बागलुङ- धौलागिरी अस्पताल बागलुङलाई अष्ट्रेलियामा बस्ने नेपालीको संस्था बागलुङ–अष्ट्रेलियन कमिटी सिड्नीले २८ लाख रुपैयाँ पठाएपछि एम्बुलेन्स किन्ने तयारी थाल्यो ।
एम्बुलेन्स पनि सामान्य जीप जस्तो होइन, बि क्लासको सुविधायुक्त ट्रमा एम्बुलेन्स । त्यहीँ अक्सिजन हुन्छ, एक जना अस्पतालका डाक्टर सहित विभिन्न सुविधा हुन्छन् । जसको कारण अस्पतालबाट पोखरा, काठमाण्डौ रिफर गरिएका विरामीलाई बीच बाटोमा अप्ठ्यारो पर्ने कम हुन्छ ।
धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबि राना भन्नुहुन्छ–‘विरामीहरुको लागि धेरै सुविधा हुने र धेरै मान्छेको जीवन बचाउन सकिने भएकाले त्यस्तो एम्बुलेन्स किन्ने तयारी थाल्यौँ ।’ अस्पताल विकास समितिले एम्बुलेन्स किन्दा लाग्ने राजश्व छुटको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्यो । बागलुङ नगरपालिकाले पनि मन्त्रालयमा राजश्व छुटको लागि पत्र लेख्यो ।
स्वास्थ्य मन्त्रालयले एकिकृत एम्बुलेन्स तथा पूर्व अस्पताल स्वास्थ्य सेवा व्यवस्थापन कार्यसमिति, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाईलाई सिफारिस गर्यो । त्यस्तो एम्बुलेन्स किन्नको लागि २८ लाख रुपैयाँले अपुग हुन्थ्यो । ६० लाख रुपैयाँ पर्ने एम्बुलेन्स किन्न अस्पताल विकास समितिले मन्त्रालयमा अपुग थप रकम पनि माग्यो ।
यस विषयमा अध्यक्ष राना स्वयम आफै खटिएकाले त्यहाँका सचिवले पैसा थप गर्ने आश्वासन दिए । सचिवको आश्वासनबाट राना एम्बुलेन्स पाईनेमा ढुक्क भए । आफ्नो कार्यकाल सकिनै लाग्दा अस्पताललाई एउटा राम्रो एम्बुलेन्स ल्याईयो भन्नेमा भन्नेमा । पत्र लेख्ने, मन्त्रालय धाउने, सचिवसँग कुरा गर्ने गर्दै करिब ५ महिना बित्यो । अस्पतालले एम्बुलेन्स किन्नको लागि आवश्यक सबै प्रक्रिया पूरा गर्यो ।
अन्तिममा अब एम्बुलेन्स आउँछ भन्ने अवस्थामा पुग्यो अस्पताल विकास समिति । तर नीति, योजना तथा अनुगमन महाशाखाले स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाईलाईलाई पत्राचार गर्दै टु ह्वील ड्राइभको एम्बुलेन्स सञ्चालनको लागि राजश्व छुट दिन नमिल्ने पत्राचार गर्यो । महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले एकिकृत एम्बुलेन्स निर्देशिका २०७७ बमोजिम टु ह्वील ड्राईभको एम्बुलेन्स सञ्चालन तथा राजश्व छुट दिन नमिल्ने पत्राचार गर्नुभयो।
साथै उनले पत्र मार्फत सोहि प्रकृतिको फोर ह्वील ड्राईभ एम्बुलेन्स सञ्चालन तथा राजश्व छुटको लागि आवश्यक पर्ने थप बजेट अर्थ मन्त्रालयमा लेखि पठाउने वा मन्त्रालयमा अनुदानमा उपलब्ध हुने मध्ये एक एम्बुलेन्स अस्पताललाई उपलब्ध गराउने भनि २०७८र०५र१७ को नीति बैठकमा निर्णय भएकोले कार्यान्वयनको लागि पत्राचार गर्नुभयो ।
मिश्रको त्यो पत्रले धौलागिरी अस्पतालले किन्ने तयारी गरेको बि क्लासको सुविधायुक्त ट्रमा एम्बुलेन्स तत्कालको लागि स्थगन भएको छ । त्योसँगै बागलुङबासी अस्पतालमै रहेको एउटा खटारो एम्बुलेन्समा चढ्न बाध्य हुने भएका छन् । ईपरी न्यूज










