एउटै समयमा पाँच स्थानबाट एकैसाथ कार्यक्रम
बुर्तिबाङ- त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको विहिबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले यस वर्षको साधारणसभा क्षेत्र स्तरीय रुपमा सम्पन्न गर्ने भएको हो । संस्थाले एउटै समयमा पाँच स्थानबाट एकैसाथ कार्यक्रमको उद्घाटन गरेको छ ।
उक्त कार्यक्रम संस्थाको केन्द्र नं. १ को ढोरपाटन नगरपालिका अन्तरगत बुर्तिबाङको थकाली सेवा समाजको भवनमा, केन्द्र नं. २ अन्तरगत निसीखोला गाउँपालिकाको झिवाखोलामा, केन्द्र नं.३ को तमानखोला गाउँपालिकाको बोंगादोभानमा त्यसैगरी केन्द्र नं. ४ को निसीभुजी जनता म्याम्पस बुर्तिबाङमा र केन्द्र नं. ५ को ढोरपाटन नगरपालिकाको सहिखोलामा सम्पन्न भएको छ ।
संस्थाको केन्द्र नंं १ अन्तरगत बुर्तिबाङको थकाली सेवा समाजको भवनमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम बहादुर महतको अध्यक्षता रहेको थियो भने ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले त्रिवेणी बचत तथा ऋण सहकारीले यस क्षेत्रमै उत्कृष्ट कारोबार गर्दै आएकाले संस्थाको भविश्य उज्वल रहेको भन्दै शुभकामना दिनुभयो ।
त्यसैगरी संस्थाका अध्यक्ष उत्तम बहादुर महतले कार्यक्रममा संस्थागत मन्तव्य दिंदै देशको आर्थिक बृद्धिमा सहकारीको उल्लेखनीय योगदान रहेपनि सरकारको स्पष्ट नीति नहुँदा सहकारी क्षेत्रमा समस्या आएको बताउँदै यसमा सरकारको विशेष ध्यान जानुपर्ने बताउनु भयो । थप बोल्दै अध्यक्ष महतले संस्थाले स्थापना कालदेखि नै विधि र नीतिलाई आत्मसाथ गर्दै अगाडि बढेको बताउनु भयो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं ढोरपाटन नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ती, सल्लाहकार समितिका संयोजक नवीन जी.सी., शेयर सदस्य कुलपति सापकोटा, रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार लगायतले बोल्नु भएको थियो । धु्रब प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाकी सहसचिव जुनिला घर्तीको संचालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी केन्द्र नं. २ को निसीखोलाको झिवाखोलामा सम्पन्न कार्यक्रममा त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका सदस्य युवराज महतको अध्यक्षता रहेको थियो भने निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले त्रिवेणी वचत तथा ऋण सहकारीले यस क्षेत्रमै आफ्नो छुट्टै पहिचान दिएको र सकारात्मक सामाजिक कार्य गर्दै आएको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि तथा संस्थाका पूर्व अध्यक्ष एवं लेखा समितिका संयोजक नेत्रलाल उपाध्याय, झिम्पा बचत तथा ऋया सहकारी संस्थाका अध्यक्ष ईश्वरी कँडेल, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष भोटु चन्द, सिवाईसी बचत तथा ऋण सहकारी संस्था निसीखोला सेवा केन्द्रका संयोजक हुतराज भुसाल, त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाकी सदस्य चित्रा पौडेल लगायतले शुभकामना दिनुभएको थियो । हरिबहादुर कुँवरको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सदस्य राम प्रसाद आचार्यले गर्नुभएको थियो ।
त्यसैगरी केन्द्र नं. ३ अन्तरगत तमानखोलाको बोंगादोभानमा सम्पन्न कार्यक्रममा संस्थाका कोषाध्यक्ष ज्ञानप्रसाद कँडेलको अध्यक्षता रहेको थियो भने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बुढाले देशको अर्थतन्त्रको विकासमा सहकारीको उल्लेखनीय भूमिका रहेको बताउँदै सहकारीहरुबीच सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि एवं संस्थाका पूर्व अध्यक्ष ढालेन्द्र छन्त्याल, शेयर सदस्यहरु ग्ण्डकी थापा अधिकारी, गणेश थापा, नारायण घमाल, मिन बहादुर घर्ती, दिलमाया पौबी लगायतले बोल्नु भएको थियो । झकप्रसाद वि.क.को स्वागत मन्तव्य रहेको उक्त कार्यक्रको संचालन यामु पौबीले गर्नुभएको थियो ।
त्यसैगरी केन्द्र नं. ४ अन्तरगत बुर्तिबाङको निसीभुजी जनता क्याम्पसमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव हिरालाल खनालको अध्यक्षता रहेको थियो भने ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुनको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पुनले शेयर सदस्यहरु सहकारीमा आवद्ध भई बचत गर्ने बानीको विकासले आर्थिक उपार्जनमा सहज हुने बताउँदै सबैले बचत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथि एवं संस्थाका संरक्षक घनश्याम शमा, शेयर सदस्य होम बहादुर महत, रिता कुमारी कुँवर लगायतले बोल्नु भएको थियो । मधुमाया गुर»को स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन पूर्णपति कँडेलले गर्नुभएको थियो ।
त्यसैगरी केन्द्र नं. ५ को कार्यक्रम ढोरपाटन नगरपालिकाको सहिखोलामा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष्य ऋतुवर्ण पौडेलको अध्यक्षता रहेको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मण पुनको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पुनले सरकारको तीनखम्बे अर्थनीति अनुरुप सहकारीले कार्य गर्दै सहकारीहरुबीच प्रतिस्पर्धाभन्दा सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि एवं ईलाका प्रशासन कार्यालय बुर्तिबाङको प्रमुख लोक बहादुर कुँवर, रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्र कुमार गौतम, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सुनमाया घर्ती, संस्थाका ऋण समिति सदस्य तेजेन्द्र खत्री लगायतले बोल्नु भएको थियो । राम बहादुर घर्तीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन थमनाथ पौडेलले गर्नुभएको थियो । सवै केन्द्रमा कार्यक्रमको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको पाँच ओटै केन्द्रहरुमा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन, विभिन्न उपसमितिका प्रतिवेदन र संस्थाको आगामी नीति तथा कार्यक्रमको बारेमा व्यापक छलफल गरी पारित गरिएको छ । साथै संस्थाको नीति तथा कार्यक्रम उपर दफावार छलफल गरी अन्तिम रुपमा पारित गर्नका लागि यही असोज २३ गतेका लागि पाँच ओटै केन्द्रबाट १ सय १ जना प्रतिनिधिहरु छनोट गरिएको छ । आगामी शनिबार बुर्तिबाङमा सम्पन्न हुने उक्त कार्यक्रम पश्चात साधारणसभाको विधिवत समापन गरिने बताइएको छ ।

















