
बागलुङ, ९ साउन– स्वास्थ्य संस्थाको क्षमता विकास गर्दै प्रसुती सेवा प्रभावकारी बनाउने ग्रामीण स्वास्थ्य सुधार परियोजना बागलुङका सबै पालिकामा लैजान माग गरिएको छ ।
फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले संचालन गरेको परियोजना मार्फत अपांगता र अन्य स्वास्थ्य क्षेत्रका कार्यक्रमसमेत चलाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । शुक्रबार भएको जिल्लाका सरोकारवालाको बैठकले सबै पालिकामा परियोजना संचालन गर्नुपर्ने सुझाव दिएका हुन् ।
सहयोगी संस्था फेयरमेडका पदाधिकारीसँग पनि साझेदार संस्था र सरोकारवालाले सबै पालिकामा परियोजना बिस्तार गर्न माग गरेका थिए । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा गर्भवती, प्रसुती र अन्य सेवाका लागि महिला तथा बालबालिकाको पहुँच विस्तार गर्ने लक्षले तीन वर्षदेखि पश्चिम बागलुङमा परियोजना संचालनमा छ ।
तीन वर्षअघि तीन पालिकाबाट सुरु भएको परियोजना अहिले ६ वटा पालिकामा पुगेको हो । पहिलो चरणमा ढोरपाटन नगरपालिका, तमान र निसीखोला गाउँपालिकाबाट विस्तार गरेर बडिगाड र बरेङ गाउँपालिका तथा गलकोट नगरपालिकामा यो परियोजना संचालनमा छ ।
सरोकारवालाले सदरमुकाम बागलुङ नगरपालिका सहित काठेखोला र ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकामा पनि परियोजना विस्तारका लागि आग्रह गरेका हुन् । परियोजना संचालन भएका सबै पालिकामा बर्थिङ सेन्टर स्थापनाका लागि परियोजनाले सहयोग गरेको छ । त्यस्तै स्वास्थ्य चौकीभित्र ल्याब स्थापना गर्ने, शिशु जन्मेपछि न्यानो पार्ने मेसिन, सुत्केरी गराउनका लागि चाहिने उपकरण तथा सामाग्री निर्मलीकरण गर्ने मेसिनसहित केही दक्ष प्राविधिक राख्ने काममा समेत परियोजनाले सहयोग गर्दै आएको व्यवस्थापक गणेश बरुवालले बताउनुभयो ।
परियोजनाले अपांगतासहित पोषण र स्वास्थ्यका अन्य सूचकमा पनि काम गर्ने तयारी गरेको छ । ‘हामीले सबैको सुझावबाटै कामको क्षेत्र पनि बढाउने योजना बनाएका छौं’ बिवाइसीका अध्यक्ष मणभद्र शर्माले भन्नुभयो, ‘यो नितान्त आवस्यकताको आधारमा गरिने काम हो ।’ डोनरले पैसा दियो भनेर गरिने काम नभएकोले प्रभावकारिता समेत भएको उहाँले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बागलुङको स्वास्थ्य सुधारको क्षेत्रमा अझै धेरै लगानी र खोजी आवस्यक भएकोले यस्ता परियोजनाको आवस्यकता परेको बताउनुभएको थियो । विवाइसीका अध्यक्ष मणीभद्र शर्माको अध्यक्षता, सचिव दिपक गौतमको संचालन र कोषाध्यक्ष गंगाकुमारी शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा परियोजनाकी कार्यक्रम अधिकृत जानकी पाठक, गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, पत्रकार दिल शिरीष, नविन शिशिर बिक, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख देवप्रकाश घिमिरे, अपांग सरोकार केन्द्रकी अध्यक्ष चिजा थापा, धौलागिरि अस्पतालका प्रतिनिधि शिव केसी लागयतले स्वास्थ्य सुधार परियोजना संचालनका लागि आवस्यकता औल्याएको बताईएको छ ।
स्रोत- ढोरपाटन न्युज










