मेरो नाम माया हो ।
विद्यालयको प्रमाणपत्रमा फूलमाया छ । तर, म आफ्नो परिचय दिँदा माया नै भन्छु । माया- मजस्ती उमेरदार केटीलाई थुप्रै अर्थ लाग्दो रहेछ । किनकिन फूल थपेको फिटिक्कै मन पर्दैन थियो ।
मेरो दैनिकी हाँसीखुसी बितिरहेको थियो । लाग्थ्यो, जीवन कति रंगीन छ । तर, अठार महिनामा मेरो कथा हवात्त ट्विस्ट भयो । दुई जना मान्छेहरूसँगका सहवासले जीवन एउटा सानो कथाजस्तो भयो ।
मलाई त्यो मान्छे पटक्कै मन पर्दैनथ्यो । ‘काली’ भनेर बाेलाउँथ्यो । कति सजिलै काली भन्न सकेका होलान् । साथीहरूले पनि नाम बिगारेर बाेलाउँछन् ।
त्यो मान्छे शनिबार बिहान त अवश्य टुप्लुकिन्थ्यो । आँखा चिम्सो पारेर हाँस्थ्यो । मलाई घुरे झैँ लाग्छ । ऊ जूत्ता खोलेर प्वाल परिसकेका मोजाहरूसँगै भित्र छिर्थ्याे । सायद कपाल कहिल्यै कोर्दैन थियो । दाइलाई सोध्थ्यो, भाउजुलाई चिया बनाउन लगाउँथ्यो वा करेसाबारीमा आमासँग हुन्थ्यो ।
‘आमा यि आलुहरूसँगै मुला रोप्न सकिन्छ ?’
‘सकिन्छ । आज चेश खेलेनौ ?’
अँ, मलाई केही फरक पर्दैन । मलाई माया गरेर बाेलाउने पनि छ । र, उसले असाध्यै माया पनि गर्छ । ऊ यहाँको बैंकमा सरुवा आएको तीन महिना भयो । तर लाग्छ, ऊ मलाई पहिलेदेखि नै चिन्छ । जात नमिलेर के भयो- सानै उमेरमा त्यत्रो पोष्ट छ । म पनि धेरै माया गर्छु ।
म ट्युसनबाट फर्कँदा ऊ अर्थात् मलाई मनपर्ने मान्छे, ब्याडमिन्टन खेलिरहेको हुन्थ्यो वा बरण्डामा बसेर बाटोतर्फ हेरिरहेको हुन्थ्यो । म साथीहरूको नजर बचाएर उसलाई हेर्थेँ । ऊ हात हल्लाउँथ्यो । साथीहरूले जिस्क्याउँथे – ‘यो पोइल जाने भई ।’
०००
‘एई काली ।’ त्यो मान्छेले मतिर हेर्यो । अघि नै झुल्किसकेको रहेछ । टेबलभरि पत्रिकाहरू छरपस्ट थिए । हाँस उठ्दो पाराले कोट लगाएको थियो । मलाई उपदेश दिन लाग्या छ भन्ने अनुमान गरिहालेँ । साँच्चै मलाई मन पर्दैन । उसले हातको पत्रिका फालेर मेरो बाटो छेकिहाल्यो ।
‘तिमी चिनाजाना नभएको मान्छेसँग बढी हेलमेल गरिरहेकी छौ ।’
‘कोसँग ?’ मैले प्रतिवाद गरेँ । उसले हिजो सिनेमा गएको कुरा बतायो । तर्सिएँ । आमालाई त भनेन ? भित्रदेखि त्यो मान्छेको अनुहारमाथि घृणा र रिस उम्लेर आयो । ऊ मेरो खोजिनीति किन गरिरहेको छ ?
‘हो म गएकी हुँ । सिनेमा जाँदैमा कसैको केही बिग्रत्र । अनि म त्यति बच्ची पनि छैन, आफ्नो राम्रो नराम्रो ख्याल राख्न नसकूँ । अनि एउटा कुरा…. मलाई फाल्तु मान्छेको उपदेश पनि चाहिएको छैन ।’
उसले केही भनेन । मैले ती भनाइहरू पनि सिनेमाहरूबाट नै सिकेकी हुँ । अहिले काम आयाे । त्यो मान्छे चुपचाप सोफामा बस्यो । अरु भन्न मन लागेको थियो दाइ आइपुग्नुभयो ।
‘ए कतिखेर आउनुभयो ? मलाई यसो सघाउनुहोस न । अग्नि पीडितहरूका लागि च्यारिटी प्रोगाम गरिरहेका छौँ ।…… चिया पिउनुभयो ?’
