बागलुङको मसाल उठोस्

बागलुङको मसाल उठोस्

अल्पविराम

@समय नेपाल

२०७८ साउन १४ गते बिहिबार ०९:०४

नेकपा मसालको आठौं महाधिवेशनअघि देखिएको दुईलाईन संघर्ष र छलफल अन्ततः महाधिवेशन पछि मसाल आफैलाई संकटमा गुज्रेको छ । तत्कालिन समयमा बागलुङले समेत बहुमत पक्षको प्रतिनिधिमुलक अपेक्षामा यहाँको अल्पमत पक्षमा रहेको कर्मठ सहकर्मीहरुलाई...

नेकपा मसालको आठौं महाधिवेशनअघि देखिएको दुईलाईन संघर्ष र छलफल अन्ततः महाधिवेशन पछि मसाल आफैलाई संकटमा गुज्रेको छ । तत्कालिन समयमा बागलुङले समेत बहुमत पक्षको प्रतिनिधिमुलक अपेक्षामा यहाँको अल्पमत पक्षमा रहेको कर्मठ सहकर्मीहरुलाई दवाएर आफ्नो कर्म अघि सारेको हो ।

बागलुङमा मात्र होईन । देशभर मसालको नेतृत्व एकातिर छ । पार्टिको जनाधार र लोकप्रिय नेता कार्यकर्ता अर्कातिर छन । पार्टि सत्ताले जसरी प्रचार गरेपनि भूईतहमा परिवेश बेग्लैछ । फरक छ । सत्य बोल्न, भन्न र छलफल गर्न नसकेको नेतृत्वतहको आडम्बरीपनाले मसालभित्र सल्केको भुसको आगो मथ्थर भएको छैन । जनमत भाँडिएको छ ।

पार्टिका कार्यकर्ता एकातिर हुँदापनि वर्तमान नेतृत्वतहका कुरा एउटै छन् । उनका मुखमा पूर्व मसालमा रहेका रामसिंह, डिलाराम, परि थापा, नवराजहरुको गतिलो उदाहरण लिने र आत्मरति लिने गज्जवको संस्कार बल्झेको देखिन्छ । पार्टि नेताहरुको लेख, तिनका समर्थक केही आसपासमा घुम्नेहरुको सामाजिक सञ्जालका कथनी र टिप्पणी यतिसम्म सस्ताखालका छन् । हिजो यिनै अलग गरिएका नेता कार्यकर्ताहरको कर्मले यो जगमा छौं भन्ने भुलेर तल्लो दर्जाका कुतर्कहरु बर्साइएका हुन्छन् । यस्तो लाग्छ, उनीहरु मरेर गएका हुन्। कहिल्यै बोल्दैनन् र फर्कदैनन् ।

प्राविधिक रुपले नेतृत्वको जग हल्लिरहेको पनि छ । मान्छे न हो, सत्य सजिलै कहाँ स्वीकार गर्छ र ? त्यो पनि मसालको पार्टि संस्कारमा छिट्टै गल्ती स्वीकार गर्ने परम्परापनि त छैन । अवस्था यसरी नै विस्तारित हुँदैजाँदा, त्यसको असर तल्ला कमिटि र पार्टिका भुईतहका कार्यकर्ताको मनोवल गिराउने कामहरु अझैपनि रोकिएको छैन । महाधिवेशनका बेला प्राविधिक पक्ष मिलान गर्न रचिएको अर्थपूर्ण दमन र त्यसको पदचाप अहिलेपछि धङधङीका रुपमा जारि छ । अन्तरकलह पक्ष विपक्षी दुवैमा नराम्रो गरि झाँगिएको छ । एक पक्षले अर्को पक्षलाई होच्याउने, गालि गर्ने, तर्क कुतर्कहरु गर्ने, आलोचना गर्ने सबै छताछुल्ल छ । यहाँ एक आपसमा कसैले फरक कुरा गर्यो वा राख्यो भने त्यसलाई पार्टि अनुसाशन नमानेको र अराजकताको विल्ला भिराइन्छ । पार्टि नेतृत्वको तर्फबाट कार्यकर्तालाई प्रदान गरिएको उपहार कार्वाही र निष्कासन भइगुज्रेको कुरा हो । यो पार्टि सत्ताको चरम दुरुपयोग पनि हो । नियम यस्तै हुन्छ । सत्ता जस्को हुन्छ त्यसले राजकाज गर्छ । डण्डा जस्को हातमा छ, त्यसले फूल त बर्साउँदैन । भएको यत्ति हो ।

