पछिल्लो २४ घण्टामा बागलुङमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको आरटी पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एकै वडाका १५ जनासहित ६० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मध्ये ४७ जना पीसीआर र १३ जना एन्टिजीन बिधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । नारायणस्थानमा ३७ जनाको स्वाव परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले बताउनुभयो । ‘रुघा, खोकी र ज्वरोको समस्या छ भनेर खवर आयो, स्वास्थ्यचौकीले खवर गरेपछि जाँच गर्दा यतिधेरै संक्रमित भेटिए’ खनालले भन्नुभयो ‘सबैको अबस्था सामान्य रहेकाले होम आईसोलेसनमा हुनुहुन्छ ।’
संक्रमित मध्ये बागलुङ नगरपालिकाका ३७ जना, जैमिनी नगरपालिकामा ९ जना, बडिगाड गाउँपालिकामा ५ जना, काठेखोला गाउँपालिकामा ३ जना, निसीखोला गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना, ताराखोला गाउँपालिकामा १ जना र गलकोट नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैको अबस्था सामान्य रहेकाले होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो । मंगलबार नै जिल्लाका बिभिन्न कोभिड अस्पताल र होम आईसोलेसनबाट ६१ जना डिस्चार्ज भएका छन् । बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय ५१ रहेको छ ।










