बागलुङको ढोरपाटन नगरपालिकामा नेपाली काँग्रेसको नगर सभापति पदमा धनबहादुर कायत (कल्याण) निर्वाचित हुनुभएको छ । शनिबार राति निर्वाचन प्रक्रिया मार्फत काँग्रेसको नगर सभापतिमा कायत निर्वाचित हुनुभएको हो ।
नगर सभापतिमा कायतसँगै व्यवसायी दिपक अदैले उमेदवारी दर्ता गर्नुभएको थियो । नगरपालिकामा दुईथरी नेताहरुले दुई प्यानल खडा गरेका थिए । क्षेत्रीय सभापति दोर्ण कुवँरले दीपक अदैलाई नगर सभापति र रेडियो ढोरपाटनका स्टेशन प्रमुख समेत रहेका पत्रकार छविलाल पाण्डेलाई सचिवमा लडाए । दुवैजना पराजित भएका छन् । अर्को प्यानलमा जीत शेरचनले सभापतिमा कायतसहितको प्यानल खडा गरेका थिए । सो प्यानल विजयी भएको छ । अन्य केही पदमा दुवै पक्षका निर्वाचित भएको काँग्रेस स्रोतको भनाई छ ।
उपसभापति पदमा ३ जनाले उमेद्वारी दिएका थिए । जहाँ रमेश गौतम र कृष्ण केसी चयन हुनुभएको छ । यस्तै २ जना सचिव हुनुपर्नेमा ५ जनाको उमेद्वारी परेको थियो । जहाँ दिपेन्द्र विश्वकर्मा र टिकाराम पाण्डे निर्वाचित हुनुभएको छ । यसैबीच सहसचिवमा अजितजंग कुवँर र विरेन्द्र बुढाथोकी निर्विरोध चयन हुनुभएको निर्वाचन अधिकृत हिरालाल पौडेलले जानाकारी दिनुभयो ।










