स्वास्थ्य चौकी भवन निर्माणलाई लिएर स्थानीयबीच मत बाझियो

बागलुङको बडिगाड गाउँपालिका–७ मा स्वास्थ्य चौकी भवन निर्माणलाई लिएर स्थानीयबीच मत बाझिएको छ । साविक भिमगिठे गाउँविकास समितिलाई केन्द्रमा राखेर बनेको भीमगिठे स्वास्थ्य चौकीको भवन बन्ने प्रक्रियामा गएपछि स्थानीयबीच मत बाझिएको हो ।
संघीय संरचना अनुसार गाँव, गैरागाउँ, जेल पात्ले, असारे माझखर्क, सैरेनी, नौलाखर्क, टुनिबोट भीमगिठे दोबाटालाई केन्द्रमा राखेर बडिगाड–७ को गैरागाउँमा स्वास्थ्य चौकीको भवन बन्नुपर्ने भन्दै स्थानीयले संघर्षसमिति गठन गरेका छन् ।
बडिगाड ७ को केन्द्र गैरागाउँ हुने भएकाले जग्गा व्यवस्थापन आफूहरुले गर्ने र स्वास्थ्य चौकी भवन सोही ठाउँमा बन्नुपर्ने भन्दै गंगा गुरुङको अध्यक्षतामा १३ सदस्यीय संघर्ष समिति शनिबार गठन गरिएको छ । जसको उपाध्यक्षमा दुर्गाराज पाइजा, सचिव भीम बुढा, सह–सचिव दिनेश शर्मा, कोषाध्यक्ष तिलबहादुर खत्री, सदस्य, दिपेन्द्र पुन, तिलक शर्मा, जीवबहादुर खत्री, लालबहादुर कुवँर, गिरिमा गुरुङ, शान्ति कुवँर, शान्ति गुरुङ र सेरबहादुर गुरुङ रहेका छन् ।
संघर्ष समितिले स्वास्थ्य चौकी भवन निर्माणका लागि चन्दा संकलन गरि जग्गा व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ । सबैलाई समेट्ने गरि भीमगिठेमा भएको स्वास्थ्य चौकी स्थानान्तरण गर्नुपर्ने संघर्ष समितका अध्यक्ष गंगा गुरुङले बताउनुभयो । भीमगिठे गाउँविकास समितिका कारण सबैलाई सेन्टर भीमगिठे भएपनि अहिले बडिगाड ७ को केन्द्र गैरागाउँ भएकाले सोही ठाउँमा स्वास्थ्य चौकी रहनुपर्ने कोषाध्यक्ष तिलबहादुर खत्रीले जानकारी दिनुभयो ।
तल्लो बस्तीका स्थानीयले भीमगिठेमै स्वास्थ्य चौकी भवनका लागि जग्गा व्यवस्थापन भएकाले त्यही नै बन्नुपर्ने अडान राख्दै आएका छन् ।
स्रोत – नयाँ विश्व










