स्वास्थ्य केन्द्रलाई अप्रेशन गर्ने बेड सहयोग, शल्यक्रिया मार्फत जुम्लिया शिशुको जन्म

बुर्तिबाङ– बाग्लुङ जिल्लाको पश्चिम बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २०७२ सालदेखी देखि अप्रेशन विधिबाट सुत्केरी गराउने सेवा नेपाल सरकारले थप गरेको थियो ।
विभिन्न समयमा तालिम प्राप्त डाक्टर अभाव र स्वास्थ्य केन्द्रमा प्रसुति सल्यक्रिया गर्न आवश्यक सामाग्री बिग्रीएर अप्रेशन सेवा हुन भने सकेन । २०७७ बाट ढोरपाटन नगरपालिकाको पहल तथा नेपाल सरकारको सहयोगमा तालिम प्राप्त डाक्टर र नर्सको व्यवस्थापन पछि विगत एक वर्ष यता नियमित रुपमा अप्रेशन सेवा सञ्चालन भैरहेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले बताउनुभयो ।
यस अवधीमा ३७२ जनाले प्रसुति सेवा लिएका छन् । स्वास्थ्य केन्द्रमा प्रसुति सल्यक्रिया सेवाबाट २३ गर्भवति महिलाले सेवा लिएका छन् भने यस साउन महिनाको २२ गते सम्ममा ४ जना गर्भवति महिलाको सफल शल्यक्रिया मार्फत सुत्केरी गराईएको डा.अनिल केसीले बताउनुभयो । जतिलता सहितको प्रसुति गराउन विगतमा लाखौ रकम खर्च गरि बाग्लुङ,पोखरा,पाल्पा र काठमाण्डौ लगायतका सहरमा धाउनुपर्ने बाध्यता रहेको थियो । तर पछिल्लो समय तालिम प्राप्त डाक्टर नर्सद्धारा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै हुन थाले सगैँ पश्चिम बाग्लुङका धरैलाई राहत मिलेको डा.केसीको भनाई छ ।
हाल स्वास्थ्य केन्द्रमा धेरै सेवाहरु थप गरिएको छ । प्रसुति प्रतिक्षा घर,२४ सै घण्टा एक्सरे सेवा,भिडियो एक्सरे सेवा,ल्याव सेवा,ईमरर्जेन्सी सेवा,फोटो थेरापी सेवा,दन्त उपचार सेवा,आखाँ उपचार सेवा,वेवी वामर सहितको नवजात शिशु स्याहार सेवा र बिरामी भर्ना सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको प्रमुख डाक्टर मल्लले बताउनुभयो । यी सेवाहरु सामान्य तथा प्राथमिक स्वास्थ्य केन्द्रमा हुदैँनन् तर ढोरपाटन नगरपालिकाको पहल र स्वास्थ्य केन्द्रका कर्मचारीहरुको तिर्व ईच्छा शक्तिका कारण संम्भव भएको जनाईएको छ ।
पाल्पा,पोखरा र काठ्माण्डौका अस्पतालले प्रदान गर्ने सेवा सुविधा सगँ प्राथमिक स्वास्थ्य केन्द्रलाई तुलना गर्न मिल्दैँन डा. मल्लले भन्नुभयो‘ नेपालका अन्य प्राथमिक स्वास्थ्य केन्द्रहरुले भन्दा धेरै र राम्रो सेवा सुविधा प्रदान गरिरहेका छौँ ।’ विभिन्न संघ संस्था,सबैको साथ, सहयोग र सहकार्यले गर्दा यस भेगका जनतालाई राम्रो सेवा प्रदान गर्न सफल भएको उहाँले बताउनुभयो ।
स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल सरह सेवा प्रदान भैरहेको जनाईएको छ । केन्द्रमा ३ मेडिकल अफिसर सहित,८ जना नर्सिङ स्टाफ,४ जना ल्याव स्टाफ,७ जना पारामेडिक्स र ७ जना कार्यलय सहयोगी सहित २९ जना कार्यरत रहेका छन् ।
स्वास्थ्य केन्द्रलाई अप्रेशन गर्ने बेड सहयोग
केहि समय यता प्राथमिक स्वास्थ्य केन्द्रको अप्रेशन कक्षमा रहेको,अप्रेशन बेड खिया लागेर जिर्ण भएको थियो । जसले गर्दा अप्रेशन गर्दागदैँ वेड आफैँ चल्ने अवस्थामा पुगेको र अप्रेशन गर्दा रगत थाम्ने कट्री मेसिन बिग्रेर समस्या परेको डा.अनिल केसीले बताउनुभयो ।
उक्त अवस्थालाई मध्यनजर गदैँ स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले ढोरपाटन नगरपालिका र सहयोगी संस्था फेयरमेड फाउण्डेसनलाई लिखित तथा मौखिक जानकारी गरानुभएको थियो । जस अनुरुप नगरपालिका र प्राथमिक स्वास्थ्य केन्द्रको व्यबस्थापन समितिले करिव १ लाख रुपैँया छुट्टाई कट्री मेसिनको व्यवस्थापन मिलाएको थियो ।
साथै फेयरमेड फाउण्डेसनको सहयोग तथा बिवाईसी बाग्लुङको साझेँदारीमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाबाट रु १ लाख २० हजार पर्ने अप्रेशन बेड सहयोग गरेपछि अप्रेशन सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न सहज भएको डा. केसीले बताउनुभयो ।