विधि, पद्धति र प्रणाली भनेको बुर्जुवाहरुले आफ्नो सत्ता टिकाउने कानून, प्रशासन, पुलिस र सेनाको जस्तो मनोवृत्तिमा प्रगतिशील विचार स्वीकार्नेहरुमा यसरी आफन्ैहरुप्रति गरिएको अन्यायपूर्ण व्यवहार आफैमा गलत हुन्छ । विचारको स्वच्छ र सकरात्मक बहश हुनुपर्दछ । पार्टिका क्याडर, नेता, कार्यकर्ता र समर्थकहरुले सहानुभूति प्राप्त गर्ने विचार, स्वभाव र चरित्र नेतृत्वमा हुनुपर्दछ । विचारमा अनेकता, विधि र नीतिको कार्यन्वयनमा एकता संगठनात्मक पद्धतिको विकल्प हुनुहुँदैन । पदका लागि, नेतृत्नमा पुग्नका लागि वा पार्टि सत्तामा रजाई गर्नका लागि आफ्ना कार्यकर्तालाई फाल्ने, तल झार्ने, गिराउने, तुच्छ व्यवहार गर्ने, बेभिचार राख्ने, धरपकड गर्ने, गालीगलौज गर्ने, होच्याउने, पिराउने रु यो कस्तो संस्कार हो । यस्ता व्यवहार गर्नेहरु प्रगतिवादी हुन्छन् । बर्गिय मायाँ भनेको यस्लाई हो ? समानताका पक्षपातिहरुको तरिका हो यो ? आज मसालमा अहंकारवादी जड पैदा भएको छ । जहाँ एकले अर्कालाई देखिसक्दैन । कसैले कसैलाई इज्जत गर्ने क्षमता छैन । के सत्य यही होईन ? यो समस्या छैन । ढाकेर, लुकाएर, छिपाएर राखेको दुर्गन्ध गन्हाएको छैन नेतृत्वमा रहेका नेताहरुलाई ? नराम्रोलाई नराम्रो भन्दा अनुसाशन हिनहुन्छ ? गल्तीलाई गल्ती भयो भनिदिंदा उनीहरु विराना हुन्छन् । पराई हुनुपर्दछ ? यदी त्यसो हो भने जडसुत्र हामीमा पालिएको छ । यसको अप्रेशन नभएसम्म रोग सन्चो हुनेवाला छैन ।

मसालको पार्टि नेतृत्वबाट कार्यकर्तामाथि हस्तक्षेपकारी भूमिका अवलम्बन गर्नु कुनैपनि हालतमा जग हल्लाउने अकरमण्यता मात्र हो । आज हिम्मत गरौं न हिजो के के गल्ती कमजोरी गरियो र यो अवस्था आयो भनेर । यही परिपाटिले उर्जावान कार्यकर्तालाई अधिवेशनमा होच्याइयो । विचारका आधारमा सामान्य भन्दा सामान्य नेतृत्वमा रहन छेकथुनका विधि अवलम्बन गरियो । यो त सत्य हो नि ? लाजले आरोप भनेर भाग्ने कर्म जो जो आज नेतृत्वमा हुनुहुन्छ ? तपाइहरुलाई छैन । मानमर्दन गर्ने, ईज्जत दिने तपाइहरुको कर्ममा भरपर्दछ । एकहोरो अगतिलो व्यवहार देख्तादेख्दै लाटाले पापा हेरेझै हेरेर विग्रेको निष्ठा ढाकेर राखिदिने रैति व्यवस्थामा विरोधीपनि हौं । त्यसो हुँदा बोल्छौं । बोल्दा लखेट, लखेटिएकै छौं । गाली व्यइज्यतीदेखि, दुव्र्यबहार, हातपात समेत रहेका छौं । यसखालको प्राविधिक वायोसनेशले पार्टिको गतिविधि आज तल पुर्यायो । कहीं हस्तक्षेपकारी नीति अवलम्बन गरि केन्द्रको बहुमत पक्षको नीति कार्यक्रमलाई जिल्ला र स्थानीय स्तरसम्म सफल पार्न खोज्दा पार्टिले आज आन्तरिक बेहाल बेहोर्नुपरेको छ ।

