बुर्तिबाङ- ईलाका प्रशासन कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव हुँदा नागरिकले सास्ती खेप्न बाध्य बनेका छन् । कार्यलयमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा नागरिकहरु समस्यामा परेका हुन् ।
कार्यालयमा पछिल्लो केहि समययता मतदाता नामावली दर्ता कार्यक्रम पनि चलिरहेको छ । एक जना मात्र कर्मचारीको भरमा सबै काम हुने हुदाँ नागरिकले सास्ती खेप्दै आइरहेका छन् । गत भाद्र ११ गतेदेखि सुरु भएको मतदाता नामावलीमा नाम छुटेका र उमेर पुगेका नागरिकको नामावली दर्ता गर्ने कार्यक्रम जारी छ । दैनिक रुपमा भिड हुने इलाका प्रशासनमा दुई ÷तिन पटकसम्म कार्यालयमा आउँदा समेत समयमा काम हुन नसकेको नागरिकको गुनासो गरेका छन् ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ की धनमाया पुन दुई पटकसम्म मतदाता नामावली दर्ताका निम्ती प्रशासनमा आउनुभयो । तर काम भएन । ‘घरबाट दुई पटकसम्म दुई जना आयौँ आज पनि काम भएन, पालै पाइएन एक जना मात्र कर्मचारी हुनुहुँदो रहेछ घरको काम सबै छोडेर आइयो, काम भएन अब भोली बोलाउनु भएको छ, तेश्रो पटकमा के हुने हो थाहा छैन’ पुनले गुनासो गर्नुभयो । आउँदा जाँदा सवारी भाडा र खाजा खर्चमै पाँच हजार खर्च भएको पुनको भनाई छ । ‘समयमै काम हुँदैन घरमा पशुचौपाया बालबच्चा छोडेर आयौँ साँझ जसरी पनि घर पुग्नु पर्छ’ उहाँले भन्नुभयो । कर्मचारी अभाव र स्थानीय सरकारले समेत समन्वय नगरेका कारण आफुहरुलाई सास्ती भएको उहाँको गुनासो छ ।
वडा वडामा नामावली संकलन गर्ने व्यवस्था गरि दिएको भए यस्तो समस्या नहुने धनमायाले सुनाउनुभयो । ढोरपाटन ८ र ९ बाट करिब ढेड सय जना नागरिक बुर्तिबाङमा दुई पटक आइसकेका छन् तर उनीहरुको काम समयमा नभएका कारण हैरान खेपिरहेका छन् । वडा नम्बर ९ बाट मात्रै १ सय जना नागरिक मतदाता नामावली दर्ताका लागि मंगलबार इलाका प्रशासनमा आएका थिए । उनीहरु मध्ये जम्मा २० जनाको मात्रै काम भएको जनाईएको छ ।
भाद्र ११देखि हालसम्म १९ सय बढि नागरिकले नामावली दर्ता गराएका छन् । अझै दैनिक रुपमा दुई सय बढि नागरिक नामावली दर्ताका लागि आउने गरेका छन् । कात्तिक मसान्तसम्म नामावली दर्ता कार्यक्रम रहेका कारण पछिल्लो समय चाप बढिरहेका छ । मंगलबार मात्रै ८५ जनाको नामावली दर्ता भयो जनप्रतिनिधीले समेत गाउँमा समन्वय गरेर क्रमश पठाएको भए केहि राहात हुने स्थानियहरुको भनाई छ ।
इलाका प्रशासन कार्यालय बुर्तिबाङमा ८ जना स्थाई कर्मचारी दरबन्दी रहे पनि हाल २ स्थाई र २ करारका कर्मचारीले काम गर्दै आएका छन् । यस कार्यलयबाट ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाका जनताको सेवा लिदैँ आईरहेका छन् । यस कार्यालमा कर्मचारी अभावकै कारण समयमै काम नभएको भन्दै समय–समयमा नागरिकले गुनासो गर्दै आइरहेका छन् ।