‘अँ पिएँ ……. ।’ त्यो मान्छेले भन्यो । तर, चिया पिएको थिएन ।
मेरो प्रेमकी गन्तव्य कहाँ हो मलाई थाहा थिएन । मलाई लाग्छ, हामी एक आपसको धेरै नजिक भइसकेका छौँ । सदा झैँ अहिले ऊ मेरो रूपको तारिफ गरिरहन्थ्यो । उसले मेरो हात समायो । मलाई संकोच र नयाँ लाग्यो । लोभ पनि लाग्यो, डर पनि लाग्यो । डर लागिरह्यो, लागिरह्यो । तर, मलाई विश्वास छ ।
मलाई त्यो साँझ घर फर्कँदा आमाले कुरिराख्नु भएको थियो । त्यही डरले म कसैसँग आँखा जुधाउन नसक्ने भइसकेकी थिएँ ।
आमाले सोध्नुभयो, ‘सञ्चो छैन कि क्या हो ?’
अनि त्यो आँखा जुधाउन नसक्नुको डर क्रमशः बढिरहयो । अब त लाग्छ, म गर्भवति भएकी छु । मेरो मनपर्ने मान्छे पनि छक्क पर्यो । उसले हिच्किचाएको देखेर मेरो डर चिसो र तीखो शुल भएर भित्र पस्यो । आखिरमा आमालाई मैले मेरो अवस्था बताउनै पर्यो । एउटा विष्फोटपछि त्यो मेरो डर मेरो परिवारमा फैलियो । मैले सबैलाई साँचो प्रेमको अर्थ बताएँ तर त्यो फिल्मी कथा झैँ सहज नभई सबैले मलाई दोषी बनाएर लघारे ।
मलाई मन नपर्ने मान्छे अचेल धेरै कम्ति नै आउँथ्यो । शायद उसले पनि मेरो कुरो थाहा पायो होला । मलाई विल्कुल मन पर्दैन- त्यो मान्छे । मलाई चुक लगाउने विषय पायो । तर, मलाई मेरो प्रेममा, मेरो निर्णयमा विश्वास छ ।
तर अचेल मलाई मन पर्ने मान्छे पनि केही परिवर्तन भएकोजस्तो लाग्यो । म उसका अघि रोएँ । साँच्चो प्रेमको दुहाई गुहारेँ । मेरो परीक्षा लिन ऊ किन उक्सिरहेको छ । मेरो भावना, आँसुको मूल्य एउटा सल्लाह दियो- एवोर्सन गराउने । म कहालिएँ । म कसरी सक्छु …. मेरो आस्था, विश्वास अनि पहिचानको एवोर्सन गराउन । झूटो सुनेँ होला, उसले सरुवा मिलायो रे ।
०००
आखिरमा एउटा तीतो अनुभव भोगेँ । मेरो त्यो डर लुकाएर लुकेन । भित्ताले सुनेर संसार फैलायो । संगीहरू तर्किए । कतिले अगाडि नै थुके । आफन्तहरूबाट मृत्यु झैँ कालो दोष पाइरहेँ । अनि मलाई केरेर निधो भएपछि जसको हो, उसैको जिम्मा लगाए । त्यो दिन ऊ चुपै लाग्यो । पुछारमा केही भन्यो- ‘तपाईंहरूको ठाउँ हो, मलाई जबर्जस्ती गर्नुभयो । म पनि हेर्छु ।’ जीवन कहाँ सहज रहेछ । मैले मायालु क्षणहरूका, हाम्रो बाचा, सपना र कल्पना स्मरण गराएँ । तर…… ।
मेरो दुःखको शिलशिला सुरु भैसकेको रहेछ । उसको सरुवा भयो । उसले माया गर्नु त टाढा झुटा दुई शब्दहरू पनि भनेन । म आँसुको घुट्को पिउँदै रहेँ । लाग्थ्यो अब त्यो अमिलो आँसु मृत्युसँगै टुङ्गिनेछ । म दुखेकोमा त्यो इनरुवाको घाम र गर्मीको प्रचण्डता फीका थियो । उसले एक साँझ फकायो, ‘म मेरी आमा र बालाई मनाउँछु । तर, तिमीले पनि मेरो एउटा शर्त मान्नुपर्छ ।’
दलाली गर्न बाध्य थिएँ, ‘के शर्त ?’