बागलुङका हिजो लामलागेका सयौं कार्यकर्तालाई शिथिल अवस्थामा पुरयाएको पार्टि नेतृत्व र संगठनले समिक्षा गर्न भ्याएन । एकहोरो आफ्नो जिद्धिपन र लौरो टक्टक्याएर कार्यकर्ता तर्साउने गतिविधिमा उद्यत भयो । यो आरोप होइन । सत्य भूँइतहमा झरेर हेर । आफै थाहा पाउनेछौं । थाहा पनि छ तर बोल्न भएको छैन । कर्तुत त आफैले गरेको हो ? आजै सहज रुपमा किन स्वीकार गर्ने मनलाजले काम गरेको छ । पार्टिका नेता र कार्यकर्ताबीच आज आत्मियता छैन । मिलती छैन । सद्भाव, सहयोग र सम्मानपूर्ण अवस्थामा दरार पैदा गर्ने संस्कारको कस्ले जन्माएको ? आत्मगलानी हुन्छ त त्यो अधर्मी कर्मको ? ठाउँठाउँमा गाली गलौज र अपमान नेताले र नेताका आसोपासेबाट वाहिरएका कार्यकर्ताले सहनुपर्ने वातावरण कस्ले मिलाउने ? जिम्मेवारी कस्को हो ? अनुसाशनको डण्डा र कपोलकल्पित कार्वाहीको बमवर्ष आफ्नै घरमा गरिदिएपछि पार्टि जीवन बलियो हुन्छ ? विचारको बहश हुनदेउ, छलफल गर, सयौं फूलहरु फूल्न देउ आदर्श नेता माओले त यही सिकाएका थिए । विषयको बहशमा भइरहेको छलफलबाट निश्कर्षमा नपुग्नसम्म तर्क वितर्क हुनु द्धन्द्धवादी पद्धति हो । त्यसलाई आजै मेट्ने र कही कुराकानी भइहाल्यो भने, पार्टि समाप्त हुन्छ भन्नु बेइमान कुतर्क मात्र हो । तर्क बशहको व्यवस्थापनले पार्टिमा नयाँ जीवन आउँछ । यो भनिरहँदा अहिले पार्टि सत्तामा हुनेलाई रिस उठ्ला, त्यसको परिणाम त अर्कालाई गाली गरेर परिपूर्ति हुनेवाला छैन ।

पार्टि कार्यकर्ताको अनुशासन, पार्टिको विधि र पद्धति भनेको लादेर वा गोदेर उसको मनोवल गिर्नेगरि सबैठाउँबाट हस्तक्षेपकारी हैकमबाट सामान्यजस्यता हुने कुरा होईन । यदि त्यो विधि उत्तम हो भने गरेर देख्यौ नि फरक के के ल्यायौं देखाओ ? अव प्रश्न गर्न परेन ? काम, व्यवहार र जिम्मेवारीमा एकरुपता, सहकार्य र सहज वातावरण तयार पर्नु संगठनात्मक प्रणालीकाृ महत्वपूर्ण कुरा हो । प्राविधिक हिसावले बहुमत बनाएर थुपै्र कार्यकर्ताको मनोबल गिराउँदै हठ्का भरमा गरिएको विधि पद्धति र प्रणाली लागू गर्नपनि सकिंदैन । बलपूर्वक गरिएको निर्णय पालना हुन नसक्ने देखिएपछि एक कदम पछि हटेर भएपनि कार्यकर्ता र जनताको साथमा आउनुको विकल्प नेतृत्वमा हुँदैन ।

