‘धौलागिरी अस्पताललाई नर्सिङ कलेज बनाउन प्रयत्न गर्ने
बागलुङ- देशको विकास र आधुनिक समाज निर्माण गर्न शिक्षामा लगानी गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताउनुभएको छ ।
शिक्षामा देखिएका समस्या हल गर्न, व्यावसायिक र प्राविधिक शिक्षालाई अगाडि बढाउन र सक्षम जनशक्ति उत्पादन गर्ने खालको नीति र कानुन ल्याउन मुख्य जोड दिने उहाँको भनाइ छ ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बागलुङ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले आयोजना गरेको बधाई ज्ञापन तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले ‘विद्यालय बाहिर भएका विपन्न विद्यार्थीको विद्यालयसम्म पहुँच पु¥याउने मुख्य चुनौती रहेको बताउनुभयो ।
प्राध्यापक, शिक्षक, कर्मचारीको मुख्य समस्या हल गरेर उनीहरूको मनोबल उकास्न, विद्यार्थीको गुणस्तर माथि उठाउने खालको कार्यक्रम ल्याउन सबैको सहयोग आवश्यक छ ।’ पार्टी अध्यक्ष प्रचण्डले माओवादीबाट मन्त्री बनेकाहरूलाई जनताको पक्षमा राम्रो काम गर्न निर्देशन दिएको जनाउँदै उहाँले पहिलो पटक आएको अवसरलाई परिणाममा बदल्न ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
‘शिक्षामा धेरै समस्या र चुनौती छन् तर यो आधारभूत आवश्यकता भएकाले समय अनुसार सुधार गर्न सकिएन भने समाजवादको नारा लगाउनु व्यर्थ हुनेछ,’ शिक्षामन्त्री पौडेलले भन्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्माले सरकार र मन्त्रीहरूले देखिने गरी देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले शिक्षा जीवनोपयोगी हुनुपर्ने औंल्याउँदै आर्थिक बजारमा प्रतिस्पर्धा गर्ने खालको शिक्षानीति नभए लगानी खेर जानेतर्फ सजग गराउनुभयो ।
उद्योग, कलकारखाना र सेवा क्षेत्रमा चाहिने जनशक्ति उत्पादन गर्ने खालको शिक्षानीति ल्याउन सके धेरै युवाले देशैमा रोजगारी पाउने नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन गण्डकी प्रदेशका उपाध्यक्ष अर्जुन चोखालको भनाइ थियो । जनमत जित्न विद्यालय र विश्वविद्यालय सबैको पहुँचमा पु¥याउनुपर्ने जनाउँदै माओवादी केन्द्र बागलुङकी इन्चार्ज बलावती शर्माले शिक्षामा सुधार गरे मात्र देशको आर्थिक समृद्धि सम्भव भएको औंल्याउनुभएको थियो ।
विपन्न समुदायका छोरा छोरीले पनि पढन पाउने अधिकार सुनिश्चित गर्न र धनी–गरिबबीचको खाडल कम गर्न शिक्षा मन्त्रालयले आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्ने नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले बताउनु भएको भयो ।
‘धौलागिरी अस्पताललाई नर्सिङ कलेज बनाउन प्रयत्न गर्ने
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले धौलागिरी अस्पताललाई नर्सिङ कलेज बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
धौलागिरी अस्पतालले बुधबार गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको थियो । गण्डकी प्रदेशको मातहतमा रहेको धौलागिरी उप प्रादेशिक अस्पताललाई नर्सिङ कलेज बनाउन आफुले पहल गर्ने बताउनुभयो ।
उहाँले विरामीहरुलाई खुसी पार्ने गरि सेवा प्रवाह गर्न अस्पताललाई सुझाउनुभयो । अस्पतालका प्रमुख सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बिक पोख्रेलले अस्पतालले प्रवाह गर्ने सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला स्वास्थ कार्यलय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । धौलागिरी अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माको स्वागत मन्तव्यमा गरिएको कार्यक्रमको सञ्चालन सिनियर अहेब शिव केसीले गर्नुभएको थियो ।










