विश्व महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणमा बागलुङको ढोरपाटन नगरपालिकाले २ करोड १६ लाख ३३ हजार १ सय ८३ रुपैयाँ खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६-०७७ मा सो रकम खर्च गरेको हो । कोभिड–१९का विरामी बोक्ने सवारी भाडामा मात्र नगरपालिकाले २१ लाख ३८ हजार ९ सय ८० रुपैयाँ खर्च गरेको जनाएको छ ।
यस्तै मेडिकल सामाग्रीमा ५९ लाख ४७ हजार ८९ रुपैयाँ, राहत सामाग्री खरिदमा ६२ लाख १८ हजार ९ सय ७२ रुपैयाँ, क्वारेन्टाईन व्यवस्थापन २१ लाख ९३ हजार २ सय ९४ रुपैयाँ, तथा विविध खर्च तर्फ ७ लाख ९४ हजार ७ सय ७ रुपैयाँ तथा स्वास्थ्यकर्मी प्रोत्साहनमा १३ लाख ३ हजार ५ सय रुपैयाँ खर्च गरेको महालेखा परीक्षणमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदमा उल्लेख भए अनुसार विपद व्यवस्थापन तथा कोरोना कोषमा जम्मा भएको सो रकम पूर्ण रुपमा खर्च भएको देखिएको हो ।
कोषमा प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालयबाट १० लाख रुपैयाँ, सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपैयाँ, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ४८ लाख ७१ हजार ७ सय ७२ रुपैयाँ, अन्यबाट ८ लाख ३९ हजार ९ सय ६९ र नगरपालिकाबाट १ करोड ३३ लाख ६० हजार १ सय २८ रुपैयाँ गरि २ करोड १६ लाख ३३ हजार १ सय ८३ रुपैयाँ जम्मा भएको थियो । जम्मा भएको सबै रकम खर्च गरिएको देखाईएको छ ।
कोरोना नियन्त्रणमा भएको खर्च विवरण महालेखा परीक्षणमा देखिएपछि स्थानीय स्तरमा भने खर्च विवरण पारदर्शी नरहेको भन्दै प्रश्न उठाएका छन् । नगरले आफ्नो खर्च विवरण जनमूखी नगरी, जनप्रतिनिधिमुखी बनाएको भन्दै आलोचना भएको हो ।