बागलुङ जिल्ला मसालको महत्वपूर्ण जग र जनमत भएको स्थान हो । जहाँ पार्टिको महाधिवेशन र जिल्ला तथा स्थानीय स्तरका समितिहरु गठन पुनरगठनमा देखाइएका बहुमत पक्ष र अल्पमत पक्षबीचको आ-आफ्नै रवाफका कारण साँगठनिक स्वरुप र गतिविधिहरु धूलोपीठो भएका छन् । तरपनि नेतृत्वले त्यो कुरा स्वीकार गर्न मान्दैन । त्यो उसको खाटि गल्ती र कमजोरी छ । कसैलाई परचर्की देखेपछि, उसलेपनि त्यही व्यवहार देखाउँछ । कामरेडहरु । कसैले अगतिलो काम व्यवहारको स्यावासी दिनेवाला छैन । रगत पसिना सबैको मिसिएको ठाउँ हो र त्यो जगमा रजाई गर्न पाइएको छ । पितृसम्पत्ति होईन जो जो आज छ त्यसको मात्र भोकाधिकार र हक लाग्ने ?

सयौं कार्यकर्ता नेतृत्वको हठ, अनुसाशनका नाममा बैठाइएको कोर्रा र कार्यकर्ताको मनोभावनमा नेतृत्वबाट भएको दमनकारी शैली शैह्य छैन । यो कुरा बाहिर ल्याउन पार्टिका कार्यकर्ताको अनुसाशन भन्ने अन्तरकथाले नदिएको भनिएपनि, घरभित्र दन्किएको आगोको रापले वर्तमान नेतृत्वलाई जलाएकै छ । पोलेकै छ । नेता जस्ता नेता छैनन् । पार्टि जस्तो पार्टि छैन । ओल्लो घर र पल्लो घरमा बोल्ती बन्द छ । विचरा अझै राजनीतिमा छौं भनेर एकाध मान्छेलाई कोठाभित्र थुनेर केही वर्ष राखेर राजनैतिक कुलतका दर्शन सिकाउने अव केही वर्ष होला । बर्षौको राजनीति गर्ने हो भने, अहंकार बन्द गर ।

