ढोरपाटन नगरपालिकाको नवौं नगरसभाद्धारा आर्थिक वर्ष २०७८-०७९मा सबैभन्दा बढी वजेट नगर शिक्षा तर्फ केन्द्रित गरिएको छ ।
नगरसभामा पेश भएको कुल वजेट रु. ४४ करोड ६५ लाख १० हजार रुपैयाँ विभिन्न शीर्षकमा विनियोजन गरिरहँदा नगर शिक्षा तर्फ झण्डै ४ करोड रुपैयाँ विनियोजन भएको छ । नगरको सशर्त अनुदान तर्फको रु. २२ करोड ३८ लाख रुपैयाँ जो धेरै वजेट रहेपछि त्यो संघीय सशर्तको वजेट हो । नगरले विनियोजन गर्नुपर्ने वजेट मध्ये, नगर शिक्षा तर्फ रु. ३ करोड ९५ लाख ६५ हजार रुपैयाँ विनियोजन भएको छ ।
यस्तै प्रदेश सरकारको सशर्त तर्फको ५० लाख रुपैयाँ पनि जस्ताको त्यस्तै पेश गरिएको छ । नगरपालिकाको चालु खर्चमा ७ करोड ५६ लाख ४५ हजार रुपैयाँ वजेट विनियोजन गरिएको छ ।समपुरक अनुदानमा ५० लाख र वडागत बिनियोजन तर्फ ९ वटा वडामा २५ लाख रुपैयाँका दरले २ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरको समपुरक कोषमा एकमुष्ट ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख पुनले बजेट पढेर सभामा सुनाउनुभएको थियो ।










