
बागलुङ, ८ साउन– साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाईएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाईएको हो ।
उनीहरुलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत खानेपानी आयोजना मल्मले काजकिरिया खर्च उपलव्ध गराएको छ । ‘तत्कालका लागि काजकिरिया खर्च दिने सहमति भयो’ छलफलमा सहभागि चन्द्रबहादुर थापा ‘शिखर’ले भने ‘राहत होईन तत्कालिन खर्च दिईएको हो, खानेपानी उपभोक्ता समितिले व्यहोर्ने गरी तत्काल स्थानीयसँग भएको नगद उठाएर पठाएका छौं ।’
रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि पोष्टमार्टम गरेर शव परिवारको जिम्मा लगाईएको प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्लीमगरले बताए । साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा र चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको मंगलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भिर बिरामी मजदुरको पोखरास्थीत मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
मृतकका परिवारलाई प्रतिमृतक एक लाख रुपैयाँका दरले काजकिरिया खर्च उपलव्ध गराईएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यहरुले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताए ।
पोष्टमार्टमपछि भिसेरा र खाना तथा मदिरा विधि बिज्ञान प्रयोगशाला पठाईएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको बिषयमा थप छलफल हुने प्रहरीले जनाएको छ ।
स्रोत -ढोरपाटन न्युज










