डिएसपीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन
बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ७ को मल्ममा सोमवार साँझ घरेलु मदिरा पिएका मजदुर मध्ये एकको अबस्था अझै गम्भीर रहेको मणिपाल शिक्षण अस्पताल पोखराले जनाएको छ । ६ जनामध्ये चार जना मजदुरको मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेकोले धौलागिरि अस्पतालबाट पोखरा रिफर गरिएको थियो ।
सँगै मदिरा सेवन गरेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको छ । उपचाररत रहेका घर्तिको अवस्था सुधार भएपनि पुनको अबस्था अझै गम्भीर रहेको छ ।
गलकोट नगरपालिका वडा नं ७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो ।
अनुसन्धान गर्न समिति गठन
सोमबार राती भएको घटनाको छानबिन गर्न प्रहरी नायव उपरीक्षक ९डिएसपी० को नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीलाई घटनाको अनुसन्धानको जिम्मेबारी दिईएको छ ।
हवारीको नेतृत्वमा गठन भएका पाँच सदस्य रहेको प्रहरीको अनुसन्धान समुहले अनुसन्धान सुरु गरेको छ । बागलुङमा पहिलोपटक चार जनाको घरेलु मदिरा सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगरले बताउनुभयो ।
‘७ दिनको समय दिएर डिएसपीपको नेतृत्वमा अनुसन्धान टोली बनाएको छु’ उहाँले भन्नुभयो, मंगलबार नै घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । पल्ली मगरका अनुसार सोमबार अनुसन्धानको लागी गठन भएको उत्त टोली गलकोटको मल्लमा पुगेर फिर्ता भएको छ ।
मृतकका आफन्त बागलुङमा
घटनामा मृत्यु भएका ४ जना तथा उपचाररत २ जनाको परिवार तथा आफन्तजन आज बिहान बागलुङ आईपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उहाँका आफन्तहरु बगलुङ आईपुग्नुभएको छ, सूचना अधिकारी ईकवाल हवारीले भन्नुभयो, मृतकका आफ्न्तहरुको जाहेरी दर्ता गरेपछि पोष्टमार्टम हुन्छ । पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।
घरेलु मदिरा नष्ट, २ जना प्रहरी नियन्त्रणमा
घटनाको अनुसन्धानको क्रममा दुई जना पक्राउ परेका छन्, पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाल रहेको प्रहरीले जनाएको छ । उहाँहरुसँग अहिले सोधपुछ चलिरहेको र मजदुरले खाएका चाउचाउ, दालमोठ र मदिराका भाँडाहरु समेत बरामद गरेको पल्लीमगरले बताउनुभयो ।
घटनास्थलमा भेटिएको घरेलु मदिरा लगाएतका बस्तुहरु परिक्षणको लागी पठाईएको र पसलबाट २ सय ६० लिटर कच्चा पदार्थ सहित ५ लिटर तयारी तथा खरिद स्थानीय मदिरा उत्पादन गर्ने बलालको घरबाट ४ सय लिटर कच्चा तथा २० लिटर तयारी घरेलु मदिरा जनप्रतिनिधी तथा स्थानीयको रोहवरमा नष्ट गरिएको छ ।
मृतकहरुको मदिरा सेवनकै कारण ज्यान गएको भनिए पनि ‘फूड प्वाइजन’ समेत हुन सक्ने प्रहरीको अनुमान छ ।
स्रोत: रेडियो गलकोट










