ढोरपाटन नगरपालिका ३ को घोसाखानी आधारभूत विद्यालय माध्यमिक तहमा स्तरउन्नति

ढोरपाटन नगरपालिका ३ को घोसाखानी आधारभूत विद्यालय माध्यमिक तहमा स्तरउन्नति
२०७८ भदौ २७ गते आईतबार ०८:४५

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ३ स्थित घोसाखानी आधारभूत विद्यालयलाई नगरले माध्यमिक तहमा स्तरउन्नति गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गर्दै शनिबार उद्घाटन गर्नुभएको हो । विक्रम...

नगर प्रमुख नेपालीद्धारा उद्घाटन

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ३ स्थित घोसाखानी आधारभूत विद्यालयलाई नगरले माध्यमिक तहमा स्तरउन्नति गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गर्दै शनिबार उद्घाटन गर्नुभएको हो ।

विक्रम सम्बत २०१७ सालमा स्थापना भएको विद्यालय यसअघि आधारभूत तहको कक्षा ८ सम्म पठनपाठन भइरहेको विद्यालयलाई नगरपालिकाले माध्यमिक तहमा स्तरवृद्धि गरेको हो । स्थानीय जनताको माग र सञ्चालन गर्ने चाहना अनुसार विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएको नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । शिक्षा क्षेत्रको विकास र उन्नतिका लागि नगरपालिकाले ठूलो लगानी गरेको भन्दै नगरप्रमुख नेपालीले दलित समुदाय र अल्पसंख्यक समुदाय छन्त्यालहरुको अधिक बसोवास रहेको स्थानमा शैक्षिक उन्नयनको काम गर्नु सकरात्मक रहेकाले आधारभूत तहबाट माध्यमिक तहमा स्तरवृद्धि गरिएको नगरप्रमुख नेपालीले बताउनुभयो ।

नगरपालिकाले विद्यालय सञ्चालनका लागि शिक्षक आवश्यकतामा योगदान गर्ने तर गुणस्तरीय शैक्षिक गतिविधिमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका रहने नगरप्रमुख नेपालीले उद्घाटन कार्यक्रममा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै नेपालीले, घोसाखानी र यस आसपासका जनताका लागि शैक्षिक व्यवस्थापनमा घोसाखानीको विद्यालयलाई माध्यमिक तहमा स्तर वृद्धि गरियो ।

यसरी नै घोसाखानीमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने बताउनुभयो । नगरका तर्फबाट गरिव वस्तिका खरका छाना विस्थापन गर्ने र जस्तका छाना हाल्ने कार्यक्रम, नयाँ हशरी आयोजना अन्तरगत चाँचलघाट हुँदै घोसाखानी-कालापोल सम्मको सडक स्तरवृघि तथा पिच गर्ने कार्यक्रममा बजेट विनियोजन गरिएको, महिला समुहको भवन निर्माण, विश्वकर्मा मन्दिर निर्माण, घोसासम्मको सिडि निर्माण तथा देउराली र कालापोलको केन्द्र पर्ने स्थानमा वालविकास केन्द्र स्थापना गर्ने यस वर्षको योजना रहेको मन्तव्यमा बताउनुभएको थियो ।

विकास निर्माणमा सबैको एकता र सहकार्य आवश्यक रहेको बताउँदै नेपालीले, आफ्नो ठाउँको विकास निर्माणमा सबैले सत्कर्म गर्न समेत आह्वान गर्नुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेवीका तर्फबाट बोल्दै लोकबहादुर विश्वकर्माले, दलित समुदायको केनद्रमा सञ्चालित विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । दैनिक ३- ४ घण्टाको दुरीमा विद्यार्थीहरु माध्यमिकत तहको शिक्षा लिन जानुपर्ने बाध्यता अव हटेको भन्दै उहाँले सकरात्मक कामका सबैको साथ र सहयोग हरने बताउनुभयो ।

यस्तै आफ्नो मन्तव्यमा स्थानीय समाजसेवी लेखत बहादुर कार्कीले, गाउँको स्कुल आधारभूत तहबाट माध्यमिक तहका स्तरवृद्धि भएकोमा खुसी व्यक्ति गर्दै आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ आर्थिक सहयोग रहेको घोषणा गर्नुभयो । कार्यक्रममा ढोरपाटन नगर कार्यपालिका सदस्य बेलकुमारी छन्त्यालले, स्थानीय जनताको अपेक्षा अनुसार गत वर्ष विद्यालयको भवन निर्माण भएको र यस वर्ष माध्यमिक तह सञ्चालनका लागि कक्षा ९ सुरु भएको बताउँदै, सबैको चाहना र विकासमा एकता आवश्यक रहेको बताउनुभयो ।

यस्तै विद्यालयका प्रधानध्यापक खुमबहादुर छन्त्यालले स्थानीय सरकार, जनप्रतिनिधि, स्थानीय शिक्षाप्रेमी बुद्धिजीवीहरुको सहयोग र सक्रियतामा माध्यमिक तह सञ्चालनको अवस्थामा आउँदा खुसी लागेको बताउँदै, थप व्यवस्थापनमा अभिभावकहरुको सक्रियता आवश्यक रहेको बताउनुभयो । शैक्षिक गुणस्तरमा शिक्षक तथा विद्यालय प्रशासनको सक्रियता रहने प्रतिवद्धता सहित प्रधानाध्यापक छन्त्यालले अन्य आवश्यकता पहिचान र व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारका प्रतिनिधिहरुको चासो आवश्यक रहने बताउनुभयो ।
यस्तै कार्यक्रममै विद्यालयका अभिभावक कृष्णबहादुर छन्त्यालले, विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिदा सबैको खुसीयाली रहेको तर अन्य दायित्वमा समेत चासो रहनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको व्यवस्थापकीय पक्ष राम्रो बनाउन भन्दै १० हजार रुपैयाँ आर्थिक सहयोग समेत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर विश्वकर्माले विदालयलाई थप व्यवस्थित र सक्रिय पठनपाठनका लागि आफूले व्यवस्थापन समितिलाई चुस्त दुरुस्त बनाएर जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराई, वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारी, कार्यपालिका सदस्य नरबहादुर सुनार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, चन्दादाता, अभिभावक शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०७८ भदौ २७ गते आईतबार ०८:४५
प्रतिक्रिया दिनुहोस्