मसालमा देखिएको समस्या आजको नयाँ रुप र प्रारम्भ होइन । बारबार फरक मत राख्नेहरु लाई गलत आरोप लगाएर लखेटने संस्कारको विकास हो । झट्ट नजाति लाग्ला । सत्य यही हो । खासगरि पार्टिको केन्द्रबाट अधिवेशनपछि फरक विचार राखेका कार्यकर्ता र नेतालाई अनुशासनको ठण्डा हिर्काएर गलत नजिर स्थापित गरिरहेको छ । पार्टिमा अनुसाशनहिनता बढ्यो । अराजकता भयो भनेर भन्ने गरिएका हुन्छन् । त्यसको हद् केहो ? समस्याको जड् के हो ? विचार फरक राख्दैमा वा त्यसको वकालत गर्दैमा विधिपद्धति नमान्ने भन्ने हुन्छ होला ? आफूले अपनाएको विधि र पद्धति विचारमा छलफल गर्नु वा बहश गर्नु अनुशासन उल्लंघन गरेका ठहर जो अहिले भनिएको छ । त्यो छाडा र उरन्ठेउलो तर्क हो । पार्टिको वर्तमान विधि, पद्धति र नीति अधिवेशनबाट पारित भएपछि त्यसको पालना, कार्यन्वयन र काममा एकतासँगै आफ्ना विचारमा छलफल हुनु अनुशासन हिनता होईन र मानिनुहुँदैन । पार्टिमा विचारका संघर्ष, छलफल र बहश गर्न रोक्नु, छेक्नुलाई अहिलेको बहुमत पक्ष भनिएका नेताहरु गुटबन्दी, अनुसाशनहिनता, घुसपैठिया भनेर अनेकन आरोपहरु लगाइएको छ । त्यो गर्नु राम्रो हो त ? विचारको बहशमा छेकवार लगाएर अनुसाशनको पालना हुन्छ ? विचारमा छलफल हुनु अराजकता हो भने विचारको बहश विनाको परिवर्तन कसरी हुन्छ र नयाँपन आउँछ । नीतिमा छलफल चाहिन्छ । आफ्ना तर्क र विचारहरु जिम्मेवार ढंगले राखिएको हुनुपर्दछ । महाधिवेशनले एक कार्यकालका लागि त्यो विचार र मत जाहेर गरेको भएपनि सधैभरी त्यसलाई सही मानिनुपर्दछ भन्ने तर्कका आधारमा नयाँ विचार राख्ने पार्टिका जिम्मेवार नेता कार्यकर्तालाई धूलो चटाएर जनसंघर्ष हुन्छ वा अन्तरसंघर्षमा आफै धूलेयाम भइन्छ ? कोही छ भविश्यको विश्लेषण गर्ने ? आज त हुँदाहुँदा कुनै कार्यकर्ता पार्टिमा बसिसक्नु अवस्था नबनाएपछि कसरी हुन्छ उसलाई परसम्म पुग्नेगरि भगाउने, अनि कस्ता कस्ता गएर त केही भएन त्यस्ता गएर के हुन्छ ? कठै बरा नेताको तर्क ? विडम्बना यो तर्क कि कुतर्क ? लाज लाग्ने होईन र भने ? यो होईन अराजकता ? यस्ता गतिविधि होईनन् अनुसाशनहिन ? आर्फैले आफैलाई कार्वाही त तिमीहरु गर्दैनौं । किन कि तिमीहरु भोली के के हुन्छौं थाहा छैन आजसम्म पितृसत्ताको जेठो छोरो मानेका छौं । कथा यही होईन ?

हिजो जे जे भयो । बागलुङले समेत त्यसको सिकार भएको वर्तमान नेतृत्वमा मनमा चिसो वा तातोले छोएको बल्ल अनूभूति भएको देखिन्छ । पार्टिले वर्तमान अवस्थाको मुल्याँकन गरेर दीर्घकालीन रणनीति बनाउँदा चुनावको प्रयोग र संसद तथा राज्य व्यवस्थाका कमीकमजोरीलाई जनताकाबीच ल्याउने प्रतिनिधिका रुपमा जनप्रतिनिधि संसदीय व्यवस्थामा पठाउने कार्यनीति अवलम्बन गरेको पार्टिको दस्तावेजमा बोलेको कुरा हो । यसो हुन थालेको वर्षौं भयो । यही सवालमा अडिनुहुँदैन । अलि अघि बढौं भन्ने प्रस्तावमात्र अल्पमतको दस्तावेजमा आएको हो । त्यहाँभन्दा बढ्ता त केही थिन जस्तो लाग्छ । तर नेतृत्वले प्राविधिक बहुमत पुर्याएर आफ्नो मतलाई नै अधिवेशनबाट पारित गरायो । त्यो पनि विधिले सही नै भन्छ । मान्नसपर्दछ । अधिवेशनबाट पारित भएको दस्तावेजलाई सबै पार्टिका कार्यकर्ताले पालना गर्नुपर्दछ । यो पनि सत्य हो । तर त्यो हुँदाहँदैपनि आफ्नो विचारमा छलफल बशह रोक्नुपर्दछ । चुपचाप बस्नुपर्दछ भन्ने होईन । विचारलाई छलफलमा बन्देज लगाईनु यसलाई यो कसरी प्रगतिशील भयो ? अझै व्यवस्थित ढंगले छलफलहरु हुनुपर्दछ । हिजो अल्पमतमा परेको विचार सधै दवाएर राखिनुपर्दछ भन्ने पनि प्रगतिवादी हुन्छन् ? मुर्ख कुरा होइन त्यो ? नेतालाई र नेतृत्वलाई मुर्ख बनाउने राजनीति ठीक छ भन्नु अव ? कसैकसैलाई घैटामा घाम लागेको छैनभने, यो कुरा बेठिक हो भन्ने तर्क एकखालको होला । त्यो नै हैकमवादी प्रवृत्ति र पद्धति हो । यसो त वर्तमान बुर्जुवा व्यवस्थाले गरेकै छ । त्यसकै सिकार भएका जनतालाई परिवर्तनकारी अझ क्रान्तिकारी पार्टिका सदस्यहरुले मान्नुपर्ने सामन्ती संस्कार, प्रणाली, निरंकुशता किन चाहियो ? के कसैका मगजमा प्रश्न उठ्दैन ? यो जमाना सबै लाटाहरुको र अहिले जो जसको रजगजमा पार्टि र त्यसको हेडक्वाटर चलेको छ । उसलाई ओराल्न हुँदैन भन्ने मान्यता बाँचीरहन्छ ? परिवर्तनले नयाँ जन्माउँछ, पुरानो फाल्छ ।

