कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बागलुङमा थप एक संक्रमितको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ की ७२ बर्षिया कोरोना संक्रमित महिलाको बुधबार दिउँसो धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कोरोना भाइरसको लक्षण देखिएपछि मंगलबार अस्पताल भर्ना भएकी उहाँको बुधबार दिउँसो ४ बजेर ३० मिनेटमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो । मंगलबार नै उहाँको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृत्यु भएकी महिलाले असार ३० गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोप १ डोज लगाएको फोकलपर्सन घिमिरेले बताउनुभयो । ‘खोप लगाएको २१ दिनमा शरीरमा एन्टिबडी बन्ने हो,’ फोकलपर्सन घिमिरेले भन्नुभयो –‘उहाँलाई खोप लगाएको २१ दिन नपुगेको र शरिरमा एन्टिबडी नबनेको वा बन्ने क्रममा रहेको कारण संक्रमण भएको हो ।’
महिलालाई जटिल प्रकारको कोभिड निमोनिया सहित मुटु रोग इस्केमिक, हाइपोथायरायडिज्मको समस्या देखिएको धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो । बागलुङमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।










