घरेलु मदिरा खाएपछि गल्कोटमा चार जनाको मृत्यु,गम्भिर दुई जनालाई पोखरा पठाईयो

घरेलु मदिरा खाएपछि गल्कोटमा चार जनाको मृत्यु,गम्भिर दुई जनालाई पोखरा पठाईयो
२०७८ साउन ५ गते मङ्गलबार १२:३२

बागलुङ जिल्लाको गलकोटमा घरेलु मदिरा खाएका ४ जनाको मृत्यु भएको छ । दुई जना बिरामी छन् । गलकोट नगरपालिका–७ मल्ममा सोमबार राती घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा...

बागलुङ जिल्लाको गलकोटमा घरेलु मदिरा खाएका ४ जनाको मृत्यु भएको छ ।

दुई जना बिरामी छन् । गलकोट नगरपालिका–७ मल्ममा सोमबार राती घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी परेका थिए । उपचारको क्रममा धौलागिरी अस्पताल बागलुङमा चार जनाको मंगबालर बिहान साडे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका– ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दुधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

१४ जना मध्ये ६ जनाले गलकोट नगरपालिका ७ मल्मको किराना पसलमा ८ बोतल लोकल रक्सी, चाउचाउ, दालमोठ, बिस्कुट खाएर कोठामा गएपछि बिरामी परेको खवर आएको थियो । घटनाको बिषयमा थप अनुसन्धान हुने हवारीले बताउनुभयो । अन्य दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरेलले बताउनुभयो।

रोल्पा सुनिलस्मृति गाउँपालिका ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको उपचार भइरहेको छ । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।शैलेन्द्र बि पोखरेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस

विषाक्त मदिरा पिएर गम्भिर दुई जनालाई पोखरा पठाईयो

गलकोटमा विषाक्त मदिरा पिउँदा गम्भिर बिरामी परेका दुई जनालाई धौलागिरी अस्पताल बागलुङमा उपचार हुन नसकेपछि पोखरा पठाईएको छ । हिजो साँझ बिषाक्त मदिरा सेवन गरेका ६ जनामध्ये ४ जनाको आज बिहान मृत्यु भएको थियो । उपचारको क्रममा रहेका बाँकी दुई जनाको समेत बागलुङमा उपचार हुन नसकेपछि गण्डकी अस्पताल पोखरा पठाईएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताउनुभयो ।
जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने उनीहरुले सोमबार साँझ स्थानीय पसलबाट मदिरा, दालमोठ, चाउचाउ लगायत किनेर खाएका थिए । मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनलाई पोखरा पठाईको कार्कीले बताउनुभयो । अस्पतालका अनुसार उनीहरुको मृगौला र मुटुमा समस्या छ । बिरामीले निरन्तर बान्ता गरिरहेका छन् । उनीहरुको अबस्था गम्भिर छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चारै जनाई अस्पतालको शव गृहमा राखिएको छ । रोल्पामा रहेको परिवारलाई खवर भैसकेको कार्कीले बताउनुभयो  । उनीहरुको पोष्टमार्टम पछि परिवारलाई शव बुझाईने छ ।

 

प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार १२:३२
प्रतिक्रिया दिनुहोस्