बागलुङ- बागलुङमा सक्रिय कोरोना संक्रमितको संख्या अहिले पनि ३ सय २४ रहेको छ । जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिकामा मात्र सबैभन्दा धेरै १ सय २८ जना सक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङले जानाकारी दिएको छ ।
जिल्लाको गलकोट नगरपालिकामा अझै ५५ जना सक्रिय संक्रमित रहेका छन् । यो जिल्लाको दोस्रो ढबी संक्रमित रहेको पालिका हो भने, काठेकोला गाउँपालिकामा ४६ जना र जैमिनी नगरपालिकामा ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै ताराखोला गाउँपालिकामा १६ जना तथा बरेङ गाउँपालिकामा १० जना संक्रमित रहेका छन् । निसीखोला गाउँपालिकामा ८ जना, ढोरपाटनमा ५ जना र बडिगाड गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । तमानखोला गाउँपालिकामा कोरोना संक्रमितको संख्या सुन्यमा झरेको छ । अन्य स्थानबाट बागलुङका आइ संक्रमित हुनेको संख्या भने, ९ जना रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कोरोना संक्रमित मध्ये, १४ जना कोभिड अस्पतालमा उपचाररत रहेका छन् । बाकी १ सय ९० जना होम आइसोलेशनमा रहेका छन् । कोभिड संक्रमितको संख्या ५ सय बढि भएका कारण जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले बागलुङलाई निषेधाज्ञा गरेको थियो । सो संख्यामा कमी आएसँगै विहिबार बसेको डिसीएमसीको बैठकले जिल्लामा निषेधाज्ञा खोलेको छ ।
जिल्लामा बैशाखदेखि यता ६ हजार ३ सय ८७ जना कोरोना संक्रमणबाट विरामी भएका छन् । उनीहरु मध्ये ६ हजार ९० जना निकोभएर घर फर्केका छन् भने ६५ जनाले ज्यान गुमाएका छन् ।
बागलुङका १० वटै पालिकामा गरि २८ हजार ४ सय ९६ जनाको पिसिआर परीक्षण तथा ४ हजार ७ सय ३२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ । यसरी बागलुङमा कोरोना परीक्षण गर्नेको कुल संख्या ३३ हजार २ सय २८ जना रहेको छ ।