‘हाम्रो बच्चा पाउने उमेर हो र ? बच्चा पछाडि पाउँला तर अहिले एबाेर्सन गराउनुपर्छ ।’
गाली सुन्न बानी परिसकेका कानहरूले उसको झूठा शर्तहरूसँगका फकाइमा मेरो जीवन डुबीरहेको स्पष्ट थियो । तर, झिनो आशाको त्यान्द्रोमा मेरो सास अल्झिरहेको थियो । जीवनभर उसको खुट्टा पखाल्ने गरी दयाको भीख मागेँ । आँसुले उसका खुट्टाहरू पखालेँ तर ऊ त्यही शर्तमा मात्र माया गर्न राजी थियो । शर्तमा माया होइन दयासम्म, त्यो पनि न्यून मात्रामा पाइने स्पष्ट छ ।
त्यो स्वरुप जो मभित्र निर्धक्क साकार भइरहेको छ । मैले अनुभूति मात्र गरेकी छु, देख्न पाइकी छुइनँ । त्यो मेरो पूर्ण भइसकेको छैन । त्यस अर्थमा त्यो अहिले निर्जिव हो । त्यसलाई मबाट अलग्याउँदा, फाल्दा उसको त्यही माया पाउँछु भने म चक्कानिन मञ्जुर छु । जीवनको अन्त्य त होइन ।
विराटनगर गएर गुपचुपसँग काम तामेल गरियो । उसको अनुहार फेरिएको थियो । भलादमीका खोल धारण गरिरहेका जन्तुहरूको भित्री गरिने काम पनि हुँदो रहेछ । मानिसका बहुरुपी रङ देखेर आफैँलाई धिक्कारेँ ।
म अत्यन्तै कमजोर भएकी थिएँ । पीडाले होला खाना खान सकेको छुइनँ । त्यो लोभ गुमाएको महत्वाकाङ्क्षी मलाई लोभ निमिट्यन्न भएकै थिएन । त्यो आकार कस्तो थियो होला ? कस्तो हुन्थ्यो होला ? बस् सहारा छ । एउटा आशा- उसले अब मलाई माया गर्छ ।
त्यो पछि दुई चार दिन उसले माया गरिटोपलेको रहेछ । दिनहरूसँगै ऊ पनि फेरि बदलियो । ऊ साँझमा रक्सी पिएर आउन थाल्यो । पहिला मलाई लुच्छ्थ्यो, नङग्रयाउँथ्यो, बुर्कुसी खेल्थ्यो । मलाई अचम्म लाग्छ, म अझै लुछिन योग्य रहिछु । मेरो गर्विलो रूप त्यही विराटनगरमा नै छोडिएछ । तर, पनि मलाई उसले हरेक रात म स्त्री र ऊ लोग्ने मान्छे भएको प्रमाणित गरिरहन्थ्यो । म अझै स्त्रीसम्म रहिछु ।
त्यो मतुवालाई खप्ने स्त्री मान्छेपछि मैले उसको तीखा वाक्यहरू झेल्नुपर्थ्याे । ती वाक्यहरू सहन नसक्दाका हुन्थे । मैले उसको परिवारबाट अलग्याएँ रे । अझ त्यो चिम्सो आँखा भएको मान्छेसँगसमेत उठबस भएको लाञ्छना लगायो । त्यो मान्छे मलाई मन पर्दैन थियो । तर, उसले मलाई कहिल्यै त्यो दृष्टिले हेरेन ।
सधैँ खाना राम्रो बनाउदिन भनेर त्याग्थ्यो । अब त आँसुको श्रृङ्खला अनन्तसम्म रहने छ भन्ने पक्का भयो । हे मृत्यु ! अब सिर्फ तेरो सहारा छ, मलाई तँमा मिला । मैले कामना गरेको मृत्यु पनि कति निष्ठुरी छ । दुब्लाएर हाड र छाला मात्र बाँकी छ । दश कुरा सहेर भए पनि अब म माइतघर जाने निश्चय गरेँ । मेरो घर हो, जहाँ म जन्मेँ ।
