केही दिन पहिले नेकपा ( मसाल)ले पार्टीबाट “निस्काशितहरु”सित वार्ता गर्ने वक्तब्य प्रकाशित गरेको थियो।त्यस यता मसाल मा वार्ता प्रशङ्गले स्थान पाएको छ।
विवाद र द्वन्द्व बढे पछि वार्ताको प्रशङ्ग उठ्ने गर्दछ।अर्थात यसो भनौं वार्ताको जननी बिबाद र द्वन्द्व हो। अन्तर्राष्ट्रिय,राष्ट्रिय ,क्षेत्रीय ,स्थानीय, साङ्गठनिक ,पार्टीगत र पारिवारिक जुन सुकै स्तरको वार्ता भए पनि वार्ताका मूख्य सरोकारवाला (मेइन स्टेकहोल्डर) ले कुन उद्धेश्यले वार्ता गर्न खोजेका हुन?त्यो कुरा माथि नै वार्ताको भविष्य अडेको हुन्छ। वार्ताबाट आफ्नो शक्ति सन्चय गरेर अर्को पक्षलाई थप आक्रमण गर्न वार्ताको कुरा गरिएको हो कि? वार्ताको कार्ड फ्याकेर अर्को पक्षलाई अल्मलाउने उद्धेश्य राखिएको हो कि? वा साच्चिकै वार्ता द्वारा समस्या हल गर्न खोजिएको हो? यदि वार्तालाई केवल चालबाजिकोरुपमा लिइएको हो भने हजार कोसिस गरे पनि वर्ता सफल हुन्न।
यदि मूख्य सरोकारवालाहरु साच्ची नै वार्ताबाट समस्याको समाधान खोजेका हुन भने सन्सारमा निकै ठूला ठूला विवादहरु पनि वार्ता बाट हल भएका छन र यदि साच्चै मूख्य सरोकारवालाहरुले वार्ताबाट समस्या समाधान गर्न चाहने हो भने मसाल भित्रको विवादलाई एउटा निस्चित विधि र प्रक्रिया भित्र रहेर समाधान गर्न सम्भब छ।
वार्ताको कुरा गर्दा वार्ताको पूर्वाधार निर्माण गर्नु पहिलो काम हुन आउँछ।वार्ता गर्ने पक्षका वीचमा सम्वाद ,भेटघाट,वार्ताका लागि ठाउँको छनोट ,वार्ताका लागि आवश्यक सामग्री र सहयोगीहरुको ब्यबस्था,वार्ताका विषयहरुको सूचीकरण र प्राथमिकीकरण आदि वार्ताका पूर्वाधारहरु हुन सक्छन् । के नेकपा (मसाल) भित्र चलिरहेको वार्ता प्रशङ्गमा यी कुराहरुलाई ध्यान दिइएकोछ? युद्धरत पक्षका बीचमा वार्ताको लागि पूर्वाधारका रुपमा सिज फायर (युद्ध बिराम ) गर्नु पर्ने आवश्यक ठानिन्छ। एक पक्षले अर्को पक्षलाई उत्तेजित नबनाउने, कडा र रुखो शब्दमा विरोधमा न उत्रिने भन्ने वार्ताको मामुली मान्यता हो।
वार्तामा मिडियटर, सहायक पक्ष वा तेस्रो पक्षको पनि महत्वपूर्ण भूमिका हुने गर्दछ।तर मिडियटएको भूमिका प्रायः सहयोगी नै हुने गर्दछ। कहिलेकाही भने विरलै यस्ता घटना पनि पाइन्छ कि सहयोगी पक्ष वा मिडियटरको निर्णायक भूमिका पनि हुन्छ।चिनमा जापानी साम्राज्यवादले च्यङ्काइसेकलाई प्रयोग गरेर कम्युनिस्ट पार्टी माथि दमन गरिरहेका थिए। तर एक दिन दुईजना सैनिक जर्नेलहरुले च्याङ्काईसेकलाई जबर्जस्ती पक्रिएर जहाजमा राखेर येनान पुर्याएर माओ सित वार्ता गर्न वाध्य पारेका थिए।त्यो वार्ताबाट नै च्याङ्काईसेक कम्युनिस्ट पार्टी सित मिलेर जापानी साम्राज्यवाद विरुद्ध युद्धमा जान बाध्य भएको थियो।
