बागलुङ– सर्वसाधारण नागरिकले अन्याय परेपछि कानूनी उपचार खोज्न जाने स्थान जिल्ला प्रशासन कार्यालय हो । तर बागलुङका केही युवा र कामदार प्रशासनबाटै ठगिएका छन् । अन्यायमा परेको उनीहरुले गुनासो गरेका छन् ।
प्रशासन कार्यालयको भवन निर्माण गर्दा काम गरेको, सामान लगेको र अन्य धेरै प्रकारको भुक्तानी पाउन नसकेर युवाहरु पीडित छन् । उनीहरुले पटक पटक आग्रह गरेपनि समस्याको समाधान पाएका छैनन् ।
बागलुङ नगरपालिका–३ घर भएका शम्भुराज पन्तले भवन बनाउँदाको ४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताए । उनले प्रशासकीय भवनको वायरिङ गरिदिएका थिए । उक्त कामका लागि चाहिने बिजुलीको तार, बल्व लगायतका सामान दिएका थिए । ‘प्रशासनको भवन बनाएको पैसा त सजिलै पाइएला भन्ने लागेको थियो, चार बर्ष भयो, अत्तोपत्तो छैन’ पन्तले भने, ‘पटक पटक भन्न जान पनि लाज लाग्छ ।’
पन्तले निवेदन समेत लेखेर रकम भुक्तानी पाउन आग्रह गरेको बताए । उनीमात्रै होइन बागलुङ नगरपालिका–२ का नारायण शर्माले पनि भुक्तानी पाएका छैनन् । कार्यालयमा प्लमिङको काम गरेको ज्याला नपाएको उनले गुनासो गरे । उनले ८ लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
पीडितहरुका अनुसार प्रशासनकै भवनको एसी र सिसि क्यामेरा जडान गरेका शंकर श्रेष्ठले पनि भुक्तानी पाएका छैनन् । मार्बल जडान गरिदिएका भूपाल कार्कीले पनि अझै भुक्तानी नपाएको गुनासो गरे । ढुंगागिटी र इटा ढुवानी गरेका सवारी धनी र कामदारले समेत ज्याला र सामानकै मूल्य नपाएको गुनासो गरे । कति कामदार त हार खाएर अन्यत्रै लागिसकेको पन्तले बताए ।
काम गरेका कामदारले पारिश्रमिक र ज्याला नपाउँदा प्रशासन र ठेकेदारबाट भने बेवास्ता भएको हो । प्रशासनका नायब सुब्बा बिष्णुप्रसाद ढकालका अनुसार अहिलेसम्म धेरै जनाले उजुरी दिएका छन् । प्रशासनले उनीहरुको निवेदन संकलन गरेर राखेको र ठेकेदारलाइ पटक पटक सम्झाउने प्रयास गरेको ढकालले बताए । जयबाबा गोरख संयुक्त निर्माण कम्पनीले २०७० सालमा ४ करोड रुपैयाँमा ठेक्का लिएर २ बर्षमा भवन बनाइ सक्ने सम्झौता थियो । काम अलपत्र पार्दै पटक पटक म्याद थपेर अलपत्र परेको भवनमा प्रशासनले आफ्नै पहलमा सामान मिलाएर बस्न थालेको हो । गत बर्षको फागुनमा भवन सरेपछि अहिले सम्म ठेकेदार सम्पर्कमा आएका छैनन् । ठेकेदारले अधिकांस रकम भुक्तानी लगिसकेको ढकालले बताए ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले ठेकेदारलाई ताकेता गरिरहेको बताए । रंगरोगनका काम नसकिंदै श्रेष्ठ सम्पर्कबिहिन भएपछि धेरै काम रोकिएको थियो । प्रजिअ कार्कीले गुनासोहरु आएपछि ठेकेदारलाई आएर काम टुंगो लगाउन ताकेता गरेको बताए । ‘हामीले ताकेता गरेका छौं, सावजनिक खरिद ऐन अनुसार काम हस्तान्तरण गर्नुपर्छ, नत्र ठेकेदारलाई नै प्रशासनिक झमेला पर्छ’ कार्कीले भने, ‘पाउनुपर्ने केही रकमबाट उजुरीको छानविन गरेर भुक्तानी दिने व्यवस्थापन गरौंला ।’ ढोरपाटन न्युज










