चितुवाको आक्रमणबाट बागलुङको गलकोटमा एक युवा घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ८ कांडेवासका ३७ बर्षिय रविन दर्लामी घाइते भएको जनाईएको छ ।
छिमेकी ओमदत्तको खाली घरमा हलो लिन जाँदा चितुवाले दर्लामीलाई आक्रमण गरेको हो । घाइतेलाई हटिया स्थित आरोग्य अस्पतालमा उपचार गरिएको छ । उहाँको हात, खुट्टा र घाँटीमा चोट लागेको हटिया स्वास्थ्य चौकीका प्रहरी नायव निरिक्षक बाबुराम पुरीले बताउनुभयो ।
मान्छेलाई आक्रमण गर्ने घाईते चितुवा मरेको प्रहरीको भनाई छ । चितुवा त्यही खाली घरमा लुकेको आशँकामा खोजबिन गर्दा मानिसहरुलाई फेरी आक्रमण गरेपछि प्रतिरक्षाको लागि स्थानीय वासिन्दाहरुले ढुङ्गा मुढा गर्ने क्रममा चितुवाको मृत्यु भएको हो ।
चितुवा दर्लामीलाई आक्रमण गरेको स्थानदेखि ३ सय मिटर पूर्व तर्फ रहेको अलैँची खोलाको जुङ्गलमा भेटिएको थियो । दर्लामीलाई आक्रमण गरेपछि नेपाल प्रहरी, वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीय मानिसहरु त्यस क्षेत्रतर्फ पुग्नुभएको थियो ।










