बागलुङका एक जना कोरोना संक्रमितलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
बागलङ नगरपालिका–२ का ४८ वर्षीय पुरुषलाई हेलिकप्टरमार्फत उपचारका लागि ललितपुर, भैसिपाटीको मेडिसिटि अस्पतालमा लगिएको बागलुङ नगरपालिका वडा नं २ का वडा सदस्य अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
कोरोना संक्रमणपछि धौलागिरि अस्पतालमा उपचारत उहाँको फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।
होम आइसोलेसनमा उपचार गराइरहेका उहाँको श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई श्रावण १९ गते अस्पताल भर्ना गरिएको थियो। संक्रमित व्यक्तिलाई कोभिड निमोनिया भएको अस्पतालले जनाएको छ । स्रोतका अनुसार कैलाश एयरको हेलिकप्टरले २ लाख ६० हजारमा बागलुङबाट विरामीलाई काठमाडौं लगेको हो ।
धौलागिरि अस्पतालमा अहिले आईसियूमा १ जना र आइसोलेसन वार्डमा ६ जना कोरोना संक्रमित विरामी रहेको अस्पतालका मेसु डा शैलेन्द्र बिक पोखरेलले बताउनुभयो ।










