बुर्तिबाङ – भूजिखोलामा आएको बाढिले यस वर्षपनि बुर्तिबाङ देखि ढोरपाटन जाने सडक अवरुद्ध बनाएको छ । भूजिखोलाको बोबाङ खण्डका विभिन्न स्थानमा, खोला किनारमा बनेका सडक बाढिले बगाएको स्थानीयले बताएका छन् । भूजिखोला बढेर सडकमा पसेपछि बुर्तिबाङहुँदै ढोरपाटन पुग्ने सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि जनैपूर्णीमा ढोरबराह दर्शनगर्न जाने दर्शनार्थीले समस्यामा परेको गुनासो गरेका छन् । कोरोनाका कारण बागलुङमा शुक्रबारबाट निषेधाज्ञा थप गरिएको छ । यस अघि जारि निषेधाज्ञा भाद्र ५ गतेसम्मलाई निर्धारण गरिएको थियो । ६ गते देखि खुल्ने अपेक्षा गरि स्थानीयले ढोरवराहमा पूजा आजाको कार्यक्रम सञ्चालन गर्ने योजना बनाई प्रचार प्रसार समेत गरेको अवस्थामा, पछिल्लो पटक थप ५ दिनलाई निषेधाज्ञा जारि भएको छ ।
एकातिर निष्नेधाज्ञा थप भएको, अर्कोतर्फ बाढिले सडकनै अवरुद्ध भएपछि यस वर्षको जनैपूर्णमामा पूजाआजामा समेत समस्या देखिएको छ । गत तीनदिन देखिको निरन्तर वर्षातका कारण, भूजिखोलाको किनारमा रहेका सडक क्षेत्रमा अहिले खोला बगेको छ । बोबाङको दुवाल, भुसण्डे, सुप्राङ लगायतका क्षेत्रमा बाढिले सडक बगाएको छ भने कतिपय स्थानमा खोला नै बगिरहेको स्थानीय ज्ञानबहादुर विकले जानाकारी दिनुभयो ।
सडक अवरुद्ध भएको खबरपछि ढोरपाटन नगरपालिकाले सडकक्षेत्रमा डोजर पठाएको छ ।










