बाग्लुङ- नेपाल सरकारको सेवा सुविधा लिएर शिक्षक पेशामा संलग्न भएका शिक्षकहरु राजनैतिक जिम्मेवारीमा देखिएको भन्दै बाग्लुङ जिल्लाको निसीखोलाका स्थानीयले सामाजिक सञ्जालमा खुलेयाम विरोध सुरु गरेका छन् ।
सरकारी पेशामा आवद्ध भएपनि कुनैपनि राजनैतिक दल वा पक्ष विपक्षीमा रहन नपाउने व्यवस्था छ । सरकारले नै बनाएको नीति र व्यवस्थाको खुल्ला चूनौति दिंदै शिक्षण पेशामा रहेको शिक्षकहरु आफू निकट राजनैतिक दलको पदीय जिम्मेवारीमा देखिएपछि उनीहरुको सामाजिक सञ्जालमा विरोध भएको हो ।
नेकपा माओवादी केन्द्र समर्थक शिक्षकहरु आफ्नो संगठन विस्तारका क्रममा आयोजना गरिएको भेलामा उपस्थित भई भाषण समेत गरेका तस्वीरहरु शिक्षकहरु नै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । यसरी शिक्षण पेशामा रहेका शिक्षकहरुको राजनैतिक सक्रियता देखिएपनि उनीहरु कसरी पेशाप्रति स्वच्छ ढंगले समर्पित होलान भन्दै सामाजिक सञ्जाल मार्फत नै आलोचना गरेका छन् । यस्तै नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको निसीखोला गाउँपालिका स्तरीय भेलाले एक महिला शिक्षकलाई अध्यक्ष बनाएर बधाई हालेको तस्वीर बाहिर आएपछि त्यसको समेत विरोध भएको छ ।
कोरोना संक्रमणका कारण शिक्षकहरु यतिवेला शिक्षण संस्थामा उपस्थित भएका छैनन् । तर राज्यले दिएको सेवा सुविधा लिएर बसेका शिक्षकहरु, बैकल्पिक विधिबाट बालबालिकालाई अध्यापन गराउने कार्यमा समेत संलग्न भएको देखिदैनन् । गर्नुपर्ने कर्तव्य र दायित्व समेत भुलेका शिक्षकहरु एकाएक आफूनिकट राजनैतिक कार्यक्रममा देखिने र सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्न थालेपछि स्थानीय युवाहरुद्धारा उक्त कार्यको विरोध भएको हो ।
उता सामाजिक सञ्जालमा विरोध आएपछि पनि कतिपय शिक्षकहरुले आफ्नो कार्यको बचाउ गरेर कमेन्टहरु लेखेको देखिएको छ । पेशागत मर्यादा र कर्तव्य विर्सेर गरिएका गतिविधिको सचेत तवरले विरोध र आलोचना भने निरन्तर भइरहेको छ । समाजलाई सही दिसानिर्देश गर्न युवाहरुद्धारा गरिएको आलोचनाको सामाजिक सञ्जालमा समर्थन गरिरहेको देखिएको छ ।















