सरकारले पुरक बजेट ल्याउँदा बागलुङ १३ सडक आयोजना प्रभावित हुने भएका छन् । केही वर्षअघि देखि स्तरोन्नतिको चरणमा रहेका सडक बजेट अभावका कारण प्रभावित हुने भएका हुन् । बागलुङको मालढुंगा देखि पाग्जा, लहरेबर,अमलाचौर हुँदै कुश्मीशेरा जोड्ने सडक स्तरोन्नतिको चरणमा छ ।
आर्थिक वर्ष २०७६ सालमा बागलुङ नगरपालिका १३, पैञ्युँपाटामा झन्डै एक किलोमिटर स्तरोन्नति गरेर कालोपत्रे भएको सडक अघिल्लो आर्थिक वर्षमा अमलाचौरमा झन्डै आधा किलोमिटर कालोपत्रे भएको थियो । संघीय सरकारको २ करोड र थप बजेट ४० लाखमा काम सुरु भएको उक्त सडकको केही काम अझै बाँकी छ । तर, चालु वर्षका लागि विनियोजित बजेट संशोधन भएपछि यो सडकले पूर्णता नपाउने बागलुङ नगरपालिका १२ का वडाध्यक्ष गुरुदत्त पाठकले बताउनु भयो ।
काठेखोला गाउँपालिकाको अक्षेतेबाट मुल्ठाना हुँदै सिम सडक स्तरोन्नतिको चरणमा थियो । अघिल्ला २ वर्षमा सडक फराकिलो बनाउने काम भएको थियो । केही असजिलो ठाउँहरुमा ग्याबिन लगाउने काम गत आवमा भएको थियो । बहुवर्षे योजनाका रुपमा काम भइरहेको यो सडकमा विनियोजित बजेट संशोधन हुँदा गाउँपालिकाको मुख्य सडककै काम रोकिने अध्यक्ष अमर थापाले बताउनुभयो ।
बागलुङ नगरपालिकाको गलुवाहुँदै भकुण्डेदेखि डोठेताल पुग्ने सडकको समेत काम अलपत्र पर्नेछ । गत आवमा १ करोड ४० लाख बजेट रहेको सडकको स्तरोन्नतिको काम भैरहेको छ । आउँदो चालु आवका लागि भने बजेट शुन्य रहेको सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख मुकुन्द लामिछानेले बताउनुभयो ।
सदरमुकाम बागलुुङ बजारबाट बरेङ गाउँपालिका पुग्ने छोटो सडकका रुपमा सिगाना, चापाखर्कहुँदै बरेङ जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको ३ वर्ष भएको थियो । सडक फराकिलो बनाउने, नाली बनाउने र असजिलो ठाउँहरुमा ढलान गर्ने स्टिमेट रहेको सडकको काम पनि बजेट अभावले प्रभावित हुनेछ ।
यो सडकको काम रोकिँदा वैकल्पिक मार्गको रुपमा विकास भइरहेको सडकको काम रोकिँदा सर्वसाधारण मर्कामा पर्नेछन् । ‘गत वर्ष बाँकी रहेको बजेटबाट सबै सडकमा काम हुन्छ तर बजेट अभावमा नयाँ स्टमेट भर काम नहुने भो,’ लामिछानेले भन्नुभयो, ‘जिल्ला भरका १३ सडकको स्तरोन्नति भइरहेको थियो, नयाँ सडकको पनि कुनै योजना चल्ने छैनन् ।’
सडक सुधार विस्तारका योजना सबै संशोधन हुँदा जिल्लाभर १३ सडक प्रभावित हुनेछन् । बर्षा याममा बिग्रिएका सडक मर्मतका लागि समेत डिभिजनसँग स्रोतको अभाव छ । असार १ गतेको बाढी र बर्षाका कारण पहिरोले कामै नलाग्ने बनाएको बागलुुङ कुश्मीशेरा सडकको मर्मतका लागि बजेटको अभाव रहेको लामिछानेले बताउनुभयो । ढोरपाटन न्युज










