बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ३ स्थित घोसाखानी आधारभूत विद्यालयलाई नगरले माध्यमिक तहमा स्तरउन्नति गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभएको कार्यक्रममा विद्यालयलाई पाँच लाख बराबरको अक्षयकोष घोषणा गर्नुभएको छ ।
यसअघि आधारभूत तहको कक्षा ८ सम्म पठनपाठन भइरहेको थियो । सो विद्यालयलाई नगरपालिकाले माध्यमिक तहमा स्तरवृद्धि गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपालीले, विद्यालयको शैक्षिक विकासका लागि भन्दै आफ्नो तर्फबाट पाँच लाख रुपैयाँ अक्षयकोष घोषणा गर्नुभएको हो । स्थानीय जनताको माग र सञ्चालन गर्ने चाहना अनुसार विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएकाले गुणस्तरीय शैक्षिक गतिविधिमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिनुभएको थियो ।
स्थानीय स्तरमा समेत आर्थिक अभियान सञ्चालन भएरहेको अवस्थामा नगरप्रमुखले विदालयलाई पाँच लाखको अक्षयकोष घोषणा गरिदिएर आफूहरुलाई थप हौसला मिलेको विद्यालयका प्रधानाध्यापक खसमबहादुर छन्त्यालले बताउनुभयो । ‘सबैतिरबाट राम्रो सहयोग भएको छ । स्थानीय अभिभावक, स्थानीय सरकार, समाजसेवी, शिक्षाप्रेमीको साथ र सहयोग रहेमा विद्यालयलाई नमूना बनाउने प्रधनाध्यापक छन्त्यालले प्रतिवद्धता बताउनुभयो ।’ स्थानीय स्तरको विकास निर्माणमा सबैको एकता र सहकार्य आवश्यक रहेको भन्दै विद्यालयको शैक्षिक प्रगतिमा सबै मिलेर लाग्नुपर्ने स्थानीय समाजसेवी लोकबहादुर विश्वकर्माले बताउनुभयो ।
जनताको जनचाहना पनि हो, आवश्यकता पनि थियो । हामी सबैको पहल र नगरपालिकाको समेत सकरात्मक निर्णयले दलित र अल्पसंख्यक समुदायको बीचमा माध्यमिक तहको विद्यालय सञ्चालन हुनु महत्वपूर्ण विषय भएको कार्यपालिका सदस्य नरबहादुर सुनारले बताउनुभयो । कालापोल र देउरालीका जनताकाबीचमा एउटा वालविकास केन्द्रको आवश्यकता रहेको बताउँदै कार्यपालिका सदस्य सुनारले, त्यसको लागि समेत पहल गर्नुपर्ने बताउनुभयो ।
दैनिक ३-४ घण्टाको दुरीमा विद्यार्थीहरु माध्यमिक तहको शिक्षा लिन जानुपर्ने बाध्यता अब हटेको भन्दै स्थानीय जनताले खुसी व्यक्त गरेका छन् । २०१७ सालमा स्थापना भएको विद्यालय प्राथमिक तह, आधारभूत तहहुँदै माध्यमिक तहमा स्तर वृद्धि गरिएको छ । अहिले कक्षा नौ को पठनपाठन सुरु भएको विद्यालयका शिक्षक दिपेन्द्र छन्त्यालले बताउनुभयो ।
नगरप्रमुखले रु ५ लाख रुपैयाँ अक्षयकोष घोषणा गर्दैगर्दा स्थानीय समाजसेवी लेखत बहादुर कार्कीले, गाउँको स्कुल आधारभूत तहबाट माध्यमिक तहका स्तरवृद्धि भएकोमा खुसी व्यक्ति गर्दै आफ्नो तर्फबाट रु ५१ हजार रुपैयाँ आर्थिक सहयोग रहेको घोषणा गर्नुभएको थियो । यस्तै स्थानीय अभिभावक कृष्णबहादुर छन्त्यालले समेत विद्यालयलाई रु १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो ।