आखिर १९४५ मा जापाननी साम्राज्यवाद चिनबाट भाग्नु परेको थियो। श्रीलङ्कामा गृह युद्धको अन्तिम समयमा स्वीजर्ल्याण्डले मिडियटर बन्न निकै इच्छा देखाएको थियो तर राष्ट्रपति राजापाक्ष फाइट टु फिनिसमा नै जाने भए पछि मिडियटर बन्न खोजेको स्वीजरल्याण्डको कुनै उपाय चलेन ।
खैर ,यी त युद्ध र अन्तर्राष्ट्रिय घटनाका कुरा भए। जहाँ सम्म मसालको आन्तरिक कुरा हो । यसलाई मिलाएर लान सम्भब छ। वार्ताको आम नियम यो मानिन्छ कि गिभ एण्ड टेक(लेन-देन) वार्ताका बेग्लाबेग्लै पक्षधरहरुले आअफ्ना मागहरु वार्तामा राख्दछन र छलफल गर्दछन।केही आफ्ना मागमा अर्को पक्षलाई सहमत गराउने र अर्को पक्षलाई उसका केही अडान छाड्न लगाउने तथा आफुले पनि आफ्ना केही अडान छाड्ने र सहमतिमा जाने गरी वार्तालाई सफल पार्ने गरिन्छ।
यदि वार्ताबाट पार्टीको समस्या समाधान खोजेको हो भने यो नियम त मसालमा पनि लागू हुछ। द्वन्द्वबाट समाप्त हुनुभन्दा केही गुमाएर भए पनि सहमतिमा जाउन त भनेर द्वन्द्वरत पक्षले सोच्यो भने पनि कहिलेकाही वार्ता सफल हुने गर्दछ।नेपाल र अङ्रेज वीचको वार्ता र १८१६ को सुगौली सन्धी त्यस्तै सोचको परिणम हो ।लेनिनहरुले रुसमा ठूलो क्षति ब्यहोर्नु भन्दा बरु केही भूभाग गुमाएर भए पनि सम्झौता गर्नु पर्छ भनेर जर्मन सित ब्रेस्ट लितोभस्क सन्धी गरेका थिए।
महाभारतमा पाण्डबहरुले युद्द्द नगरौं ,शान्ती कायम गरौं हामीलाईबस्नका लागि पाँच गाउँ देउ भनेर अन्तिम कुरा गरेका थिए,मूर्ख दुर्योधनले आफ्ना गुरु,अभिभावक यहाँ सम्मकी आफ्नो अत्यन्त नजिकको मित्र कर्णको सल्लाह समेत नसुनेर युद्धमा गएर पाण्डबहरुको नामो निसान मेटाउन खोज्दा आफै समाप्त हुनु परेको थियो। कहिले काहीँ अरुलाई समाप्त पार्छुभन्दा आफै सामाप्त हुन बेर लाग्दैन ।सम्बन्धित सबैले यस्ता कुरा मनन पनि गर्न सक्नु पर्दछ।
दक्षिणपन्थी आरोप लगाई सकेपछि पनि कही वार्ता गरेर समस्या समाधान हुन्छ वा वाम सङ्कीर्णवादी ,सि आइ डि,र अ .का एजेन्ट,”सुरुमै प्रतिगामी दिशा समाई सकेको” आरोप लगाएपछि पनि कही वार्ता हुन्छ र समस्या समाधान गर्न सकिन्छ? भन्ने विचार राखेको देखिन्छ। त्यस्तो तर्क सित यस्तो तर्क गर्न सकिन्छ – के बोल्सेभिक र मेन्सेभिक वामपन्थी र दक्षिणपन्थी लामो समय सम्म एउटै पार्टीमा अटाएका थिएनन र? के माओले आफ्नो पार्टी भित्र अवसरवाद विरुद्ध जुध्नु परेको थिएन र पनि पार्टी एउटै थिएन र? २०४० मा दखिण्पन्थी भनेर अझ सि आइडि समेत भनेर पार्टीबाट आफैले निस्कासन गरेको निर्मल लामा पक्ष सित २०५१ को छैठौ महाधिबेशनले दक्षिण पन्थी करार गरेको त्यही समूह बारे मूल्याङ्कनमा सुधार गरीगरी २० बर्ष पछि २०५९ मा उहीँ समूह सित पार्टी एकता गरेको हैन र?
पार्टी नफुटेर अगाडि बढे हुन्थ्यो भन्ने कार्यकर्ता ,समर्थक र शुभचिनकहरुको ठूलोपङ्तिको आग्रह छ। जिम्मेवारीको हिसाबले नेतृत्वको नै यसमा मुख्य भूमिका हुन्छ। हाम्रो जय होस भन्ने कामन गरौ !










