अवैध गर्भधारण गरेर भु्रणहत्या गरेको आरोपमा बागलुङको जैमिनीबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी नगरपालिका वडा नं. १० राङखानीकी २६ वर्षीया युवतीलाई भु्रण हत्या गरी बारीमा गाडेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भु्रण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।
‘शनिबार दिउँसो स्थानीयवासीले देखेपछि बरेङ प्रहरी चौकीमा खबर गर्नुभयो, त्यहाँ प्रहरी पुग्दा रातो टालोमा भु्रण राखेर गाँडेको अवस्थामा थियो’, हवारीले भन्नुभयो, ‘स्थानीयवासीकै आशंका आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ ।’ ती महिलाका श्रीमान् तीन वर्षदेखि रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।
केही दिनदेखि असामान्य व्यवहार देखाएपछि छिमेकीले उनको निगरानी गरेका थिए । भु्रणहत्या गरेर घरमै बसेकी उनलाई प्रहरीले शनिबार राती नै सदरमुकाम ल्याएको छ । आइतबार बिहान उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धान थालिने हवारीले बताउनुभयो । उनले कसको गर्भपतन गराइन् भन्ने विषय खुलेको छैन ।










