बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–७ डाँडागाउँ हुँदै थामडाँडा जोड्ने पर्यटकीय पदमार्ग निमार्ण गरिएको छ । संघीय सरकार स्थानीय विकास पूर्वाधार कार्यक्रम मार्फत विनियोजित रकमबाट डाँडागाउँदेखि गाँवसम्म ४ सय ६५ मिटर पदमार्ग निमार्ण गरिएको हो ।
धार्मिक स्थल खड्ग जयन्ती कोट मन्दिर हुँदै पर्यटकीय क्षेत्र थामचौरलाई समेट्न गरी विनियोजित १० लाख रुपैयाँबाट पदमार्ग निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०७७÷ ०७८ मा विनियोजित रकमबाट पदमार्ग निर्माण गरि रकमसमेत निकाशा भएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
स्थानीय उपभोक्ता समितिले राम्रो काम गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जिल्ला समन्वय समितिका पदाधिकारीसहितको टिमले सो योजना अनुगमन गरेर आएको समेत बताउनुभयो । बर्खामा भलले बाटो भत्काइदिँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको थियो । ‘स्थानीयलाई हिड्न र विरामीलाई बोक्न बाटो अप्ठ्यारो भएको थियो,’ उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर खत्रीले भन्नुभयो, ‘अहिले पदमार्ग निर्माण भएपछि गाँव, माझखर्क, असारे, थाम जाने मान्छेलाई सहज भएको छ ।
‘हामीले शुरुवाती चरणमा डाडाँगाउँदेखि गाँवको चौतारासम्म पदमार्ग निर्माण गरेका छौं,’ ‘यस आर्थिक वर्ष पनि यस क्षेत्रबाट निर्वाचित सांसदहरुलाई भनेर बजेट पर्यो भने माथिसम्म लैजाने सोच बनाएका छौं, अध्यक्ष खत्रीले भन्नुभयो । पदमार्ग निमार्णपछि गाँवमा नवनिर्मित खड्ग जयन्ती कोट मन्दिर र थामचौर जाने आन्तरिक पर्यटकलाई पनि सहज हुने भएको छ । उकालो कच्ची बाटो हुँदा आन्तरिक पर्यटक गाडीमा जाने र आउने गर्दै आएका थिए ।
पालिकामा पदमार्ग, खड्ग जयन्ती कोट मन्दिर निर्माण र गाँव, छाप ‘एक घर, एक धारा’ खानेपानी योजनाले स्थानीयमा विकासको महशुस भएको छ । गण्डकी प्रदेश सरकार स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजित ८ लाख रुपैयाँले खड्ग जयन्ती मन्दिरको निर्माण, संघीय सरकार स्थानीय पूर्वाधार विकास मार्फत विनियोजित १० लाख रूपैयाँले पदमार्ग र अनुमानित ३ करोड रकमबाट ‘एक घर, एक धारा’ खानेपानी योजनाले स्थानीय खुसी भएका छन् । पदमार्ग, मन्दिर निर्माणको सकिए पनि खानेपानी योजना चलिरहेको छ ।
खानेपानी योजनाका अध्यक्ष डोरबहादुर खड्काका अनुसार ६० प्रतिशत काम सकिसकेकाले यस वर्षको हिउँदसम्म स्थानीयको घर–घरमा खाने पानी आउने छ । ‘अहिले वर्खाको समय भएकाले मिस्त्रीहरु बिदामा छन्, हिउँद महिना शुरु भएसँगै खानेपानीको धारा निर्माण गर्न शुरु गछौं र खानेपानी वितरण हुन्छ’ अध्यक्ष खड्काले भन्नुभयो ।
अहिले ‘एक घर, एक धारा’ खानेपानी योजना अन्तर्गत केही ट्याकी र धारा बनाउने काम बाँकी रहेको छ । मन्दिरलाई थप आकर्षक बनाउन स्थानीय युवाले आर्थिक अभियान सञ्चालन पनि गरेका छन् । आर्थिक अभियानका सदस्य लोकबहादुर केसीका अनुसार करिब ८ लाख रकम संकलन भइसकेको छ । गाँवमा गत वर्ष भूकम्प पुर्ननिर्माण प्राधिकरणबाट खड्ग जयन्ती आधारभूत विद्यालयको चार कोठे पक्की भवन निर्माण भएको थियो ।
स्रोत नयाँ विश्व










