बाग्लुङ जिल्लाको गलकोटका दुई सामुदायिक विद्यालयद्वारा बस सेवा सञ्चालनमा ल्याएका छन् । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ अन्तरर्गत सामुदायिक विद्यालय सवलीकरणको निति अनुसार स्कुल बस सञ्चालनका लागि अनुदान उपलब्ध गराएपछि बस सेवा सञ्चालन भएको छ ।
गलकोट माध्यमिक विद्यालय गलकोट नगरपालिका वडा नं ३ हटिया र गलकोट नगरपालिका वडा नं ८ को जनजागृति माद्यमिक विद्यालयका लागि बस सेवा सञ्चालन गर्न २३ लाख ६० हजार अनुदान उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि बस सेवा शुभारम्भको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचाले उद्घाटन गर्नुभएको छ ।
बस सेवा शुभारम्भको अवसरमा बोल्दै नगरप्रमख भरत शर्मा गैरेले गलकोटमा पहिलोपटक सामुदायिक विद्यालयले बस सेवा सञ्चालन गरि शिक्षक सिकाई क्रियाकलापलाई सहजीकरण गरेको बताउनुभयो ।
गलकोटमा रहेका ६८ वटा सामुदायिक विद्यालय र ४३ वटा बालविकास केन्द्रलाई स्तरिकरण गरि शिक्षाको पहुँच बाहिर रहेका नागरिकहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि बस सेवा सञ्चालनको लागि नगरपालिका मार्फत अनुदान उपलब्ध गराएको उहाँले बताउनुभयो । गलकोट नगरपालिकाले उपलब्ध गराएको अनुदान गलकोटका सबै नागरिकको लगानी रहेकोले पारदर्शी र प्रभावकारी रुपमा कार्यन्वयन गर्न नगरप्रमुख गैरेले आग्रह गर्नुभयो ।
विद्यालयद्वारा सञ्चालित बस सेवा कसरी सञ्चालन भएको छ नगरप्रमुख गैरेले भन्नुभयो, त्यो सबै जानकारी आम नागरिकलाई गराई सु सूचित हुन पाउनुपर्ने नागरिकको अधिकार स्थापित गर्न आग्रह समेत गर्नुभयो । गलकोट नगरपालिकाका दुर दराजका क्षेत्रमा रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बस सेवा सञ्चालन भएकोले नगरको अनुदान कार्यक्रम कोषेढुङगा सावित हुने बताउनुभयो ।
उहाँले थोरै विद्यार्थीको अध्ययन अध्यापनलाई राज्यले ठुलो लगानी गर्नुपर्ने अवस्थ रहेकोले त्यस्ता क्षेत्रका विद्यार्थीलाई सहज रुपमा शिक्षा प्रदान गर्न बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जन जागृति माध्यमिक विद्यालय काँडेबासका अध्यक्ष बेदिलाल सापकोटाले नगरपालिकाले बस सञ्चालनका लागि अनुदान दिनु आफैमा सुखद योजना रहेको बताउदै नगरपालिका प्रति आभार व्यक्त गर्नुभयो । त्यस्तै गलकोट माध्यमिक विद्यालयका प्रध्यानाध्यपक देबेन्द्र बहादुर खत्रीले बस सेवा सञ्चालनका लागि नगरपालिकालाई आभार व्यक्त गर्दै चालु शैक्षिक वर्षका लागि गलकोट माध्यमिक विद्यालयले गल्याङ देखि हटिया र नरेठाँटि सम्म निशुल्क रुपमा सेवा दिने उद्घोष गर्नुभयो ।
उहाँले गलकोटको एक मात्र सामुदायिक क्याम्पस गलकोट बहुमुखी क्याम्पसलाई समेत अनुदान उपलब्ध गराई बस सेवा सञ्चालन गर्ने वातारण मिलाउन समेत नगरपालिकालाई आग्रह गर्नुभयो ।
रेडियो गलकोट बाट साभार










