बुर्तिबाङ– पश्चिम बागलुङको भूजिखोलामा आएको बाढिले यस वर्षपनि बुर्तिबाङ देखि ढोरपाटन जाने सडक अवरुद्ध बनाएको छ । भूजिखोलाको बोबाङ खण्डका विभिन्न स्थानमा, खोला किनारमा बनेका सडक बाढिले बगाएको स्थानीयले बताएका छन् । भूजिखोला बढेर सडकमा पसेपछि बुर्तिबाङ हुँदै ढोरपाटन पुग्ने सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि जनैपूर्णीमा ढोरबराह दर्शन गर्न जाने दर्शनार्थीले समस्यामा परेको गुनासो गरेका छन् । आज बिहानै बाट दर्शनार्थीहरु बुर्तिबाङबाट ढोरपाटन हिडेका थिए । केहि हिड्दै त केहि आफ्ना सवारी साधन मार्फत गएका उनीहरु बाटोको धेरै स्थानहरुमा भूजिखोला बगिरहेकोले अलपत्रमा परेका हुन् । कोरोनाका कारण बागलुङमा शुक्रबारबाट निषेधाज्ञा थप गरिएको छ । यस अघि जारि निषेधाज्ञा भाद्र ५ गतेसम्मलाई निर्धारण गरिएको थियो । ६ गते देखि खुल्ने अपेक्षा गरि स्थानीयले ढोरवराहमा पूजा आजाको कार्यक्रम सञ्चालन गर्ने योजना बनाई प्रचार प्रसार समेत गरेको अवस्थामा, पछिल्लो पटक थप ५ दिनलाई निषेधाज्ञा जारि भएको छ ।
एकातिर निषेधाज्ञा थप भएको, अर्कोतर्फ बाढिले सडकनै अवरुद्ध भएपछि यस वर्षको जनैपूर्णमामा पूजाआजामा समेत समस्या देखिएको छ । गत तीन दिन देखिको निरन्तर वर्षातका कारण, भूजिखोलाको किनारमा रहेका सडक क्षेत्रमा अहिले खोला बगेको छ । बोबाङको दुवाल, भुसण्डे, सुप्राङ लगायतका क्षेत्रमा बाढिले सडक बगाएको छ भने कतिपय स्थानमा खोला नै बगिरहेको पुजा गर्न ढोरपाटन हिडेका ढोरपाटन ३ का हेमलाल गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सवारी साधनहरु पनि बाटोमै रोकिएका छन् । एउटा स्काभेटरले बाटो बनाउने प्रयास गरिरहेको छ । तर ढोरपाटन पुग्न अझै धेरै समय लाग्ने हुदाँ सबै बाटोमै अलपत्र बसेका छन् । बाटोमा करिब १५ ओटा जिप,२० ओटा बाईक बाटो खेलेपछि ढोरपाटन जाने प्रखाईमा रहेका छन् ।
सडक अवरुद्ध भएको खबरपछि ढोरपाटन नगरपालिकाले सडक क्षेत्रमा डोजर पठाएको थियो । तर धेरै ठाउँहरुमा बाटो मर्मत गर्नुपर्ने भएको हुदाँ ढोरपाटन हिडेकाहरु बाटोमै अलपत्र परेका हुन् ।
तस्विर सौजन्य – प्रकाश भट्टराई,ढोरपाटन















