस्यहरुले जिज्ञासा र प्रश्नका रुपमा राख्नुभएको थियो ।
सभामा उठेका प्रश्नहरुको जवाफमा नगरप्रमुख देवकुमार नेपालीले, चालु आर्थिक वर्षमा कोरोनाका कारण संघीय सरकारको राजश्व बाँडफाँडबाट नगरपालिकामा आउनुपर्ने २ करोड वजेट नआएको र उक्त वजेट अनुसार सम्पन्न गरिएका योजनामा रकम भुक्तानी गर्नुपर्ने भएका कारण तथा करिव २ करोका थप नयाँ योजनाहरु निर्माणधिन अवस्थामा रहेकाले वडामा वजेट कम गएको स्पष्टकरण दिनुभयो ।
‘करिव ४ करोड बजेट व्यवस्थापनमा अहिले पेश गरिएको नगरको समपुरक वजेट करोड ५० लाखबाट मिलान गर्नुपर्ने बाध्यता भएको छ । नगरसभा सदस्यहरुले यसरी बुझ्न आग्रह गर्दछु ।’ नगर प्रमुख नेपालीले सभामा बताउनुभयो । बाँकी रहेको ३ करोड ५० लाख मध्ये यसपटक पनि राजश्व बाँडफाँडको बजेट नआउने सम्भावना मुल्याङ्कन गरेका छौं, वजेट आएछ भने कार्यपालिकाको निर्णयबाट नगरको विकासमा खर्च गर्ने प्रतिवद्धता जाहेर गर्दै नगरप्रमुख नेपालीले त्यसपछिको डेड करोड बजेटले नगरका विषयगत शाखाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नगर प्रमुख नेपालीको अध्यक्षता रहेको सभामा उपप्रमुख कर्मती पुन, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई, नगर कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु, विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा नवौं नगरसभा वजेट तथा नीति कार्यक्रम पारित गर्दै समापन भएको छ ।










