पहिरोका कारण क्षति पुगेको कालिगण्डकी करिडोर मर्मत गरेर सवारी सूचारु गर्ने काम सुरु भएको छ । गत मंगलबार रातीको बर्षापछि पहिरो आएर अबरुद्ध भएको करिडोर सुचारु गराउन मर्मत थालिएको हो । बागलुङ नगरपालिका–१० एक्लेसालमा एउटै पहिरोले जिल्लाको दक्षिणभेग जोड्ने तीन वटा सडक क्षत्विच्छेद् बनाएको छ ।
कालिगण्डकी करिडोर, बागलुङ कुश्मीशेरा सडक र करिडोरको वैकल्पिक मार्गमा समेत बाढी र पहिरोका कारण ठुलो क्षति भएको छ । सडकमा पहिरोले क्षति पुगेपछि जिल्लाको दक्षिण क्षेत्र चार दिन देखि सडक सञ्जालबाट बिच्छेद भएको छ । करिडोरको बेस घटाएर तत्कालका लागि अस्थायी रुपमा सवारी सूचारु गर्नेगरी काम गर्न लगाईएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘सडकनै ठुलो खाडल पारेर बगाएको छ, तत्काल बन्ने अबस्थानै छैन्, अस्थायी रुपमा केही माटो फालेर भएपनी साना सवारी चल्ने बनाउन थालेका छौं,’ पौडेलले भन्नुभयो।
संघीय सडक डिभिजन कार्यालय बागलुङले स्काभेटरको प्रयोग गरेर सडक मर्मत थालेको हो । बागलुङ कुश्मीशेरा सडक भने तत्काल मर्मत गर्न सम्भव नरहेको पौडेलले बताउनुभयो । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नगरप्रमुख लगायतको समुहले पहिरोको अवलोकन गरेर विकल्पहरुको बिषयमा छलफल गरेको थियो । कहींकतै विकल्प नरहेकाले करिडोरनै मर्मत थालिएको हो । पुन पहिरो नआएमा एक दुई दिनमा सवारी सुचारु गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर शैलेन्द्र गौतमले बताउनुभयो ।
ढोरपाटन न्युज










