दुइ कोठाको अस्थायी छाप्रोमा संचालन
बागलुङ- झण्डै २५ बर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा पनि दिन थालेको थियो । पुसिलको अस्थायी बीटको रुपमा बस्न थालेको पनि डेढ दशक भयो । अहिले मालढुंगा प्रहरी चौकी हो । तर यो चौकी दुइ कोठाको अस्थायी छाप्रोमा संचालनमा छ ।
अन्यत्रका प्रहरी चौकी पक्की घरमा बसेका छन् । तारबार लगाइएको छ । कम्तिमा ५ देखि ७ कोठा छन् । त्यहाँ कार्यालय प्रमुखको कक्ष, अन्य जवानको कक्ष, मेस र हतियार राख्ने कक्ष समेत रहन्छन् । तर मालढुंगाको प्रहरी चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा सितल बस्ने स्थान पनि छैन । प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरका अनुसार जिल्ला प्रवेश गर्ने प्रहरी चौकी र ट्राफिक प्रहरीको चेकपोष्ट समेत गर्दा यहाँ १५ जनाको दरबन्दी छ ।
अन्यत्रको चौकीझैँ रात परेपछि सुतिहाल्न पनि मिल्दैन । त्यसैले मालढुंगामा चौबिसै घण्टा पहरा चाहिन्छ । राजमार्ग भएकोले सवारी चेकजाँच गर्नुपर्छ । जस्तोसुकै मानिससँग छलफल र बहस गर्नुपर्छ । आफ्नो भवनको समेत सुरक्षा नभएको स्थानमा प्रहरीले जनताको सुरक्षाको काम गरिरहेका छन् । प्रहरीले पनि चौकी भनेर बताउन पनि अप्ठ्यारो मान्छन् । यहाँ साँघुरोे शौचालय समेत छ ।
हावाहुरी आउँदा चौकीको जस्तापाता पटक पटक उडाएर लैजान्छ । बर्षातमा पानी चुहिन्छ । होचो भएकोले घाम लाग्दा बसिनसक्नु गर्मीले सताएको समेत उनीहरुले गुनासो गरे । प्रहरी सहायक निरीक्षकसहित १५ जनाको दरबन्दी छ । यहीं चौकीमै बस्ने गरी २ जना ट्राफिक दरबन्दी पनि छ । तर तीन कोठामै खाना पकाएर खाने मेस, कार्यालय, सबैजना सुत्नेबस्ने गर्नुपर्ने बाध्यता छ । खुला स्थानमा नुहाउनु पर्ने बाध्यता पनि छ ।
प्रहरीले रेकर्ड रजिष्टर र बरामद भएका काजगात जोगाउन समेत हम्मे हम्मे परेको गुनासो गरे । चुहिने कोठा, हावाले उडाउने र धुलाम्मे हुने छाप्रोमा सामान सुरक्षित राख्न समेत कठिन भएको प्रहरी सहायक निरिक्षक बिनय रेग्मीले गुनासो गरे ।
‘हामीले त समस्या भएको कुरा जाहेर गरेका छौं, दुःखले बस्न बाध्यछौं ।’ चौकीबाट सडकको काम मात्रै हेरेर पनि पुग्दैन । भकुण्डे र बलेवा क्षेत्रका केही स्थानमा हुने घटनाको समेत उनीहरुले अनुसन्धान गर्ने लगायतको काम गर्नुपर्छ । सडक दुर्घटना भएमा पहिलो सूचना ल्याउने र जिल्ला प्रहरीमा जाहेर गर्ने काम पनि उनीहरुकै हो । ती सबै काम गर्न र डाटा राख्नकालागि कम्युटर सहितको व्यवस्था हुनुपर्नेमा कागजमा लेखेरै राख्नु परेको उनले बताए ।
जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले यो बिषय दुःखदायी भएको बताए । ‘यो बिषय गम्भिर हो, पहिचान झल्काउनकालागि पनि चौकी बन्नुपर्छ’ उनले भने, ‘सरकारी मान्यता अनुसारको जग्गा नपाएर चौकी बनाउन नपाइएको हो ।’ सरकारी मापदण्डमा ३ रोपनी जमिन खोजेपछि मात्रै गृहमन्त्रालयले चौकी निर्माणका लागि बजेट दिनेगर्छ । जग्गा नभएकै कारण बजेट माग गर्न नसकेको बताए ।










