नागरिक पनि सचेत र जिम्मेवार बन्नुपर्ने प्रमुख जिल्ला अधिकारी कार्कीको भनाई
बागलुङ जिल्लामा पछिल्लो केही साता निषेधाज्ञा जारी गर्दा पनि कोरोना संक्रमणको दरमा अपेक्षित रुपमा कमी आउन सकेको छैन । असार मध्यबाट केही खुकुलो बनाइएको लकडाउनमै कोरोना संक्रमणको दर बढे पछि जिल्ला प्रशासन कार्यालय बागलुङले दुई साता यता निषेधाज्ञामा थप कडाई गरेको छ ।
प्रशासनले जारी गरेको निषेधाज्ञामा बागलुङ बजारमा कडाई गरिएको छ । बिना काम बाहिर हिँड्डुल गर्ने नागरिकलाई प्रहरीले सडकमै ‘होल्डिङ’ गरेरर कारबाही गरिरहेको छ । अन्तर जिल्ला तथा बिहिरी जिल्लामा चल्ने साना ठूला सवारी साधनहरु पनि ठप्प छन् । तर, पश्चिम बागलुङमा निषेधाज्ञाको कुनै प्रवाह नभएको गुनासो बढ्न चालेको छ । निषेधाज्ञा उल्लंघन गर्दै मेला पर्व र जमघटहरु समेत आयोजना भइरहेको छ ।

सवारी साधनमै नागरिकहरु मेला पर्वमा पुग्ने गरेका छन् । जिल्ला सदरमुकाममा बाहिर पैदल हिँडेको नागरिकलाई कारबाही गर्ने प्रशासनको ध्यान सयौँ नागरिकको जमघट भएको पश्चिम क्षेत्र र ग्रामीण भेगमा नपुग्दा कोरोना संक्रमणको खतरा अझ बढ्ने खतरा देखिएको छ ।
प्रशासनले निषेधाज्ञामा कडाई गरेको बताए केही दिन अगाडि निसेल ढोरमा सयौँ मानिसहरुको जमघट सहित गाउँ पूजा भएको थियो भने आइतबार ढोरपाटन नगरपालिका वडा नम्बर ९ ढोरपाटन स्थित बराह मन्दिरमा सयौं मानिसहरुको उपस्थितिमा पूजाआजा सहित वली चडाईएको छ । ढोरपाटनमा पूजा गर्नको लागि शुक्रबारदेखि नै मानिसहरु ढोरपाटन प्रस्थान गरेका थिए । तर, उनीहरुलाई कुनै पनि निकायबाट रोकावट नभएको भन्दै स्थानिय स्थरबाटै आलोचना भैरहेको छ ।
बुर्तिबाङ निषेधाज्ञाको अवधीमा जिल्लामा मानिसहरुको भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न प्रशासनको निर्देशन छ । तर, पश्चिम बुर्तिबाङ बजार, ढोरपाटन क्षेत्रमा यस्तो निर्देशन केवल विज्ञप्तीमा सिमित रहेको स्थानीयहरुको भनाई छ । यसमा प्रहरी प्रशासनको भूमिका कमजोर र नागरिक अटेरी भएको प्रष्ट देखिएको थियो । बुर्तिबाङ बजारमा प्रहरीले केहि कडाई गरेको भए पनि ढोरपाटन र निसेल ढोरको भिड नियन्त्रण गर्न नसकेको भन्दै बुर्तिबाङ व्यापारीहरुले आलोचना गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संक्रमण तीव्र गतिमा बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रणमा लिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको बताउनुभयो । प्रहरी प्रशासनको प्रयासले मात्रै संक्रमण नियन्त्रणमा आउन नसक्ने भएकाले सबै नागरिक सचेत र जिम्मेवार हुन जरुरी रहेको उहाँको भनाई छ ।