ढोरपाटन नगरपालिका उपप्रमुख करमति पुनको प्रमुख आथित्यतामा एक कार्यक्रमको बिच आज स्वास्थ्य केन्द्रलाई ओटी बेड हस्तान्त्रण गरिएको थियो । फेयरमेड फाउण्डेसनको सहयोग तथा बिवाईसी बाग्लुङको साझेँदारीमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाको तर्फबाट, परियोजना ब्यवस्थापक गणेश बरुवालले नगर उपप्रमुख करमति पुन र स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ललाई उक्त बेड प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख पुनले स्वास्थ्य केन्द्रलाई सबैको साथ सहयोगले नै थप सेवा सुविधा सम्पन्न बनाउन सकिने बताउदैँ सहयोगी संस्था फेयरमेड फाउण्डेसनको सहयोग तथा बिवाईसी बाग्लुङको साझेँदारीमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रमा जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सञ्चारकर्मी लगायतको सहभागिता र बिवाईसीका फिल्ड सुपरभाईजर रामेश्वर शाहको सञ्चालनमा सम्पन्र्न भएको थियो ।
प्रसुति सल्यक्रिया मार्फत जुम्लिया शिशुको जन्म
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज शुक्रबार एक महिलाले सल्यक्रिया मार्फत जुम्लिया २ छोरा जन्माउनु भएको छ ।
जिर्ण बनेको नयाँ बेड फेरिए सगैँ पहिलो पटक निसीखोला गाउँपालिका वडा नं. ७ राजकुट बस्ने २४ बर्षिय दुर्गादेवी घर्तिमगरले दोस्रो सन्तानका रुपमा २ छोरा जन्माउनु भएको हो । उहाँ प्रसुति समस्या भएपछि शुक्रबार स्वास्थ्य केन्द्रमा भर्ना हुनुभएको थियो ।
बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. अनिल केसीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवामा खटिएका स्वास्थ्यकर्मीहरुको सक्रिय सेवाका कारण अन्य रोगका विरामीहरु जस्तो प्रसुति समस्यामा रिफर नहुने गरेको उहाँले बताउनुभयो । हाल शल्यक्रिया डा.अनिल केसी, जनस्वास्थ्य निरीक्षक केशव थापा, नर्स पार्वती अर्याल, शान्ती पौडेल लगायतको टोलीले गर्ने गर्नुभएको छ ।
जोखिम मोलेरै केहि समय पहिले स्वास्थ्य केन्द्रमा कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएकोको थियो । गर्भवती महिलाको नर्मल डेलिभरी त भएको थियो, तर यसरी अप्रेशन नै गरेर भने भएको थिएन, हामीलाई निकै डर थियो,’ डा केसीले भन्नुभयो ‘तर जोखिमै मोलेर भए पनि गरेको काममा सफल भयौँ, अहिले बच्चा र आमा दुबैको स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किसकेका छन् ।’ शल्यक्रिया गर्नु जोखिमको विषय त हो नै यस क्षेत्रमा बलड बैँक नहुदाँ चाहिएको बेला रगत समेत पाईदैँन । धेरै चुनौतीका बिच गरिएका शल्यक्रिया अहिले सम्म सफल भएको उहाँको भनाई छ ।
स्वास्थ्यकर्मीको प्रसंशा योग्य कार्य
स्वास्थ्य केन्द्रमा हाल कर्मचारीको ब्यवस्थापन सराहनीय देखिएको छ । कुनैपनि समय कर्मचारीहरु आफ्नो कार्यकक्षमा कार्यव्यस्थताका साथ देख्न सकिन्छ । कर्मचारी निगरानीको लागि स्वास्थ्य केन्द्रले डिजिटल प्रविधिबाट हाजिरी गर्ने प्रविधि राखेको छ । हरेक घण्टा कर्मचारी अनुगमण गर्ने व्यवस्थापन मिलाईएको डा.मल्लको भनाई छ ।

पहिले पहिले स्वास्थ्य केन्द्रमा पुग्दा सितामोल बाहेक केहि नपाईने तर पछिल्ला वर्षहरुमा रोगको पहिचान सहित औषधी समेत पाउन थालेसगैँ उपचारको लागि पुग्न सजिलो भएको बुर्तिबाङ निवासी पुष्पा कंडेलले बताउनुभयो । पहिले पहिले स्वास्थ्य केन्द्रमा डाक्टर नभेटिने,भेटिए पनि आवश्यक औषधी पाउन मुस्किल थियो । तर पछिल्ला वर्षहरुमा त्यस्तो समस्या नरहेको बताउनुभयो । नियमित उपचारको लागि पुग्ने धेरै विरामी र विरामी कुरुवाले स्वास्थ्यकर्मीको प्रसंशा गरेको सुन्न पाईन्छ ।
पहिलो र दोस्रो लहरको कोरोना संक्रमण फैलिएको समयमा स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मीहरु अहोरात्र खगिएका थिए । जसले गर्दा धेरै नागरिकहरु अकालमा ज्यान गुमाउन बाट बचेका थिए । पछिल्लो समय स्वास्थ्यकेन्द्र र स्वास्थ्यकर्मीको प्रशंसा धेरैले गरेको सुन्न पाईन्छ । यहाँको राम्रो,छिटो छरिटो सेवा सुविधाकै कारण गुल्मी,म्याग्दी,रुकुम रोल्पा लगायतका स्थानबाट विरामीहरु आईरहेका छन् । स्वास्थ्य केन्द्रलाई यी सेवा सुविधालाई निरन्तरता दिनु र थप सेवा सुविधा विस्तार गर्नु अर्को चुनौती पनि थपिएको छ ।
गत वर्ष स्वास्थ्य केन्द्रमा बाढीले केहि समस्या पारेको थियो । प्राथमिक स्वास्थ्य केन्द्रको सेवा,भवन,प्रविधि र सरसफाई हेर्दा एउटा नेपालकै नमुना प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा विकसित भएको महशुस गर्न थालेको जनाईएको छ ।






















