बिचौलियाको मार छल्न बजार खोज्दै बागलुङका दुध किसान

बिचौलियाको मार छल्न बजार खोज्दै बागलुङका दुध किसान
२०७८ असोज १३ गते बुधबार ०६:२४

गोठभरी गाई पालेका बागलुङ जैमिनीका विकास पौडेल दिनमा ५० लिटर दुध उत्पादन गर्नुहुन्छ । विदेशमा केही बर्ष काम गरेर गाउँ फर्किएपछि उहाँले व्यवसायीक पशुपालन थाल्नसभएको हो । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पेशा गर्नुभएका पौडेललाई...

गोठभरी गाई पालेका बागलुङ जैमिनीका विकास पौडेल दिनमा ५० लिटर दुध उत्पादन गर्नुहुन्छ । विदेशमा केही बर्ष काम गरेर गाउँ फर्किएपछि उहाँले व्यवसायीक पशुपालन थाल्नसभएको हो । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पेशा गर्नुभएका पौडेललाई अरुको दुध फर्ममा दुध विक्री गर्दा पेशागत सुरक्षा नभएको चिन्ता छ ।
उहाँले मेहनत गरेर उत्पादन भएको दुध हिउँदमा ढुक्कले बिक्री हुन्छ, बर्षामा भने बजारको समस्या भन्दै डेरीवालाहरु सताउँछन् । बिहानको बिक्री गरे बेलुका रोकिन्छ, बेलुकाको बिक्री हुँदा बिहान बजार जाँदैन । यस्तो समस्या परेपछि आफै बजारीकरणको जोहो गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
व्यवसायीक रुपमा उत्पादन भएको दुध घरायसी प्रयोजनले मात्रै खपत हुँदैन । विकास जस्तै जैमिनी र बागलुङ नगरपालिकाको बलेवा र ढोरपाटन नगरपालिकाका समेत गरि झण्डै २ सय किसानले व्यवसायीक दुध उत्पादन गर्छन । बजारमा हुने मोलमोलाईले सबैको समस्या उस्तै छ । बागलुङको अमलाचौरमा एकल रुपमा दैनिक दुइ सय लिटर दुध उत्पादन गर्ने लिलाधर शर्माले खोला र सडकमै दुध पोखेका अनेक किस्सा सुनाउनुभयो । किसानको दुध बजारमा पुग्दा बिचौलिया रमाउँछन । सुख्खा सिजनमा दुधको माग अधिक हुने बजारले बर्खामा भने किसानको दुध फिर्ता गर्छन ।
बजार नभएको होईन, विचौलियाले आफूखुसी दररेट बढाउने किसानलाई कम रेटमा दुध लिने समस्या उत्पन्न गराइदिएपछि आएको समस्या भएको विकास पौडेलले बताउनुभयो । किसान आफै एकजुट भएर व्यवस्थापन गर्ने परिपाटि नभएको वा किसानको आफ्नै दुग्ध संकलन तथा विक्री केन्द्र नभएका कारण यनो समस्याको मारमा परिरहेको उहाँको भनाई छ ।
अमलाचौरका दुईवटा सहकारीका संकलन केन्द्र पनि जैमिनीका किसानसँग जोडिन्छन । दैनिक झण्डै २ हजार लिटर दुध उत्पादन हुने जिल्लाको दक्षिण क्षेत्रको दुधमा एक रुपता छैन । सहकारी, समुह र फार्मले उत्पादन गरेको दुध आ–आफ्नै तरिकाले बजार पु¥याउने गरेका छन । बजारमा रहेका डेरी पसलमा सम्झौता गरेर दुध बिक्री गर्ने किसानले कहिले बन्दाबन्दीको मार त कहिले बाढी पहिरोको मार व्यहोर्ने गरेका छन । असजिलो समयमा बजारमा दुध पु¥याउन आफ्नो दुध खरिद गर्नेहरुले बहाना बनाएर रोकिदिने गरेको किसान प्रेम पौडेलको गुनासो छ ।
किसानका समस्या देखेको जैमिनी नगरपालिकाले किसानलाई संगठित गर्न थालेको छ । किसानले आँफै बजार खोज्ने, उत्पादित दुधलाई एकद्वार प्रणालीबाट बजारमा पु¥याउने र मुल्यमा समेत एकरुपता कायम गर्न नगरपालिकाले किसानको समुह बनाएको छ । छिमेकी नगरपालिकाको एक वडाका किसानलाई समेत सहभागी बनाएर नगरले १३ वटा दुध उत्पादक तथा संकलन केन्द्रका प्रतिनिधि सम्मेलित समुह निर्माण गरेको जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्ण प्रसाद ढकालले बताउनुभयो ।

अमलाचौरको कालीगण्डकी दुग्ध उत्पादक सहकारीका मुक्ति आचार्यको नेतृत्वमा समुह गठन भएको छ । ११ सदस्य रहेको समुहको सचिवमा जैमिनी–२ दमेकका किसान नन्दलाल सापकोटा र कोषध्यक्षमा जैमिनी नगरपालिका–१ कुश्मीशेराका दिनानाथ आचार्य हुनुहुनछ । सबै फार्म र संकलन केन्द्रका प्रतिनिधि सम्मेलित समिति बनेकाले स्थानीय बजार र पोखरामा समेत नियमित दुध पठाउन सक्नेगरी बजारको व्यवस्थापन गर्ने ढकालले बताउनुभयो ।
समुह बनेर बिचौलिया छल्ने र बजार खोज्ने भएपछि किसानहरुमा आशा पलाएको छ । ‘दुध बेचे पनि समयमा पैसा नआउने समस्यान थियो, अब त्यो पनि अन्त्य होला’ किसान गुरुदत्त आचार्य भने । जैमिनी नगरपालिकाले नगरप्रमुख पशु पल्टन परियोजना र वडा नं। १० राङ्खानीमा भैसि प्रबद्र्धन कार्यक्रम समेत सञ्चालनमा ल्याएकाले दुधको उत्पादन थप बढ्ने आँकलन छ ।

प्रकाशित मिति २०७८ असोज १३ गते बुधबार ०६:२४
प्रतिक्रिया दिनुहोस्