नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ- एनआईटीएफले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङ बुर्तिबाङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जित्नुभएको थियो ।
एनआईटीएफको २४ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उहाँहरुलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरिएको हो । सोही अवसरमा नेपालगन्जका वीरेन्द्रबहादुर शाही उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित हुनुभएको थियो ।

तीनै जनाले प्रशंसा पत्रसहित जनही १५ हजार नगद पुरस्कार प्राप्त गरेका हुन् । काठमाडौंका मनोज खड्का आउट स्टेन्डिङ प्रशिक्षक, रोल्पा उत्कृष्ट संघ र झापाका नवीन तामाङ उदीयमान प्रशिक्षकको अवार्डबाट सम्मानित भए । उनीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
विगत ३० वर्षदेखि हालसम्म आईटीएफ तेक्वानदोमा सक्रिय नेपालगन्जकी ५४ वर्षीया फात्तिमा बानुलाई पनि विशेष अवर्डाबाट सम्मान गरिएको थियो । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव एकेन्द्र कुँवर, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र एनआईटीएफका अध्यक्ष अन्जन धमलाले पुरस्कृत गर्नुभएको थियो । त्यसअघि वार्षिकोत्सवको उपाध्यक्ष कोइरालाले उद्घाटन गर्नुभएको थियो ।
एनआईटीएफले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही क्रममा उक्त कार्यक्रम पनि आयोजना गरिएको हो । त्यसै अवसरमा सिनियर डान ग्रेडिङबाट ५ जना छैटौं डानमा पदोन्नती भएको जानकारी दिईएको थियो । तेश्रो र चौथो डानका लागि ग्रेडिङ सञ्चालन भइरहेको संघले जनाएको छ ।