म त्यो दिन कुबेला माइत हिँडे । दुनियाँलाई माइतीघर जान कति गर्व र उत्साह हुन्छ । म दुराचारिणीचाहिँ थोरै दयाको भीख माग्न गइरहेकी थिएँ । थहा छैन म कसरी त्यो गाउँ पुगेँ । म हुर्केको, दगुरेको गाउँ, म चढेको अम्बा र आँपका बाेटहरू विल्कुल नौलो लागे । मलाई गिज्याए झैँ लाग्यो । साँझमा भाउजुले ढोका खोलिन् र मेरो दशा देखेर भित्र बाेलाइनन् बरु हप्की लगाउन थालिन् । म कुलटा भएँ ।
आमाले नजर तर्काएर हिक्का छोडिराख्नु भएको थाहा पाएँ । दाजुले केही नबाेली दिनुभएपछि भाउजु चढिरहनु भयो, चढिरहनु भयो । म अँध्यारोको संघारमा थिएँ ।
म फर्किएँ । शरीर क्लान्त छ । अब यातनाको मार थाम्न नसक्ने भएकी छु । दोष कसैलाई छैन, म आफैँले रोजेका बाटो हो । पाइलाहरू बेहोसी झैँ बढिरहे । साँच्ची म मर्न चाहन्थे । आत्महत्या गर्न किन सकिरहेकी छुइनँ । म कति कायर छु ।
दिनभरि भौतारिरहेँ । कपाल बेहाल थियो । बौलाही भन्ने टिप्पणी पनि सुनेँ । मञ्जुर छ । सारा निकास मलाई नै हुनुपर्छ । रात पर्यो । रात अबेरमा कसरी फेरि त्यही ढोका ढक्ढकाउन पुगिछु । ढोका उघ्रियो । उसले चुरोट फाल्यो ।
‘के चाहियो, …डी ?’
‘मलाई मार, म मर्न चाहन्छु ।’
उसले देब्रे लातले हान्यो । मर्न कति गाह्रो छ, म प्राण पर्दै उछिट्टिएर ढलेँ । अर्ध चेतनामा थाहा पाएँ, ऊसँग अरु दुई जना थिए । तिनीहरूले लछारपछार पार्न थाले । अब प्राण जाने भो भनेर एक निश्चित थियो तर बिचेतमा नै कराएछु, ‘गुहार !’
त्यसपछि होस सकिएछ । होस आउँदा म न्यानो ओछ्यानमा थिएँ । अस्पतालमा छु भन्ने अनुमान गरेँ । अलिकति बल गरी उठेर अडेस लागेँ । त्यो मान्छे अर्थात् मलाई मन नपर्ने मान्छे पनि थियो ।
त्यसपछि के भयो अलिकति बताउनुपर्ला ।
दिउँसो खानापछि आमा र दाजु, भाउजु आउनुभयो । मलाई उनीहरूसँग पनि चित्त दुखिरहेको थियो । आमाले लगभग डाको छोड्नु भयो । आमा रुनुभएकीले म खरानी भइरहेँ । त्यो मान्छे बढ्यो । मेरो देव्रेहातमा समात्यो । कमजोरीले म प्रतिकार गर्न सकिनँ । त्यो मान्छे अर्थात् मलाई मन नपर्ने मान्छेले सदा झैँ ‘आँखा चिम्सो पारेको थिएन । उसले आमालाई हेरेर भन्यो, ‘आमा……. यो कालीले पाउनसम्म दुःख पाई । तपाईंहरूको विश्वास छ भने उसलाई म सम्हाल्छु ।’
म छक्क परेँ । मैले कहिल्यै चिताएकी थिइनँ । त्यो मैले कहिल्यै मन नपराएको मान्छेले म एउटी झरेकी पातलाई उठाउने दुस्साहस गरिरहेको छ ।
‘मेरो पुर्ख्याैली घर दार्जिलिङ्गमा रहेछ । मेरा काका सिङ्गताममा हुनुहुँदो रहेछ । त्यतै अब स्कूल पढाउछु वा ड्राइभिङ्ग गर्छु । आज म बेलुका फर्कँदै छु । यो काली जान मानी भने म खुसीखुसी आँखामा राख्नेछु ।’
आमाले सोध्नुभयो – ‘राजेश, यसका सबै कुरा थाहा पाएर पनि तिमी यसलाई स्वीकार्छाै ?’
राजेशले के जवाफ दियो, सुनिनँ । तर, मलाई त त्यो मान्छेका खुट्टाहरू कतै भाग्लान झैँ लागे । र, कहाँबाट बल आयो । म बेडबाट झटपट ओर्लिएँ । किनकी, उसका खुट्टाहरू समातेर छाँद हाल्न हतार थियो ।










