बुर्तिबाङ- त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा आज सम्पन्र्न भएको छ । गत विहिबार संस्थाको विभिन्न ५ ओटा केन्द्रहरुबाट एकै साथ उद्घाटन गरिएको उक्त कार्यक्रमको आज संस्थाको विभिन्न नीति तथा कार्यक्रमहरु माथि व्यापक छलफल र पारित गर्दै सम्पन्न गरिएको हो ।

संस्थाको उक्त केन्द्रिय साधारणसभाको उद्घाटन ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले गरिबी निवारणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले सहकारीले सामाजिक विकासमा सानादेखि ठूलासम्मका कार्यहरु गर्दै आएकाले आर्थिक विकासका लागि सहकारीको भूमिका उल्लेखनीय रहेको बताउनु भयो ।

कार्यक्रमा थप बोल्दै प्रमुख अतिथि नेपालीले त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाले स्थापना कालदेखि नै पश्चिम बागलुङ का सबै क्षेत्रका व्यक्तिहरुलाई समेट्दै उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष उत्तम बहादुर महतले देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुराउने देशका सहकारीहरुलाई सरकारले व्यवस्थित गर्न नसक्दा र स्पष्ट नीतिको अभावमा विभिन्न समस्यहरु भोग्नु परेको बताउनु भयो । थप बोल्दै अध्यक्ष महतले सहकारीले निम्न वर्गका व्यक्तिलाई समेट्नु पर्ने मान्यतालाई आत्मसाथ गर्दै त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाले न्यून आय भएका र निमुखा वर्गको जीवनस्तर वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक नेत्रलाल उपाध्यायले संस्थाको निरीक्षण तथा अनुगमनमा देखिएका पक्षहरुको बारेमा उल्लेख गर्दै संस्थाले विधिसम्मन सकारात्मक कार्यहरु गर्दै अगाडि बढेको बताउनु भयो । त्यसैगरी संस्थाका सचिव हिरालाल खनाले संस्थाका प्रतिवेदन र नीति तथा कार्यक्रमहरुमाथि सहभागीहरुबाट उठेका प्रश्न र जिज्ञाशाका बारेमा स्पस्ट पार्नुभएको थियो ।

कार्यक्रममा संस्थाको कार्यालयको तर्फबाट प्रबन्धक अर्जुन पोखरेलले बोल्नु भएको थियो । त्यसैगरी कार्यक्रममा सल्लाहकार समितिका सदस्य एवं ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवर, प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख खिम बहादुर खत्री, साईन रेसुगा विकास बैंक बुर्तिबाङ शाखाका प्रमुख प्रेम पौडेल, शेयर सदस्यको तर्फबाट चित्रा पौडेल, रेडियो परिवर्तनका प्रबन्ध निर्देशक लोकेन्द्र सुनार लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा संस्थाको आगामी नीति तथा कार्यक्रम र योजनामाथि व्यापक छलफल गरी सर्वसम्मतले पारित गरिएको छ । कार्यक्रमकै अवसरमा जेष्ठ शेयर सदस्य प्रेम बहादुर कुवंर लगायत संस्थालाई महत्वपूर्ण योगदान पुराउने शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

बुर्तिबाङमा आयोजित उक्त कार्यक्रममा संस्थाको पाँच ओटै केन्द्रबाट शेयर सदस्यहरु मध्येबाट छनोट भएका १ सय १ जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विभिन्न बैंक तथा वित्तीय संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उत्तम बहादुर महतको अध्यक्षता रहेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष ऋतुवर्ण पौडेलको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव हिरालाल खनालले गर्नुभएको थियो ।










