बुर्तिबाङ- बागलुङको ढोरपाटन नगरपालिका वडा नं. २ तारिखेतमा गएराति आएको बाढिले २ घरमा पुर्ण रुपमा पुरिएका छन भने, ७ घरमा आंशिक क्षति पुर्याएको छ ।
मंगलबार राति परेको अविरल वर्षतपछि ठाडो खोल्सामा आएको पहिरो वस्तिमा पसेको हो । बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर बगाएर पूण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरिक्षक जयराम वन्तले बताउनुभयो ।
राति १ बजे तिर ठाडो खोल्सा माथिबाट आएको बाढी उनीहरुको घर भित्र पसेको थियो । बाढीले घर पुरिए पनि मानवीय क्षति भएको छैन । बाढी आएर बस्तिमा पसेको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली तत्काल उद्धारमा खटिएको प्रहरी निरीक्षक वन्तले बताउनुभयो । बाढिले पूर्ण क्षति पुरयाएको तमबहादुर महतको घरमा अन्य तीन परिवारहरु घरभाडामा बस्दै आएको पाइएको छ ।
महतको घरमा बस्दै आएका गोमा छन्त्याल, मान बहादुर कुवंर र सरिता विकको परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको थियो । यस्तै देबिराम अर्याल, बुद्धिराम वि.क, खिम बहादुर गौतम, मनिसरा पुन, चमलाल घिमिरे, अमर वि.क र प्रेमबहादुर शाहीको घरमा भने आँशिक क्षति पुगेको वडा नं. २ का वडा अध्यक्ष युवराज महतले बताउनुभयो ।
बाढीका कारण तारिखेतका ९ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । प्रहरीको टोली पुरिएका घरबाट सर-सामान निकाल्न सहयोग गरेको छ बाढिका कारण करिब ३६ लाख बराबरको आर्थिक तथा भौतिक क्षति पुगेको प्रहरी निरिक्षक वन्तले जानकारी दिनुभयो । तत्कालको लागि राहत सहित ढोरपाटन नगरपालिकाको टोली पीडितहरुको वस्तिमा पुगेको छ ।
बाढीले सालझण्डी-ढोरपाटन सडक समेत अवरुद्ध बनाएको थियो । उक्त सडक नगरपालिकाको जेसीभि लगाएर तत्काल खुलाइएको वडा अध्यक्ष महतले जानाकारी दिनुभयो ।














