बजार क्षेत्रमा मास्क नलगाउनेहरुको संख्या बढि
बाग्लुङ जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणदर फेरि बढ्न थालेको छ । जिल्लाको पश्चिम बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको दर पछिल्लो समय बढ्दै गएको स्वास्थ्य केन्द्रले जनाएको छ । स्वास्थ्य केन्द्रमा एन्टिजेन परीक्षणमा ६ वर्षको एक बच्चामा समेत संक्रमण देखिएको केन्द्र प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण सहितका विरामीहरुको चाप बढ्न थालेपछि स्वास्थ्य केन्द्रले एन्टिजेन परीक्षणको दायरा बढाएको छ । कोभिडको लक्षण जस्ता विरामी आएपछि गरिएको एन्जिजेन परीक्षणमा देनिकजसो कोरोना संक्रमितहरु देखिने गरेको स्वास्थ्य केन्द्र प्रमुख डा. मल्लले जानकारी दिनुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक जनालाई भर्ना गरिएको छ । अन्य २० जना घरमा होम आइसोलेशनमा रहेको जनाईएको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने समस्या भएर स्वास्थ्य केन्द्रमा आएका उनीहरुमा एन्टिजेन परीक्षण गर्दा कोरोना देखिएको हो । बुर्तिबाङ बजारका २० जना सक्रिय संक्रमित अहिले होम आइसोलेशनमा रहेको उहाँले बताउनुभयो ।
पछिल्लो समय उमेर समुह कम भएकाहरुमा समेत संक्रमण भेटिएको डा. मल्लको भनाई छ । । २० वर्ष मुनीको १ जना तथा २० वषैदेखि ४० वर्षसम्मको उमेर समुहका १० जना संक्रमित रहेकाका छन भने ४० वर्षदेखि माथि ७७ वर्ष उमेर समुहका १० जना सक्रिय संक्रमित रहेको मल्लले जानाकारी दिनुभएको छ ।
बजार खुल्ला हुँदै गएको र यातायात समेत सञ्चालनमा आएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढेर २१ पुगेको हो । ‘बाहिरबाट सवारीहरु आउने जाने क्रम बढेको र बजार समेत खुल्ला भइर्दिपछि समुदायमा कोरोनादर बढ्यो । अहिले बजारमा मास्क समेत नलगाउनेहरुको संख्या बढेको छ । यसले पनि संक्रमण फैलन मद्धत गरेको छ ।’ डा. मल्लले बताउनुभयो ।
दोस्रो लहरको कोरोना सक्रमण सुरुभए यता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ४२ जना कोभिड अस्थाई अस्पतालमा भर्ना भइ उपचार गराएका थिए । उनीहरु मध्ये ३७ जना निको भएर घर फर्केका छन् । भर्ना भएका ३ जनाको मृत्यु भएको थियो ।












