बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको थाम असारे खानेपानी आयोजना बर्षौदेखि अलपत्र छ । पानी आउने आसमा स्थानीय भने अझै बाटो हेरेर बसेका छन् ।
शुद्द खानेपानीको सपना कहिले पुरा होला भनेर चिन्तित भएका स्थानीयले अहिले पनि घण्टौ खोल्साको पानी खेप्नमा बिताउने गरेका छन् । घर घरमा पानी आउला भनेर आस गरेर बस्दा आसै मरेको भन्दै पानीकै बाटो हेरेर बस्नु परेको स्थानीय पवित्रा थापाले गुनासो गर्नुभयो ।
पानी आउला भन्ने बेलामा अझै प्राविधिक काम समेत नसकिए पछि शुद्ध पानी खाने सपना पुरा नभएको उहाँले बताउनुभयो । नजिकमा पानीको मुहान नभएपछि थापा जस्तै धेरै जनाले धेरै परबाट पानी खेपेर खाएका छन् । यो बस्तीका १५ घरले आकासे पानी संकलन गर्ने घैटो बनाएर गुजारा चलाएका छन् ।
उपभोक्ता त सयौं छन् । अन्य बस्तीमा पनि धेरै टाढाबाट गाग्रीमा पानी खेप्नुपर्छ । तर बनाउने भनिएको बृहत आयोजना नै अलपत्र परेपछि पानी खाने सपना कहिले पुरा होला भनेर उनीहरु चिन्तामा परेका हुन् । भिमगिठेस्थित वडा नंं ७ का अधिकांस घरमा शुद्ध खानेपानीको व्यवस्था छैन । त्यसैले डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयमार्फत एक घर एक धारा बनाउन सर्भे गरिएको थियो । कार्यालयले डिजाइन र स्टिमेट बनाए पनि भूगोलले साथ नदिएपछि उपभोक्ताले पानी पाउने नपाउने अन्यौल भएको हो ।
वडा नंं ८ को रणसिंकिटेनीबाट पानी ल्याउने गरी स्टिमेट गरेपछि भूगोलले साथ नदिएको हो । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयले उक्त डिजाइन गरिदिएको थियो । तर नक्सामा मात्रै पानी आउने, भूगोलमा जटिल अवस्था हुने भएपछि काम रोकिएको इन्जिनियर इश्वरीप्रसाद शर्माले बताउनुभयो । ‘रणसिंकिटेनीमा मुहानको बिबाद छ, ल्याउँदा पनि क्लास बीको स्टिल पाइप नराखेसम्म पानी पास हँुदैन’ शर्माले भन्नुभयो ‘पानी नै नचढ्ने भयो भने करोडौं खर्चेको के काम भयो ?’
उहाँका अनसार यो आयोजनामा १ हजार १ सय मीटरको हेड छ । उक्त हेडबाट पानी पास हुन निकै समस्या हुने उहाँले बताउनुभयो । नेपाली इन्जिनियर र प्रविधिमा यतिधेरै हेड भएको स्थानबाट पानी ल्याएका छैनन् ।
२५ करोड लागत स्टिमेट अनुमान गरिएको आयोजनाको इन्टेक बनाउने स्थानबाट भिमगिठेको अन्तिम धारासम्म पुग्दा २४ किमी पाइपलाइन बिछ्याउनु पर्छ । ‘तत्काल समस्यामा परेकालाई पानी खुवाउने गरी यो आयोजना संचालन हुनै सक्दैन’ वडा अध्यक्ष कृष्ण गुरुङले भन्नुभयो, ‘सानो बजेटले अति आवस्यक पर्ने घरमा लिफ्ट प्रविधि जडान गरेर खुवाउने र बृहत आयोजना बहुबर्षे संचालन गर्नुपर्छ भनेका छौं ।’
गुरुङले भन्नुभयो, ‘पानी ल्याइसक्न करोडौं खर्च र कम्तिमा ५ देखि १० बर्ष लाग्न सक्ने देखिन्छ ।’ स्टिमेट रकमबाट पनि यो पानी ल्याउन नसकिने उहाँले बताउनुभयो । डिभिजन कार्यालयले संचालन गरेका ५९ वटा आयोजनामध्ये ८ वटा श्ुरुनै भएका छैनन् । तीमध्ये थाम असारे खानेपानी आयोजनाका उपभोक्ता सबैभन्दा बढी पीडित छन् । ‘अहिले पनि पानी खेपेर खाना बनाउँदा छोराछोरी बिद्यालय पठाउन ढीला हुन्छ’ स्थानीय निर्मला घर्ती मगरले भन्नुभयो ‘पानीकै लागि यतिधेरै सास्ती भएपछि धेरै मानिस बसाइ सरेर पनि गए ।’
वडा कार्यालयले पनि पटक पटक खानेपानी ल्याउन पहल गरेको थियो । वडा तहको लागतबाट संभव नहुने भएपछि प्रदेश सरकार गुहार्नु परेको गुरुङले बताउनुभयो । ‘लागतका हिसाबले २५ करोडमा पनि बन्दैन होला, तर यो आयोजना बन्यो भने भिमगिठेका ५ सयबढी घरमा धारा बन्नेछ ।’ यो वडाभर नजिकमा पानीको श्रोत छैन अधिकांस स्थानमा खोलाबाट लिफ्ट गरेर लैजानुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।










