स्वास्थ्य मापदण्ड पालनामा कडाइ......
बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–२ स्थित खर्वाङ बजार क्षेत्रमा कोरोना संक्रमण अत्यधिक देखिएपछि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । सोही क्रममा प्रहरी चौकी खर्वाङले सोमबार मास्क नलगाई हिँड्ने १३ जनालाई कारबाही गरेको छ । प्रहरीले मास्क नलगाई हिँडडुल गर्नेलाई प्रतिव्यक्ति एकसय रुपैयाँका दरले जरिवाना गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना नगर्ने जो–कोहीलाई कारबाही गरिने प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी नायब निरीक्षक अनुप केसीले जानकारी दिनुभयो । यसअघि आइतबार बडिगाड गाउँपालिका–२ को कार्यालयले सरोकारवालासहितको बैठकबाट बजार क्षेत्र असार २७ गतेसम्म सिल गर्ने निर्णय गरेको थियो । त्यस्तै बडिगाड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य मापदण्ड पालना गराउन ध्यानाकर्षण गराएको जनाईएको छ ।
असार १७ गते संकलित स्वाबको पीसीआर परीक्षणमा ४६ जनालाई पोजिटिभ देखिएपछि वडा नम्बर २ लाई सिल गरिएको हो । पछिल्लो समय बाग्लुङ जिल्लाका विभिन्न पालिकाहरुमा कोराना संक्रमितको संख्या बढ्न थालेको छ ।