पछिल्लो समय गण्डकी काण्डले बल्ल बागलुङको वर्तमानख नेतृत्वलाई झस्काएको छ । महाधिवेशनको म्याण्डेड एकातिर, नीति छाडेर सत्ताको खेलमा यता र उता धरमराएको पार्टि केन्द्रको गलत निर्णयप्रति छलफलहुँदा हेडक्वाटरलाई समेत आँङमा घाम लाएको छैन । सधै एसमेन बनाइएका जिल्लातहका र केन्द्रतहका नेताहरु कसैलाई कार्वाही गरेर, पार्टिबाट हुत्याएर, सडकमा ल्याएर पनि विधि र पद्धतिमाथि बहश त हुँदो रहेछ नि । रोकियो मसालको बहश? सडकमा पुरयाइएकाहरुको बहश काम नलाग्ने भन्ने कुख्यात बदमासी तर्कले सधै घर गर्दैन । सत्य जहाँपुगेपनि सत्य हुन्छ । बोल्नुपर्दछ । बोल्दा, बोल्न खोज्दा, तर्क गर्न खोज्दा सानो र घटिया कोही हुँदैन । गल्ती कमजोरी सबैबाट हुन्छन् । त्यसबाट अझै सिक्ने र झुरारु, कर्मठ, स्पात बन्ने हो ।

गण्डकी काण्डमा पार्टि केन्द्रले गरेको गल्ती के थियो । यो जान्नु पर्दछ । त्यसप्रति सचेत कार्यकर्ता छौ भने तिमीले आज प्रश्न गर्नुपर्दछ ।

१. एमाले अध्यक्ष समेत रहेका केपी ओलीले संघीय संसद भंग गरेपछि पार्टिले केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता गर्दा प्रदेशको समर्थन कायम राख्नुको औचित्य के थियो ?

२. प्रदेस सरकार जहाँ जनमोर्चाका साँसदहरु प्रतिनिधित्व गर्थे । गण्डकी र लुम्बीनिमा ओली सरकारका प्रतिनिधि जसलाई प्रतिगमनका मतियार भनेरसरकार फेरबदलको कोर्षमा समर्थन फिर्ता गर्ने सही समय थियो ?

३. त्यही नेतृत्व जस्ले केही महिना अघिसम्म हामी सरकार फेरवदलको कोर्षमा छैनौं भनेर विज्ञप्ति निकाल्यो, त्यसको केही दिनमै काँग्रेससँग मिलेर सरकार बनाउने खेलमा निर्णय परिवर्तन गर्नुपर्ने कारणले आएको विघ्रह हो भन्ने स्वीकार गर्नुपर्दैन ?

