राष्ट्रिय सभा सदस्य शान्ति अधिकारी जिसीले बागलुङ पश्चिमलाई छुट्टै जिल्ला बनाउन माग गर्नुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा सदस्य अधिकारीले बागलुङ जिल्लाको पश्चिम क्षेत्र विकास निर्माणमा सधैँ उपेक्षामा परेको भन्दै छुट्टै जिल्ला बनाउन माग गर्नुभएको हो ।
राष्ट्रिय सभा सदस्य अधिकारीले बागलुङका जनताले पीडा बोध गरिरहेका छन् । सरकारको अवस्था फेरिपनि जनताको अवस्था फेरिएको छैन । विकास र समृद्धितर्फ सधैँ उपेक्षा पार्न खोजिनु राम्रो पक्ष नभएको भन्दै पश्चिम बागलुङका जनताको मनोभावना समेत भिन्नै जिल्ला बनाउने रहेको भन्दै तत्काल यस विषयमा ध्यानाकर्षण होस भन्नुभएको थियो ।
राष्ट्रिय पन्चायतमासमेत जनताले छुट्टै जिल्ला माग गरेको कुरा स्मरण गराउँदै अधिकारीले, अहिले सरकारले संविधान संशोधन गरेर भएपनि छुट्टै जिल्ला घोषणा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
राज्य पुनःसंरचना हुनेबेला समेत बागलुङलाई भिन्ना भिन्नै जिल्ला बनाउने कुरा उठेको थियो । लुम्बीनी प्रदेशसँग जोडने विषयमा यहाँ स्थित राजनैतिक पार्टिमा आन्तरिक बुझाइको एकरुपता नभएपछि भिन्नै जिल्ला बनाउने र नबनाउने दुई पक्षको दुईथरी आन्दोलन समेत भएको थियो । जिल्ला केन्द्रित सबै राजनीतिक दलहरुले सिंगो बागलुङ बनाउने एजेण्डा अघि सारेका थिए भने पश्चिम क्षेत्रमा रहेका एमाले र माओवादीका केही नेताहरुले भिन्नै जिल्लाकोे माग गरेका थिए ।
पछिल्लो समय पश्चिम क्षेत्रलाई भिन्नै जिल्ला बनाउने विषयमा यहाँ स्थित नेपाली काँग्रेसले समेत पार्टि निर्णय गरेको जनाएको छ । अन्यदलबाट समेत यो एजेण्डामा सहमति भएपछि, भिन्नै जिल्ला हुने सम्भावना समेत रहेको देखिन्छ ।










