गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको शोकमा तम्घास बजारका पसल व्यवसाय बन्द गरिएको छ ।
रेसुङ्गा नगरपालिका–८ खानीगाउँ थुम्कालाइनका व्यवसायी तिलक परियारका तीन छोरीको पहिरोमा परेर मृत्यु भएको शोकमा आज बुधबार दिउँसो १ बजेबाट तम्घास बजारका सबै पसल व्यवसाय बन्द गरिएको हो ।
परियारले तम्घास बजारमा टेलरिङ व्यसाय गर्दै आउनुभएको थियो। मंगलबार राति पहिरोमा परेर २१ वर्षीया भावना परियार, १४ वर्षीया गंगा परियार र १४ वर्षीया जमुना परियारको मृत्यु भएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताउनुभयो ।
एकतले पक्की घरमाथिबाट ढुंगामाटो सहितको पहिरो बीचको कोठामा पसी एकै ठाउँमा सुतिरहेका तीन जना पुरिएर मृत्यु भएको हो । पहिरोमा परिवारका ३ जना सकुशल रहेका छन् ।
प्रकाशित मिति २०७८ असोज ६ गते बुधबार ०२:३६