४.गण्डकी सरकार परिवर्तन गर्दा, जे अवस्था देखियो । पार्टि केन्द्रले सबै अधिकार कार्यकर्ताको विचारमाथि लाद्ने कि छलफलबाट विचार बुझ्ने र निर्णय गर्ने यो प्रश्न कार्यकर्ताको गलत हो ?

५.जनमतको कदर, जिल्ला पार्टिको राय र सुझाव, नेताहरुप्रति कार्यकर्ताको मतलाई लत्याएर गरिएका सबै निर्णयले संगठन बलियो हुन्छ ? त्यो कसको हितका लागि थियो ?

६. कार्वाहीको रमिता पनि हेरौं । संगठनले भनेको मानेन भनेर कृष्ण थापालाई हुत्याइयो । परिस्थिति सिर्जना गर्ने पहिलो पात्र जो अझै साँसद छ । जस्लाई पार्टिको महासचिवले र अध्यक्षले समेत पैसाको चलखेलमा हाम्रो साँसद बिक्यो भनेर मिडियामा दिइएको यो सार्वजनिक अभिव्यक्ति होईन ? बिकेको त्यो व्यक्ति के स्वार्थले अझै पार्टिमा त्यही अडियो ? लेनदेन कस्को कहाँ मिल्यो ? प्रश्न गर्न पाउने कि नपाउने ? सत्य कुरा कार्यकर्ताले थापा पाउने कि नपाउने ? कि नेताले मजाक गरेर बोलेका हुन् सात खत माफ हजुर, कार्यकर्तालाई यो भन्ने कि नभन्ने ?

७.पद्धति र प्रणालीका कुरा बेमेल भएभनेपछि त्यसलाई सच्याउने वा अझै विग्रहतिर लैजाने ?

मसालमा जे कुरा देखिएको छ । विकृत्ति सच्याउनुको विकल्प छैन । मनमनै बोलेर यो विसंगति आफै सच्चिनेवाला छैन । बहश र छलफल चाहिन्छ । नेतालाई नेतृत्वको स्वार्थले बोल्ती बन्द गर्नुपर्ने, कार्यकर्ता बोले कार्वाहकिो डण्डाले हिर्काएर आवाज मथ्थर गर्नुपर्ने, हुन्छ समस्याको समाधान ? क्षमता नभएका नबोल, हामी अटाउँदैनौं फल्देउ तर त्यो पितृसत्तापनि एकदिन जनतामा होईन कोठामा सिमित हुनेदिन आयोभने बुढेसकालमा पछिल्लो सन्ततिले सराप्दैहिंड्दा पश्चतापको शैयामा रोदन ग्रहण गर्नुको दोस्रो विकल्प होला र ? तसर्थ स्वार्थमा मगज थलिएको भए आजै उपचार गरौं । बागलुङको मसाल जो शैयामा सुताइएको छ । पुनरजिवित बनाएर, समाजमा हुने राज्य व्यवस्थाका विकृति, राजनैतिक विकृति विसंगतिमा अघि लागौं । आफ्नै अर्कमण्यताले थलिएको मसाल उठ्नुपर्छन । जाग्नुपर्छ । कार्यकर्ताको भावनाको उच्च कदर गरेर मनोवलमा पुनरजागरण ल्याउनुपर्दछ । बागलुङको नेतृत्व नमरोस् । पताल्लिनु र अताल्लिनु पर्दैन । जस्ले सिंगो देशभरको मसाललाई एकधारमा ल्याउने जिम्मेवारीमा लाग्नुपर्दछ । विचारका बहश ठाउँठाउँमा हुन्छन् । त्यसको सम्मान गर्दै काम र कर्ममा एकरुपमा, जिम्मेवारीमा एकता र विगिएका सम्बन्धहरु हिजोका गलत कर्मलाई स्वःस्वीकार गर्दै नयाँ सिराबाट अघिबढ्नुपर्दछ ।

प्रकाशित मिति २०७८ साउन १४ गते बिहिबार ०९:०४
प्रतिक्रिया दिनुहोस्