
कोरोना बिरुद्धको खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरका धेरै मानिस जाने कारणले बिबाद बढेको छ ।
बिबादका कारण बागलुङ नगरपालिकाले संचालन गरेको खोप कार्यक्रम तत्कालका लागि रोकिएको छ । शुक्रबार लक्षित समूहअन्र्तगत ५० देखि ५४ बर्ष समूहका मानिसलाई खोप लगाइएको थियो ।
उक्त समूहको खोप चलिरहेको बेला अन्य उमेर समूह, पेशागत समूह तथा बाहना बनाएर जानेको भीड लागेको थियो । उनीहरुको कारण दोहोरो भनाभन समेत भएको थियो । ‘मैले बैंकको कर्मचारी भएकोले पहिला छुटेको भन्दै खोप लगाउन गएको थिए’ बागलुङस्थित एक बैंकका कर्मचारीले भन्नुभयो, ‘मलाई मुखै छाडेर तलाइ खोप लगाइदिन्नौ भनेर हप्काए, आफ्ना मानिस आएभने खुसुक्क खोप दिए ।’ उहाँले आफ्नै अगाडि ९ जनाले मापदण्ड बिपरित खोप लगाएको दाबी गर्नुभयो ।
नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भने मापदण्डभन्दा बाहिरका मानिसलाई खोप नलगाएको दाबी गर्नुभयो । ‘बाहिर हल्ला आएझै खोप कार्यक्रम रोकिएको छैन, लक्षित समूह बनाएर फेरी संचालन हुन्छ’ खनालले भने, ‘जथाभावी गर्न खोज्नेलाई भने रोक्ने प्रयास भएको हो ।’ उमेर समूह बाहिरको हकमा बिदेश जान भिसा लागेको र सरकारी कर्मचारी भएमा लगाइएको उहाँले जानकारी दिनुभयो ।
खोप केन्द्रमा भीडभाड भएकोले प्रहरीसमेत परिचालन गर्नुपरेको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सरकारले जुन मापदण्ड तोकेर खोप लगाउनु भन्छ त्यसमै मात्र सिमित हुने बताउनुभयो । ‘निर्देशन अनुसार मात्रै खोप लगाउँछौं, बेथिती हुन दिन भएन’ उनले भने, ‘माग गर्ने धेरै भएपनि समय र तालिका मिलाएर मात्रै दिन र भिडभाड नगर्न भनेका छौं ।’
गण्डकी प्रदेश सरकारले भने होटल तथा पर्यटन व्यवसायीलाई प्राथमिकता दिएर खोप लगाउने भनेको छ । त्यसबाहेक भदौसम्ममा सबै नागरिकलाई खोप लगाउने तयारी गरेको अभिव्यक्ति मन्त्रीहरुबाटै सार्वजनिक भैरहेको छ । संघिय स्वास्थ्य मन्त्रालयले भने आगामी चैत मसान्तसम्म देशभरका नागरिकलाई खोप पु¥याउने लक्ष सार्वजनिक गरेको छ ।
स्रोत – ढोरपाटन न्युज










