पोखरामा आमसञ्चार विधेयकउपर नीतिगत छलफल भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाली पत्रकार संघ कास्कीले गण्डकी प्रदेश सरकारद्वारा प्रस्तावित आमसञ्चार विधेयकबारे नीतिगत छलफल गरेको हो ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले ३ तहको सरकारले सञ्चार विधेयकका विषयमा गतिलो गृहकार्य गर्न नसकेको बताए । जिम्मेवारी र जवाफदेही पूर्ण पत्रकारितामाथि गण्डकी प्रदेश सरकारले अकुंश लगाउन खोजेको आरोप उनको छ ।
विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टीलाई प्रत्याभूत हुने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले प्रेसमैत्री कानुन छिटो बनोस् भन्ने चाहना महासंघको पनि रहेको बताए । ‘प्रेस मैत्री कानुन छिटो बनोस् भन्ने चाहना हाम्रो पनि छ’, उनले भने, ‘तर चाहना छ भन्दैमा श्रमजीवी पत्रकारको हित विपरीतको काम गर्नुभएन ।’ आमसञ्चार विधेयक फिर्ता गर्ने अथवा संसदीय प्रणालीमार्फत् सच्याउनुपर्ने नीतिगत आधारहरु सरकारसँग रहेको भनाइ उनको छ ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले आमसञ्चार विधेयक सरकारले संशोधन नगर्दा सञ्चार क्षेत्रमा ठूलो असर पुग्ने बताइन् । उनले आमसञ्चार विधेयक पत्रकारिताका लागि जन्जिर भएको उल्लेख गरिन् । ‘गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक हाम्रा लागि जन्जिर साबित भएको छ । पत्रकार महासंघ कास्की यसमा खेद प्रकट गर्दछ । प्रेस स्वतन्त्रतामाथि लगाइने अंकुशविरुद्ध हामी सधैं लड्नेछौं । त्यसैले पत्रकारहरुको अहित हुने गरी विधायन समितिमा लगिएको आमसञ्चार विधेयक संसदमा पारित हुनुभएन ।’, उनले भनिन् ।
भण्डारीले आमसञ्चार विधेयक फिर्ता नगरिए आन्दोलन गर्ने चेतावनी दिएकी छन् । उनले नयाँ ड्राफ्टअनुसार मिडियामैत्री विधेयक बनाउन प्रदेश सरकारलाई आग्रह गरिन् । ‘हामीसँग पटकपटक आमसञ्चार विधेयक उपर छलफल भएको छ । तर पत्रकारबाट आएका सुझावहरु एउटा पनि समावेश गरिएको अवस्था छैन । कर्मचारीले बनाएको आमसञ्चार विधेयक हामीलाई मान्य छैन । त्यसैले यसलाई सच्याई प्रेसमैत्री बनाउन आग्रह गर्दछु ।’
पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले आमसञ्चार विधेयक नागरिक अधिकारसँग जोडिएको बताए । ‘आमसञ्चार विधेयक नागरिकसँग पनि जोडिएको विषय हो । गण्डकी सरकारद्वारा प्रस्तावित विधेयक नागरिकको अहितमा छ । पत्रकारसँगै नागरिकका आवाजसमेत कुण्ठित गर्न खोजिएकोे छ, ’ उनले भने ।
शर्माले प्रदेश सरकारले आर्थिक विधेयकबाहेक अरु कुनै पनि विधेयक ल्याउन नहुने धारणा राखे । भारतमा गरिबी घटाउन मिडियाको पहुँच बढाउँदा त्यहाँको समस्या टरेको उदाहरण दिँदै उनले नेपालको मूल कानूनसँग बाझिने विधेयकको कुनै औचित्य नरहेको उल्लेख गरे । उनले अहिलेको प्रदेशसरकारको आमसञ्चार विधेयकले सरकार नै डगमगाउन सक्ने अवस्था आउने बताए ।
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारलाई नियन्त्रण गर्ने मनसायका साथ आमसञ्चार विधेयक आएको बताए । उनले कर्मचारीले पत्रकारलाई दबाउन सक्ने हेतुले ल्याएको विधेयकको मान्यता नहुने धारणा प्रस्तुत गरे । विधेयकलाई फिर्ता लिनुपर्ने र नयाँ ड्राफ्ट बनाएर संसदमा प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ ।
पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले विधेयक पहिलोपटक संसदमा पेस हुँदा पनि पत्रकारसँग व्यापक छलफल गरिएको तर संशोधन नभएको बताए । उनले सरकार परिवर्तनपश्चात केन्द्रमा प्रतिस्थापन विधेयक ल्याउन मिल्ने तर गण्डकीमा आमसञ्चार विधेयकको नयाँ ड्राफ्ट तयार गर्न नमिल्ने भन्दै प्रश्न गरेका छन् । ‘फ्रिडम अफ प्रेस’ को मान्यता विश्वव्यापीरुपमा लागु भएका बेला प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकले पत्रकारलाई दबाउन खोजेको श्रेष्ठले बताए । आमसञ्चार विधेयक नेपालको संविधान २०७२ को बर्खिलाप रहेको भनाइ उनको छ ।
पत्रकारिताका प्राध्यापक दीपक के श्रेष्ठले पत्रकारले लेखेका समाचारमा चित्त नबुझे दण्ड दिने अधिकार सरकार र मन्त्रीमा हुन्छ भन्नु नै लाजमर्दो विषय रहेको उल्लेख गरे । उनले प्रेसलाई दमन गर्दा नागरिक स्वतन्त्रतामाथि नै प्रहार हुने बताए । उनले प्रेस रजिस्ट्रार सम्बन्धित विषयमा नै स्नातक वा स्नातकोत्तर गरेको हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा गण्डकी प्रदेशका विधायन समितिका सदस्यहरु धनञ्जय दवाडी, मनबहादुर गुरुङ, राजीव पहारी र पियारी थापाको उपस्थिति थियो । सबैले पत्रकारले दिएका सुझावलाई आत्मसाथ गर्दै आमसञ्चार विधेयक पारित गराउनतर्फ लाग्ने धारणा प्रस्तुत गरे ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकारबाट आएका सुझावअनुसार नै आमसञ्चार विधेयक संशोधन गरिने बताए । उनले भने, ‘आमसञ्चार विधेयक विधायन समितिमा गएको छ । पत्रकार साथीहरुबाट धेरै राम्रा विचारहरु आएका छन् । पत्रकारिताका विज्ञहरुलाई नै राखेर प्रेसमैत्री विधेयक बनाउनतर्फ म प्रतिबद्ध छु । त्यसैले आत्तिनुहाल्नुपर्ने आवश्यकता छैन, धैर्यता गरौं प्रतिफल अवश्य राम्रै प्राप्त हुनेछ ।’
कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्री विनोद प्रतीक र पुण्य पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, पत्रकार माधव पनेरु, अर्जुन गिरी, रमेश पौडेल, नवराज पन्त, सन्देश श्रेष्ठलगायतले बोलेका थिए ।










