बाग्लुङ जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार

बाग्लुङ जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तार
२०७८ साउन २० गते बुधबार ०९:५९

बाग्लुङ - बाग्लुङका एक दर्जनभन्दा बढी गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले ६ स्थानीय तहका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो। घर छेउका साना खोलाबाट...

बाग्लुङ – बाग्लुङका एक दर्जनभन्दा बढी गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले ६ स्थानीय तहका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको हो।

घर छेउका साना खोलाबाट विद्युत् उत्पादन गरेर धिपधिवे बत्ती बालेका गाउँहरुमा केन्द्रीय प्रसारण लाइन पुगेको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताउनुभयो। गत आर्थिक वर्षमा मात्रै जिल्लाभर ३३ भोल्टको विद्युत ६ किलोमिटर विस्तार भएको छ। ११ भोल्टको १९ किलोमिटर र ४०० तथा २२० किलोभोल्टको ३९ किलोमिटर प्रसारण लाइन विस्तार भएको गोशलीले जानकारी दिनुभयो।

गलकोट नगरपालिकाको मल्म, पाण्डवखानी, काँडेबासलगायता क्षेत्रमा प्रशारण लाइन विस्तार भएको हो। जैमिनी नगरपालिकाको छिस्ती, राङ्खानी, पैञ्युथन्थाप, सर्कुवा, बरेङ गाउँपालिकाका केही गाउँ, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार, बडिगाडको ग्वालिचौर र ताराखोला गाउँपालिकाको अर्गलभन्दा माथीका गाउँहरुमा विस्तार भएको हो। तमानखोला र निसीखोला गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन नपुगेकाले चालु आर्थिक वर्षमा गाउँपालिका केन्द्रसम्म पुर्‍याउने गोशलीको भनाई छ।

प्राधिकरणले बिग्रिएका र नयाँ विद्युतीकरण भएका क्षेत्रमा विभिन्न क्षमताका ३० वटा ट्रान्सफर्मर जडान गरेको छ। जिल्लाको पश्चिम क्षेत्रमा विद्युत् लाइन विस्तार भएपछि ग्राहकका लागि बुर्तिबाङ बजारमा कार्यालय स्थापना गरेको वितरण केन्द्रले जनाएको छ।

प्रकाशित मिति २०७८ साउन २० गते बुधबार ०९:५९
प्रतिक्रिया दिनुहोस्