दुर्गमका जनता स्वास्थ्य सेवाबाट बन्चित भएको भन्दै बागलुङका स्थानीयले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवासहित ५० शैयाको अस्पताल बनाउन माग गरेका छन्।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २का सभापति दोर्ण कुँवर नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई छुट्टाछुट्टै भेटी ध्यानाकर्षण गराएका हुन्।
बागलुङ सदरमुकामबाट करिव ९० किलोमिटर पश्चिममा रहेको बुर्तिवाङ अस्पतालमा जनशक्ति सहित ५० शैया बनाउनका लागि प्रधानमन्त्री तथा स्वास्थ्य राज्य मन्त्रीको ध्यानाकर्षण गराएको सभापति कुँवरले बताउनुभयो । ‘भौतिक पूर्वाधार निर्माण भए पनि जनशक्तिको व्यवस्थापन हुन सकेको छैन,’ शुक्रबार स्वास्थ्य राज्य मन्त्री श्रेष्ठलाई भेटे पछि कुँवरले भन्नुभयो ‘चिकित्सकको व्यवस्थापन गर्नै ५० शैयाको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालय समक्ष माग राखेका छौं।’
जिल्ला सदरमुकामाबाट टाढा भएकाले त्यस क्षेत्रका स्थानीय उपचार गर्न सदरमुकाम बागलुङ,पोखरा पाल्पा, बुटवल र जाने गरेका छन्। चिकित्सक नहुँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता पनि रहेको छ। जनशक्तिको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि स्थानीयको माग बमोजिम कार्यको लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरी कार्य अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रिपरिषदको कार्यालयले मन्त्रालयलाई पठाएको पत्रमा माग बमोजिम कार्य अघि बढाउन भनेको छ।
बुर्तिवाङ स्थित अस्पतालमा बागलुङ सहित गुल्मी, रुकुमका विरामी पनि उपचार गर्न आउँछन्। सुविधा सम्पन्न भवन भए पनि विशेषज्ञसहितका चिकित्सक र आवश्यकता अनुसार शैया नहुँदा स्थानीयले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन्।













